परिबन्धमा परेर भनौं अथवा जोगमेसो नमिलेर यसपालिको मेरो दसैं काठमाडौंमै बित्यो। तर, जे हो्स त्यही परिबन्धले दसैंको काठमाडौं हेर्ने अवसर जुट्यो। विजयादशमीको मध्याह्नतिर भटभटे लिएर घरबाट निस्केँ। सधैंजसोको धूलोधूवाँ, भीडभाड र ट्राफिक जामले खपिनसक्नु हुने राजधानी सहर खुल्ला भएको देख्नु नि अहोभाग्य नै साबित भयो।
३०–४० स्पीड सालाखालामा दौडिने मेरो भटभटेले राजधानीमै पनि ६० कटायो। दसैंको रौनकले आफूलाई छुन नसकेकोमा मन चिसो पार्दै बतासिएर हिँडेको म राजधानीको व्यस्त न्यूरोड क्षेत्र हुँदै वसन्तपुरसम्म पुग्दा केही शान्त भयो। दसैंले छुन नसकेका पात्रहरू अलि भिडभाड देखिएको यो चोकमा छ्यापछ्याप्ती भेटिए। पानीपुरीवाला, सयमा तीन वटा मोजा बेच्नेवाला, छेऊछाऊमा देखिएका सुरक्षाकर्मी दाजुभाइ, भाँडाकँुडा अनि पानीका बोतल बेच्ने व्यापारी र खाली निधारहरू। जसलाई महान चाडको भन्दा पनी बढी आफ्नै दैनिकीको देखिन्थ्यो।
अघिपछि पनि बजार हिँड्दा देखिने हुनेखाने र हुँदा खानेबीचको वर्गीय भिन्नता आज झन् टड्कारै देखियो। एउटा वर्गको पारिवारिक झुन्ड दसैंले निकै ठाँटिएको रवाफमा वरिपरिको परेवाको वथान उडाउँदै अगाडि बढ्छ। त्यही झुन्डमध्येका अधवैंशे पुरुष आफ्नो स्याउफोन गोजीबाट निकाल्दै तस्बिर खिच्न तम्सिन्छन्। बाँकी सदस्यहरू हँसिलो मुद्रामा पोज दिन्छन्।
छेवैमा बसेर ट्वालट्वाल्ती हेरिरहेको अर्को वर्गको किशोर कागजको फिरफिरे बेचिरहेका छन्। उनमा दसैंको रौनक छैन। एउटै मात्र भए पनि फिरफिरे बेचाउने आशाले झुन्डतिरै लम्कन्छन्। तर, झुण्डमध्येका केटाकेटीमा उनको फिरफिरेप्रति कुनै आकर्षण नदेखेपछि मलिनो अनुहार पार्दै फर्कन्छन्छन्।
यो नियालेपछि मेरो मन अमिलो भयो। दसैंले छुन नसके पनि आफ्नै श्रेणीमा पर्ने मनोभावना बोकेकाहरूबाट सहानुभूति मिल्यो।
केही भए पनि मन हलुङ्गो भो। त्यही हलुङ्गो मन बोकेर बाँकी दसैंको रौनक हेर्ने आशामा भक्तपुर दरबार स्क्वायरतिर बत्तिएँ। नवमीको दिनसम्म बिरलै मात्र देखिएका मुख्य चोकका ट्राफिक दाइहरू आज भने प्रशस्तै देखिए। उही खाली निधारमा। फेरि पनि आफ्नो श्रेणीका मान्छे थपिए। तर, जडिबुटीको जामले टिकाकै दिन पनि छाडेन। अचम्मै भो। सायद बेलैमा घरको टिको भ्याएर काठमाडौं छाडी कोटेश्वरको नाका हुदै बाहिर लम्कनेको भीडले हुनुपर्छ।
भीड छिचोल्दै दरबार स्क्वायरसम्म पुग्दा निकै उल्लासमय वातावरण देख्न पाइयो। मध्य दसैंको लोकल टुरिजम भनौं या आन्तरिक पर्यटन निकै फस्टाएछ। घाँटीमा रातो कपडाकोे डोरामा जमरा बाँधेर लगाएका नेवार समुदायका युवायुवती, आफ्नो मौलिकता बोकेको भेषभूषामा सजिएर प्राचीन किसिमका बाजा बजाउँदै हिँडेका स्थानीयहरू र अनेकन प्रकारले दसैंले छोएका र नछोएका पात्रहरू यो संस्कृतिलाई बडो विचित्रसँग नियालिरहेका थिए। र, यही लोकल टुरिजम फस्टाउनुमा बढ्दो सामाजिक सञ्जालको क्रेजले पनि ठूलै भूमिका निभाएको बुझ्न सकिन्थो।
घुम्न आउनेमध्येका जो कोही फोटो खिच्न निकै अग्रसर देखिन्थे। यी फोटोहरू पक्कै पनि भरे बेलुकीको सामाजिक सञ्जालको गतिविधिमा झुल्किनेवाला थिए। सँगसँगै नेपाली युवतीहरूका पहिरनमा पनि ठूलै क्रान्ति आएछ। आफूले देखेजानेको भन्दा विल्कुलै फरक किसिमका पहिरनमा ठाँटिएका युवतीहरू प्रशस्तै भेटिए।
वरिपरि पानीपुरी, कुल्फी र जूजू धौ को पनि उत्तिकै क्रेज बढेछ। जे होस् यो देखिएको सबै गतिविधि र वातावरणमा दसैंको टिकाको फ्युजन अघि हलुङ्गो भएर आएको मेरो मनको लागि बडो रोमाञ्चकारी सिद्ध भयो।
समग्रमा, उपत्यकाका यी दुई प्रतिनिधि ठाँउहरूमा देखिएको दसैंको माहोललाई हर्ष, उल्लास र रोमाञ्चकारी वातावरणले भरिएको परिवेशले दसैंले छुन नसकेका पात्रहरूको मन प्रफुल्ल बनायो।