प्यारी बहिनी निर्मला,
न तिमीलाई मैले देखेँ, न तिमीलाई मैले भेटेँ। तिमी मेरो कोही नातादार नभए पनि मानवताको नाताले बहिनी मान्छु।
तिमीले यो संसार छोडेर गएको आज १०० औं दिन भएछ। १३ वर्षको कलिलै उमेरमा एक पापी पिपासुले तिमीलाई खाएको खबर सर्बत्र फैलियो।
यो खबर सुनेर बिक्षिप्त भएँ। तिम्रो घटना हरेक कुना- कन्दरामा फैलियो तर, तिम्रो लागि कही कतैबाट न्यायको ढोका खुल्न सकेन।
आफू छोरी भएर जन्मिएकोमा एकदम भाग्यमानी ठान्ने मेरो मन अहिले तिम्रो लागि कतै कानुन नदेखदा असुरक्षित महसुस हुन थालेको छ।
तिमी एक मुख्य पात्र भयौं बहिनी। तर, तिमी जस्ता धेरै निर्मलाहरू अझै पापिस्टहरुको पञ्जामा परिरहेका छन्।
हाम्रो लागि १० वर्षे जनयुद्व र कयौ नेपाली जनता घाइते र शहिद भएर आएको लोकतन्त्रले के नै गर्न सक्यो र?
त्यो कहालीलाग्दो दिनमा न तिम्रो रोदन कसैले सुन्यो न आज संसारभर तिम्रो समाचार फैलिँदा कसैले सुनिरहेको छ। खै कहाँ गए ती भोट माग्न निर्वाचनको बेला हात जोड्दै गाऊ पस्ने नेताह?
तिमीले न्याय नपाएको देख्दा नोट र भोटको मात्र खेल हुने देशमा जन्म लिनु पुगेछु जस्तो लाग्न थालेको छ।
खुलमखुल्ला हिँडिरहेको अपराधिलाई अझै चिन्न नसक्ने अन्धो सरकार भएको देश रहेछ हाम्रो। भन्छन्-सास रहुन्जेल आसा राख्नुपर्छ, आसा छ यो अन्धो सरकारको आँखा खुलोस् र त्यो पापिस्टले सजाय पाओस्।
ती बुढा बाबा आमाले आफ्नो छोरीको न्याय पाउन भन्ने कामना गर्छु।
तिम्रो पर्थिव शरीर नरहे पनि तिम्रो चिर शान्तिको कामना गर्छु। यो दुनियाँमा तिमीलाई फुल्न नदिए पनि तिम्रो आत्मा अहिले जहाँ भए पनि शान्त होस्।
तिम्रो अपरिचित दिदी