एक नेपाली युवा प्रकाश पौडेलको विषयमा यति धेरै समाचार र नेगेटिभ कमेन्ट, नेगेटिभ चर्चाहरूले असाध्यै मन छोयो।
अझ सबैभन्दा बढी त उनी विरूद्ध उठेका आएका समाचार र नेपाली दाजुभाइ दिदीबहिनीहरूले गर्नुभएको सत्तोसरापले झन दुःख्यो मलाई।
मलाई थाहा छ, समाचारहरूमा देखाईए बमोजिम र भने बमोजिम प्रकाश पौडेलले ठूलो गल्ती गरे। हामी सारा नेपालीहरूको शीर होचो बनाए, मुटु दुःखाए। त्यो अपराधको दण्ड अष्ट्रेलियाको कानून प्रशासन अनुसार उसले भोग्नैपर्छ, भोग्न तयार हुनुपर्छ।
त्यसैले उसलाई यतिबेला थुनिएको छ। तर, हामी नेपाली ? यहाँ प्रवासमा भएका नेपाली र नेपालमै रहनुभएका हामी सम्पूर्ण नेपालीहरू यति धेरै गाली, गलौजमा उत्रिरहेका छौं कि प्रकाश यो धर्तीमा बाँच्नै योग्य छैन, उसका कोही आफन्त, नातेदार, परिवार, समाज र देशै छैन जस्तो भनिरहेका छौं।
उसलाई गल्ती गरेको हुनाले गल्तीको सजाय भोग, आफूलाई सुधार, सच्याउ। धैर्य, सहनशीलता र माफको संस्कार विनाको संघर्ष के संघर्ष? हामी नेपालीहरूको संघर्षको यो संस्कार यहाँ परदेशमा झनै वढी लागू हुन्छ र हुनुपर्छ। तर, के हामी उसले गुमाएको धैर्यता र सहनशीलतालाई तुफान बनाउने र उसैमाथि लाद्ने हो वा उसलाई सहनताका साथ सजाय भोग्न तयार बनाउने हो वा उसको आफन्त, परिवारलाई समेत अक्षम्य अपराधी सरह छेडछाड गाली, गलौज, बेइज्जती गरेर तनावग्रस्त बनाउने?
प्रकाश पौडेलले एउटा भिडियो फुटेजसहित प्रशारित र प्रचारित समाचार अनुसार उनले ८० वर्षको ज्येष्ठ नागरिकमाथि निर्दयीताका साथ हातपात गरेको दृश्य देख्न र पढ्न सकिन्छ।
यो निर्दयीता प्रकाश पौडेलले गरेकै हुन् भन्ने प्रमाणित भएमा उनले सजाय पाउँछन् नै तर यस्तो गल्ती किन गरे? गल्ती गर्न वाध्यकारी स्थितिहरू केही थियो कि? के उनी शारीरिक, मानसिक रूपमा स्वस्थ सबल त छन्?
अथवा उनले काम गर्ने स्थानको अवस्था, वातावरण के कस्तो छ? यी सबै अनुसन्धानको पाटो बन्नुपर्दछ जस्तो लाग्छ। हामी अर्काको देशको कानून, प्रशासन वा ऐन नियमका विरूद्ध बोल्नु हुँदैन र बोल्दैनौं। तर, सामाजिक रूपमा यहाँ अष्ट्रेलियामा रहेका नेपाली सामाजिक अभियन्ताहरू, सञ्चारकर्मीहरू, मानवअधिकारवादी दाजुभाइ दिदीबहिनीहरूको यस्तो विषयमा ध्यानाकर्षण होस् र घटनालाई सामान्यकरण गर्दै यस्ता नकरात्मक प्रचार कम होस् भन्न चाहन्छु।
एउटा समाचार पढेको, देखेको भरमा जथाभावी प्रहार गरिहाल्ने हाम्रो सञ्चारको शैलीले पनि हामी जस्तो अर्काको देशमा दुःख गरिरहेका नेपालीहरूको मन दुःख्छ। गलत गर्नेलाई सजाय मात्रै होइन, सजायको भागीदार यसकारण बन्नुपर्यो भनेर सचेतता र मानसिक रूपमा तयारी बनाउने, यस घटनाबाट पारिवारिक र सामाजिक असर सकेसम्म कम होस् भन्नेमा सचेत गराउने र फेरि पनि सामान्य जीवनयापनमा पूनस्थापित बनाउने कार्यमा हाम्रो प्रयत्न हुनुपर्छ।
कुन दुःख, मेहेनत र लगानीले यहाँसम्म आएका हुन्छौं, त्यसको हैरानी शायद त्यही छोरा वा छोरीलाई मात्रै थाहा हुन्छ, जो यहाँ आइपुगेका छन्। त्यसैले उसका घरपरिवार, आफन्तलाई रूवाउने, पीडामा पार्ने काम सकेसम्म हामी कसैले पनि गर्नुहुँदैन । सकारात्मक हुनसकौं । सकरात्मकता नै देखाऊँ ।
दुःखमा आड, भरोसा दिने, रोदनमा सबै मिलेर सहयोग गर्ने र समस्या पर्दा सबै एकजुट भएर समाधानमा लाग्ने हामी नेपालीहरूको संस्कार हो। आउनुस् यही संस्कारको हिफाजतमा पनि अब हामी एक हुन सकौं।