कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज ५३ दिनभन्दा बढी भइसकेको छ।
छोरीको हत्यारालाई कारबाहीको माग गर्दै न्यायको खोजीको लागि निर्मलाको बाबुआमा अहिले राजधानी आइपुगेका छन्।
एक कार्यक्रममा निर्मलाका पिताले छोरीलाई न्याय दिन नसके आफूलाई पनि गोली हानी मार्न सरकारलाई रुँदै आग्रह गर्दै थिए।
उनको आँशु देख्दा लाग्छ हामी कति बर्बर र क्रुर समाजमा रहेछौं। हाम्रा नेतृत्ववर्ग कति संवेदनाहीन र पासविक रहेछ।
महिला अधिकारसम्बन्धी बेग्रल्ती कानूनका ठेली निलेका हाम्रा समाजका ठालूहरूले कहिले बुझ्छन् निर्मलाको बाबुआमाको पीडा? विकास र समृद्धिको गफ गरेर नथाक्ने हाम्रो नेतृत्वले कहिले हेर्छ?
समाजको अन्याय र दमनलाई पीडितका आँखाबाट,संविधान,लोकतन्त्र,गणतन्त्र,समानता,समताजस्ता शब्द कहिले पुग्नेछ गरिब र निमुखाको झुप्रोमा र धुनेछ पीडाका अनगिन्ती घाउहरू?
कहिलेसम्म ठालूको मुठ्ठीमा कैद हुनेछ सयौं निर्मलाहरू जस्ताको न्याय र निसाफ? ८००० वर्ष पुरानो यो वर्ग समाजले महिलालाई सधैँ दोस्रो दर्जाको व्यवहार गर्दै आएको छ।
संकेत स्पष्ट छ, यो सत्ता र व्यवस्थामा महिलाको मुक्ति सम्भव छैन। समाजका मुठ्ठीभर ठालूको हातमा रहेको सत्तालाई जबसम्म खोसेर लिइँदैन तबसम्म सयौं निर्मलाहरू यसरी नै बलात्कृत भैरहनेछन्।