नियम बनाउन जति सजिलो छ त्यसलाई कार्यान्वयन गर्न त्यति नै जटिल हुन्छ। त्यसैको ज्वलन्त उदाहरण विदेशी शिक्षाको अनुकरण गर्ने कोशिश गरिरहेको नेपालको शिक्षा प्रणालीलाई लिन सकिन्छ।
सूचना र प्रविधि विकासको चरम उत्कर्षमा पुगेको पछिल्लो समयमा पनि नेपालको शिक्षा प्रणालीबाट सरोरकारवाला संस्था तथा व्यक्तिहरू आलोचित भइरहेका छन्।
यहाँ कहिले कर्मचारीको लापरवाहीले गलत सूचना प्रवाह हुन्छ भने जसको फलस्वरूप देश निर्माणको अगुल्टो लिएर दौडिरहेका विद्यार्थी शक्तिलाई मानसिक रूपमा विछिप्त पार्दै मृत्युवरण गराउन बाध्य हुन्छ।
शिक्षाको फलामे ढोका भनिने नेपालको शैक्षिक संस्था राष्ट्रिय परीक्षा बोर्डले निकालेको २०७५ सालको एसईई नतिजापछि एक छात्राको अनाहकमा आत्महत्याको बाटो रोजिन्। यसको दोष कसले लिने?
२०७५ वैशाख १४ गते बाट लिएको कक्षा १२ को परीक्षाको नतिजा २०७५ साउन १७ गते सार्वजनिक भयो।
सबै संकायको नतिजा आइसकेपछि पनि आफू पास भए/नभएको थाहा नपाएर विद्यार्थीले सास्ती खेप्नुपर्यो।
आफ्नो सम्बन्धित शैक्षिक संस्था अगाडि लामबद्ध विद्यार्थीको भीड र शिक्षकको प्रतिक्रियाबाट थाहा हुन्छ आफूलाई शिक्षा दिइरहेको शैक्षिक संस्था पनि यस विषयमा अनभिज्ञ रहेछ।
खै कसरी भन्ने यस्तो शैक्षिक संस्थाबाट लिइएको शिक्षाले देश बनाउँछ भनेर?
नेपालको २ ठूला शैक्षिक संस्था राष्ट्रिय परीक्षा बोर्ड र त्रिभुवन विश्वविद्यालयको तालमेल अभावले स्नातक तहमा भर्ना हुन पाउने या नपाउने जस्ता द्विविधामा विद्यार्थीहरू रूमलिएका छन्।
साथै कुन ग्रेड आयो भने मौका परीक्षा दिन पाउने, कस्तो विद्यार्थीले अर्को वर्ष परीक्षा दिनुपर्ने, कस्तो ग्रेडले आफ्नो ग्रेड वृद्धि गर्न पाउने र कस्तो ग्रेडले सर्टिफिकेट (ट्रान्सक्रिप्ट, माइग्रेसन, प्रोभिजनल) निकाल्न पाउने जस्ता अनेक प्रश्नहरु अनुत्तरित छन्।
यस्तो विषयमा मिडियाले पनि त्यती ध्यान दिएको पाइँदैन। विद्यार्थीको ग्रेडिङ प्रणालीबारे राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी, परीक्षा नियन्त्रण कार्यालयका सह परीक्षा नियन्त्रक कृष्ण घिमिरेलाई सोधेका थियौं।
कस्तो ग्रेडिङ पाएकाले के गर्ने
१. स्नातक तह अध्ययन गर्न कक्षा ११ को जस्तोसुकै नतिजाले पनि फरक नपार्ने तर, कक्षा १२ को नतिजामा सबै विषयमा A+, A, B+, B, C+, C , D+ , D आएमा अध्ययन गर्न पाउने छ।
२. यदि सबै विषयमा D + आए पनि उसले अध्ययन गर्न पाउने छ। तर, D आएको अवस्थामा विश्वविद्यालयले तोकिएको विषयमा मात्र अध्ययन गर्न पाइने छ।
३. यदि कक्षा १२ को कुनै पनि एउटा विषयमा D अथवा E आएको छ भने पूरक परीक्षा दिई ग्रेड बढाई अध्ययन गर्न पाइने छ।
४. यदि कुनै पनि एउटा विषयमा D आएको विद्यार्थीले पूरक परीक्षा दिइ ग्रेडिङ बढाउन चाहेमा पाइने छ ।
५. D आएको विद्यार्थीले पनि A+, A, B+, B, C+ र C जसरी नै सर्टिफिकेट (ट्रान्सक्रिप्ट, माइग्रेसन, प्रोभिजनल) निकाल्न पाइने छ। तर, ट्रान्सक्रिप्ट निकालिसकेपछि पूरक परीक्षा दिई ग्रेडिङ बढाउन पाइने छैन।
६. A+, A, B+, B, C+, C र D+ D आएका विद्यार्थीले नतिजा प्रकाशन भएको मितिले २१ दिनपछि मात्र सर्टिफिकेट (ट्रान्सक्रिप्ट, माइग्रेसन, प्रोभिजनल) प्राप्त गर्न सक्नेछन्।
७. कक्षा १२ को परीक्षामा सबै विषयमा ग्रेड प्राप्त गरि कुनै पनि एक विषयमा मात्र अनुपस्थित वा ग्रेड प्राप्त गरेका विद्यार्थीहरुले ग्रेड बृद्धि गर्न पूरक परिक्षा दिन चाहेमा २०७५ भदौ १० गते भित्र ६०० रूपैयाँको बैंक भौचर र आवेदन संलग्न गरेर राष्ट्रिय परीक्षा बोर्डको कार्यालयमा बुझाउनुपर्नेछ।
यदि समयमा बैंक आवेदन नबुझाए २०७५ भदौ १२ गतेसम्म दोब्बर शुल्क १२०० का दरले बुझाइ परीक्षा दिन पाइनेछ।
८. पूरक परीक्षा २०७५ भदौ १६ गते शनिबार बिहान ११:०० बजे देखि २:०० बजे सम्म हुनेछ। परीक्षा केन्द्रको जानकारी पछि सूचना प्रकाशित हुनेछ।
माथिको जानकारी सबै कलेजमा राम्ररी विद्यार्थीलाई बुझाउन सकिने हो भने समस्या समाधानमा केही हदसम्म राहत हुन्छ। तर अधिकांश विद्यार्थी र अभिभावक ग्रेडिङ प्रणालीले झुक्किरहेका छन्। कोही पनि विद्यार्थी फेल नहुने भन्ने तर तोकिएको ग्रेड नआए कलेजै भर्ना गर्न नपाइने हो भने ग्रेडिङको के अर्थ रह्यो र?
पहिले नेपालको १०+२ परीक्षामा पास हुन ३५ अंक ल्याउनुपर्दथ्यो। यदि D+ र D लाई मात्र विश्वविद्यालय शिक्षा प्रवेश गर्न नदिने हो भने पास मार्क कम्तीमा ४० हुन जान्छ। यदि त्यसो भएमा शिक्षाको गुणस्तरमा वृद्धि आए ता पनि हालको उत्तीर्ण प्रतिशतमा गिरावट आउँछ र यसको असर सरोकारवाला निकायहरूको विद्यार्थी भर्नामा र धेरैजसो कलेजले विद्यार्थी नपाई बन्द गर्ने अवस्था आउँन सक्छ।