अहिले नेपाल प्रहरीको काँधमा ऐतिहासिक दायित्व अनि अनगिन्ति चुनौतीहरु पनि छन ।
संघियता कार्यान्वयनको चरणमा प्रवेश हुन समेत नपाउँदै एकातिर जनतामा यो बेठिक र अनावश्यक पो रहेछ कि भन्ने परेको छ। अर्को तर्फ प्रादेशिक शासनका हर्ताकर्ताहरुलाइ संघीय सरकारले संकुचित भुमिकामा सिमित गर्यो भन्ने भान पर्दै गएको देखिएको छ ।
समग्र देशमा शान्ति सुरक्षा कायम राख्न अनि एकै प्रकारको सुरक्षा नीति र दृष्टिकोण हुन प्रदेश सरकारसंगको समन्वय अनि संघीय सरकारको नियन्त्रण रहने प्रहरी संगठन हुनुपर्ने सत्यलाइ नजरअन्दाज गर्दै, जनताको सुख सम्वृद्धिलाइ ध्यान दिनु पर्ने आफ्नो प्रथामिक दायित्व भुल्दै प्रादेशिक सरकारका हर्ताकर्ताहरु सुरक्षा संगठनमा आफ्नो प्रत्यक्ष नेतृत्व र नियन्त्रण खोजिरहेका छन ।
प्रहरीको तुलनामा एक तिहाई काम गर्ने तर सेवा सुविधाको दृष्टिकोणले उनीहरु भन्दा कता न कता बढी प्राप्त गरिरहेका गृह मन्त्रालयका हर्ताकर्ताहरु कथित मार्शल टिमको नाममा प्रहरी कार्यालयहरु छापा मार्ने टिठ लाग्दो कार्यक्रमको हौवा पिटाइ रहेका छन ।
हरेक जिल्लामा प्रहरीलाइ निर्देशन नियन्त्रण गर्ने अधिकार सिडिओसँग हुँदाहुँदै कथित मार्शल टिम प्रहरी मनोवल घटाउने अर्को अस्त्र सिवाय केहि हैन र हुनसक्दैन ।
जनप्रतिनिधिहरुमा बढ्दै गएको सुविधा भोगी प्रवृतिले जनतामा असन्तुष्टि बढदो छ, वितृष्णा बढदो छ , यदी जनप्रतिनिधिहरुले आफ्नो सेवा सुविधालाइ मात्रै ध्यान दिने प्रवृति नत्याग्ने हो भने वितृष्णाहरु विद्रोह उन्मुख हुनेछन् र देशको आन्तरिक सुरक्षाको प्रमुख जिम्मेवार संगठन भएकोले प्रहरी सम्भावित सबै चुनौतीहरुलाइ सामना गर्न तयार रहनु पर्ने हुन्छ ।
सम्भावित चुनौतीहरुको सामना गर्नको निम्ती उच्च मनोवल अनिवार्य हुन्छ । दुर्भाग्य नै भनौ अहिले प्रहरी संगठनलाइ यो वा त्यो ढंगले कम्जोर बनाउन नजानिँदो खेल चलिरहेको छ ।
देशभर प्रहरीले दिनरात नभनेर गरिरहेको दुखको वेवास्ता गर्दै केहि सिमित घटनाहरुलाइ उछालेर प्रहरीको दोहोलो काट्ने निन्दनीय काम हुँदैछ ।
अनुमानको भरमा प्रहरीको उपल्लो दर्जामा रहेकाहरुको सम्वन्धलाइ यो वा त्यो ढङ्गले व्याख्या गराउने, विगतमा पटक पटक देखिने गरेको जस्तो नेतृत्वलाइ अस्थिर, अलोकप्रिय र असफल बनाउदै नेतृत्व हत्याउने प्रवृतिको पुनर्वृति गराउन सम्वद्ध पक्षलाइ उक्साउने लगायतका खेलहरु पनि चलेकै देखिन्छ ।
यो दुखद कुरो हो यद्धपी त्यस्ता विकृत खेलहरुले केहि अन्योलता थप्ने सिवाय केहि गर्न भने सकेको छैन ।
राम्रो कुरो के भने वाहिर आएको जस्तो प्रहरीको उपल्लो दर्जामा रहेकाहरु संगठनको नेतृत्वलाई असफल पारेर संगठन बिगारेर नेतृत्व हात लिने दौडमा देखिदैनन् भने संगठन प्रमुख पनि संगठनमा सबैको भूमिकाको कदर गर्दै अगाडी बढन प्रतिवद्ध देखिन्छन ।
विगतमा जस्तो आइजीपीलाई अटेर गर्ने, अपमान गर्ने निकृष्टता त टाढाको कुरो अनैतिक, असामयिक र अप्राकृतिक ढङ्गले नेतृत्वमा अवतरणको सम्भावना देखाउनेहरुलाई समेत दुत्कार्ने गरेको सुखद समाचारहरु सुनिन्छन ।
एकातिर प्रहरीले गर्नु पर्ने मूल भूमिका प्रति प्रष्ट, सबै प्रकारका अनैतिकता, गैर व्यवसायिकता अनि भ्रष्ट आचरण प्रति निर्मम आइजीपी छन भने अर्को तर्फ संगठन प्रमुखको सफलतामा नै संगठनको हित र सन्तुष्टि देख्नेहरु दोश्रो तहमा कार्यरत छन अनि गौरवपूर्ण इतिहास कायम गर्दै संगठनबाट बाहिरिएका सम्मान गर्न लायक पुर्व आइजीपीहरुको साथ र आशिर्वाद आइजीपीलाई छ भने उहाँहरु प्रति आइजीपीको श्रद्धाभाव ।
यो सुनौलो सत्य हो ,त्यो सत्य बुझेका तर प्रहरीलाइ अस्थिर बनाएर राख्न सक्दा मात्रै आफ्नो हित हुने बुझेका केहि आन्तरिक अनि केहि वाह्य धमिराहरुले प्रहरी संगठनको सुनौलो पक्षलाइ ओझेलमा पार्ने, अनावश्यक शंका र विवाद बढाउने भूमिका खेल्ने काम भने गरेको गरेकै छन , जसले माथि भनिएजस्तै अन्योलता सिर्जना भने गर्ने गरेको छ l
यद्धपी अफवाहहरु, नियोजित प्रायोजित प्रचारको आयु लामो हुदैन, त्यसको पट्टाक्षेप भइ हाल्नेछ। अहिलेलाइ यत्ति नै भनौ न त आइजीपीलाई कमजोर बनाउने खेल नै पुरा हुनेछ न त हुँदै गरेको बढुवालाइ मध्यनजर गरेर यो वा त्यो अगाडी वा पछाडी भनेर गरिएका प्रचारको नै कुनै अर्थ हुनेछ ।
तमाम अफवाह, नियोजित प्रायोजित प्रचार र लडाउने भिडाउने खेलहरुलाइ पानीको फोको प्रमाणित गर्दै नेपाल प्रहरी जनताको शान्ति, सुरक्षा गर्ने दायित्व पुरा गर्न थप सवलतासाथ क्रियाशिल भइरहने छ ।
योग्यता, क्षमता र त्यसको प्रयोगले नेतृत्वमा पुगेका रहिरहने छन भने सकरात्मकता अनि सहकार्यको भावना बोकेका योग्यहरुले पनि अपमानित महशुस गर्नु पर्ने छैन । चुनौतीहरुलाइ सम्भावनामा बदल्दै आफु प्रतिको जनअपेक्षा पुरा गर्न नेपाल प्रहरी र त्यसको नेतृत्व सफल रहनेमा शंका गर्नु पर्दैन ।