महोत्तरीको गौशाला नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ।
यहाँ माओवादी उम्मेदवार शिवनाथ महतो ५९४४ मत ल्याएर विजयी भएका हुन्। उपमेयरमा माओवादीकै आशा लामा विजयी भएकी छन्।
यो जितसँगै माओवादीको जित संख्या ७ पुगेको छ। माओवादीले एमाले र संघीय समाजवादी फोरम नेपाललाई २ स्थानले पछाडि पारेको छ।
जारी मतगणनामा माओवादी केन्द्रका उम्मेदवारले ११ स्थानमा अग्रता लिइरहेका छन् भने एमाले उम्मेदवार ११ स्थानमा अगाडि छन्। फोरम नेपाल १५ ठाउँमा अरुभन्दा अगाडि छ।
माओवादी केन्द्रले हालसम्म जितेका स्थानीय तहमा गौशाला नगरपालिकाका अितरिक्त रौतहटको यमुनामाई गाउँपालिका (मोहम्मद मन्सद रान्के), सिरहाको कर्जन्हा नगरपालिका (गंगा पासवान), सिरहाकै अर्नमा गाउँपालिका (ठकु महतो कोइरी), सिरहाको औरही गाउँपालिका (सिद्धार्थ यादव), पर्साको ठोरी गाउँपालिका (पदमलाल श्रेष्ठ) र रौतहटको मौलापुर नगरपालिका (रिना साह) छन्।
संघीय समाजवादी फोरमले सिरहाको विष्णुपुर गाउँपालिका (जागेश्वर यादव), सिरहाको भगवानपुर गाउँपालिका (बेचनप्रसाद यादव), सर्लाहीको पर्सा गाउँपालिका (किसुनदेव राय), महोत्तरीको सोनमा गाउँपालिका (राजकुमार यादव) र पर्साको विन्दवासिनी गाउँपालिका (श्रीलाल शाह कानु) मा विजय हासिल गरेको छ।
त्यस्तै, एमालेले सप्तरीको सप्तकोशी नगरपालिका (उत्तमकुमार शर्मा), पर्साको पटेर्वा सुगौली गाउँपालिका (हरिनारायण चौधरी), धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका (मनोज यादव), धनुषाको बटेश्वर गाउँपालिका (डम्बरबहादुर राउत) र सिरहाको नरहा गाउँपालिका (रामशरण यादव) मा विजय हासिल गरेको छ।
तेस्रो चरणमा सम्पन्न यो निर्वाचनमा नेपाली कांग्रेस १२ स्थानमा जितेर सबभन्दा अगाडि छ। उसका उम्मेदवार २८ स्थानमा अगाडि छन्।
अहिलेसम्मको मतगणनामा दोस्रो स्थानमा रहेको राजपा नेपाल ८ स्थानमा विजयी भएको छ भने १७ स्थानमा अग्रस्थानमा छ।