लामो समयदेखि पित्तथैलीको क्यान्सरबाट पीडित वरिष्ठ न्युरोसर्जन तथा पूर्व स्वास्थ्य मन्त्री डा. उपेन्द्र देवकोटाको निधनले आम-मानिसलाई शोकाकुल बनाएको छ।
यसबाट मुलुकले चिकित्सा क्षेत्रमा अपुरणीय क्षती ब्यहोर्नु परेको छ । जन्म पछि मृत्यु हुनु स्वभाविक प्रक्रिया हो। तर, उपेन्द्र देवकोटाले मृत्युको त्रास कहिल्यै ब्यक्त गर्नु भएन। मृत्युलाई साहसिक रूपमा स्वीकार्नु भयो।
अहिले उहाँ हामी माझ नरहे पनि उहाँले गरेको सम्झना लायक अनगिन्ति कामहरु हामीलाई छोडेर जानुभएको छ।
नेपालको स्वास्थ्य क्षेत्रको विकासमा डा. देवकोटाको अमुल्य योगदान छ। करिब ३७ वर्ष लामो चिकित्सा पेशा बिताइसकेका डा. देवकोटाले लगभग ३४ हजार भन्दा बढीको शल्यक्रिया, १२ लाखभन्दा बढी बिरामीको उपचार र धेरैलाई पुर्नजीवन दिनुभयो।
२५ वर्ष जति वीर अस्पतालमा बिताउनुभएका देवकोटाले गरिब तथा निम्नस्तरका विरामीहरुलाई सेवा दिँदै आउनु भएको थियो।
सात महिना स्वास्थ्य मन्त्री हुँदा उहाँले धेरै नयाँ काम गर्नुभएको थियो। अध्यादेशमार्फत राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (नाम्स) बनाउने, विशेषज्ञ अध्ययनको पढाई नेपालमानै सुरू गर्ने, गुणस्तरीय स्वास्थ्य सेवालाई विकेन्द्रित गर्ने, वीर अस्पतालमा न्यूरो सर्जरी विभागको स्थापना गर्ने, स्वास्थ्य बिमा लागू गर्ने, दुई वर्ष दुर्गममा बसेपछि सरकारले पोष्टग्राजुयट (पिजी) निःशुल्क पढाइदिने आदि कुराहरुलाई प्राथमिकता साथ काम गर्नुभएको थियो।
त्यसै कारण आज नेपालको इतिहासमा चिकित्सा क्षेत्रले गुणस्तरीय उच्च सेवा दिँदै आएको र एसियामा नेपालले स्वास्थ्य विज्ञानमा उत्कृष्ट भूमिका निभाउँदै आएको छ भनेर चिनाउँदै आउनु भएको थियो।
त्यसैगरि नेपालको पहिलो दक्ष तथा सेवायुक्त न्यूरो अस्पताल स्थापित गरेर लाखौ बिरामीलाई सेवा र धेरै नयाँ दक्ष्य न्यूरो चिकित्सक उत्पादन गरि नेपालको चिकित्सा सेवामा अतुलनीय योगदान दिनुभएको थियो।
चिकित्सा क्षेत्रमा नेपाल र नेपालीको शान डा. देवकोटा नेपालमा मात्र नभएर एसियाको एक अब्बल र नामी न्युरो सर्जनका रूपमा प्रख्यात हुनुहुन्थ्यो। अब राष्ट्रले उहाँजस्तो न्यूरो सर्जन जन्माउन पक्कै पनि धेरै समय कुर्नुपर्छ।
डा. देवकोटा हामी नेपालीका लागि एक अमुल्य गहना हुनुन्थ्यो साथै स्वास्थ्य क्षेत्रमा मात्र नभई राजनीतिलाई नजिकबाट निहाल्ने एक प्रभुद्ध नागरिक समेत हुनुहुन्थ्यो।
बेलायतमा उच्च शिक्षा हाशिल गरि आफ्नै मातृभूमिको सेवा गर्ने भनेर स्वदेश फर्किएर आउनु भएको र आफ्नै माटोमा केही गर्छु भनेर दृढता बोकी असंख्य बिरामीहरुको सेवामा समर्पित हुनुभएको थियो। उहाँको त्याग, तपस्या र साधनाले मातृभूमिप्रति आगहद प्रेम देखाई दिनु भएको छ। र लाखौ प्रतिभाशाली तथा दक्ष युवालाई प्रेरणा र हौसला प्रदान गर्नुभएको छ। साथै सम्पूर्ण नेपालीमाझ एकपल्ट फेरि देशभक्ति र एकता जगाईदिनुभएको छ।
बेलायतबाट उपचार सम्भव नभएपछि, स्वदेशमै फिर्ता भई देहत्याग गर्ने इच्छा ब्यक्त गर्नुभएको थियो।
हो, उहाँले जीवनको अन्तिम अवस्थामा आफ्नो जन्मथल गोर्खाको सिस्नेधाराको पानी पिएर सन्तुष्टीको सास फेर्नुभएको थियो। आफूलाई जन्म दिने आमा र आफ्नो जन्मभूमि स्वर्गभन्दा पनि प्यारो हुन्छ भन्ने कुरालाई चरिथार्थ गराएर जानुभयो।
डा. उपेन्द्र देवकोटाको बैकुण्ठमा बास रहोस्। उहाँप्रति हर्दिक श्रद्धाञ्जलि अर्पण गर्दै मृत आत्माको चिर -शान्तिको कामना साथै शोकाकूल परिवारप्रति समवेदना।
डा. राजन किशोरी के .सी
(प्रसुति तथा स्त्री रोग) विशेषज्ञ अध्यनरत हाल चीन)