दुई नम्बर प्रदेशमा सम्पन्न स्थानीय तह निर्वाचनको नतिजा आउने क्रम जारी छ। रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये चार वटामा मतगणना सकिएर विजेता घोषित भइसकेको छ भने बाँकी स्थानमा गणना जारी छ।
मतगणना सकिएकामध्ये माओवादी केन्द्र दुई स्थानमा विजयी भएको छ भने नेपाली कांग्रेस र फोरम लोकतान्त्रिकले एक-एक स्थान जितेका छन्। एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको यो गृहजिल्लामा अिहलेसम्म एमालेले एउटै जित हात पारेको छैन भने उसको भागमा अग्रता पनि एउटै छैन।
माओवादीबाट रौतहटको मौलापुर नगरपालिका मेयरमा रिना साह र यमुनामाई गाउँपालिका प्रमुखमा मोहम्मद मन्सद रान्के विजयी भएका छन्। नेपाली कांग्रेसका शेख वकिलले परोहा नगरपालिका मेयर जितेका छन्। त्यस्तै, ईशानाथ नगरपालिका मेयरमा फोरम लोकतान्त्रिकका सन्तोष मेहता विजयी भएका छन्।
अन्तिम नतिजा घोषणा हुन बाँकी १४ स्थानमध्ये नेपाली कांग्रेस सबभन्दा बढी ८ स्थानमा अगाडि छ। कांग्रेस उम्मेदवारले अग्रता लिएका स्थानहरु फतुवा विजयपुर नगरपालिका, राजदेवी नगरपालिका, गजुरा नगरपालिका, चन्द्रपुर नगरपालिका, बृन्दाबन नगरपालिका, राजपुर नगरपालिका, दुर्गा भगवती गाउँपालिका र गरुडा नगरपालिका हुन्।
संघीय समाजवादी फोरम नेपाल तीन स्थानमा अगाडि छ। देवाही गोनाडी नगरपालिकामा, बौदिमाई नगरपालिका र माधवनारायण नगरपालिकामा फोरमका उम्मेदवार अगाडि छन्।
राष्ट्रिय जनता पार्टी (नेपाल) ले गढीमाई नगरपालिका र गौर नगरपालिकामा अग्रस्थान हासिल गरेको छ। माओवादी केन्द्रले कटहरिया नगरपालिकामा अग्रता लिएको छ।