दुई नम्बर प्रदेशमा सम्पन्न स्थानीय तह निर्वाचनको जारी मतगणनामा हालसम्म प्राप्त परिणामअनुसार माओवादी केन्द्रले नेकपा एमालेलाई उछिनेको छ।
यसअिघ एमाले, माओवादी केन्द्र र संघीय समाजवादी फोरम नेपालबीच तेस्रो स्थानका लागि कडा टक्कर थियो। यी तीनै दल ५–५ ठाउँमा विजय हासिल गरेर तेस्रो स्थानमा थिए।
भर्खरै माओवादी केन्द्रले रौतहटको यमुनामाई गाउँपालिका जितेपछि एमाले र फोरम पछि परेको हो। योसँग माओवादी केन्द्रको जित संख्या ६ पुगेको छ। जारी मतगणनामा माओवादी केन्द्रका उम्मेदवारले १२ स्थानमा अग्रता लिइरहेका छन् भने एमाले उम्मेदवार ११ स्थानमा अगाडि छन
फोरम नेपालको स्थिति अझै बलियो देखिन्छ। अहिलेसम्म पाँच ठाउँमा विजयी फोरम नेपाल १५ ठाउँमा अरुभन्दा अगाडि छ।
माओवादी केन्द्रले हालसम्म जितेका स्थानीय तहमा यमुनामाई गाउँपालिकाका अतिरिक्त सिरहाको कर्जन्हा नगरपालिका (गंगा पासवान), सिरहाकै अर्नमा गाउँपालिका (ठकु महतो कोइरी), सिरहाको औरही गाउँपालिका (सिद्धार्थ यादव), पर्साको ठोरी गाउँपालिका (पदमलाल श्रेष्ठ) र रौतहटको मौलापुर नगरपालिका (रिना साह) छन्।
संघीय समाजवादी फोरमले सिरहाको विष्णुपुर गाउँपालिका (जागेश्वर यादव), सिरहाको भगवानपुर गाउँपालिका (बेचनप्रसाद यादव), सर्लाहीको पर्सा गाउँपालिका (किसुनदेव राय), महोत्तरीको सोनमा गाउँपालिका (राजकुमार यादव) र पर्साको विन्दवासिनी गाउँपालिका (श्रीलाल शाह कानु) मा विजय हासिल गरेको छ।
त्यस्तै, एमालेले सप्तरीको सप्तकोशी नगरपालिका (उत्तमकुमार शर्मा), पर्साको पटेर्वा सुगौली गाउँपालिका (हरिनारायण चौधरी), धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका (मनोज यादव), धनुषाको बटेश्वर गाउँपालिका (डम्बरबहादुर राउत) र सिरहाको नरहा गाउँपालिका (रामशरण यादव) मा विजय हासिल गरेको छ।
तेस्रो चरणमा सम्पन्न यो निर्वाचनमा नेपाली कांग्रेस ११ स्थानमा जितेर सबभन्दा अगाडि छ। उसका उम्मेदवार ११ ठाउँमा २९ स्थानमा अगाडि छन्।
अहिलेसम्मको मतगणनामा दोस्रो स्थानमा रहेको राजपा नेपाल ८ स्थानमा विजयी भएको छ भने १७ स्थानमा अग्रस्थानमा छ।