प्रिय रवीन्द्रजी,
मातृभूमिको उज्ज्वल भविष्य कामना गर्ने विदेसिएका म जस्ता लाखौं नागरिकलाई विवेकशील साझा पार्टीको फुटले नराम्रो आहत पारेको छ।
परदेश हुँदा नेपाली राजनीतिक गतिविधिको सुक्ष्म सूचना नपाए पनि हरदिन, हरसासमा हामी नेपालमा के भइरहेको होला, किन भइरहेको होला भनी सोच्छौं, गफ गर्छौं।
देश बाहिर बस्ने हामी त आगामी दिनमा तपाईंको दलले ल्याउन सक्ने सकारात्मक परिवर्तनको कल्पनामा आशावादी थियौं। तर सम्पूर्ण ऊर्जा नै पार्टीमा लगाउने विवेकशील साझाका कर्मठ जत्थालाई यतिखेर परेको तोड परबाट महशुस गरिरहेको छु।
हरेक घटनामा मनगढन्ते भविष्यवाणी गर्ने कथित जमातले ‘हामीले पहिले नै भनेका थियौं नि’ भनेर खुच्चिङ गरिरहेका सुन्छु, पढ्छु। विवेकशील साझाको फुटले ठूला भनिएका दलमा आएको राहतका बीच आज तपाईंलाई यो पत्र लेख्दैछु।
विवेकशील साझा पार्टीप्रति म जस्ता लाखौं नेपालीको आस्था र विश्वास अझ कायम छ। आर्थिक सहयोगका लागि तपाईंले गर्नुभएको अपीललाई पनि यही पत्र मार्फत एक प्रस्ताव गरी प्रतिबद्धता व्यक्त गर्न चाहन्छु।
सुरूआत विगतका दुई घटनाबाट गरौं।
२०४४ साल फागुन २८ गते काठमाडौंको दशरथ रंगशालामा त्रिभुवन च्यालेन्ज शिल्ड कपको फाइनल खेल भैरहेको थियो। नेपालको जनकपुर चुरोट कारखाना क्लब र बंगलादेशको मुक्ति योद्धा क्लबबीच खेल चलिरहँदा खेलको १९ औं मिनेटमा आएको हावाहुरीका कारण दर्शक डराएर मच्चिएको भागदौडमा किचिएर ७४ जनाको ज्यान गयो।
त्यस्तै २५ असार २०३० मा सिंहदरबार आगलागीमा भयो। आगलागीमा मानवीय क्षति नभए पनि ज्यादै ठूलो भौतिक सम्पत्तिका साथै परराष्ट्र मन्त्रालयसँग सम्बन्धित महत्त्वपूर्ण कागजपत्र र दस्तावेज नष्ट भए। नेपाली सेना, प्रहरी र स्थानीयबासीले सिंहदरबारको अग्रभाग मात्र ध्वस्त हुनबाट जोगाए। जुन पछि भूकम्पले क्षतिग्रस्त बनायो।
सिंहदरबार आगालागीपछि तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले र रंगशालामा दर्शक मरेपछि तत्कालीन शिक्षा तथा खेलकुद मन्त्री केशरबहादुर विष्टले राजीनामा दिए।
पूर्व प्रहरी महानिरीक्षक अच्युत कृष्ण खरेलले यी दुई घटनालाई जोडेर केही दिन अगाडि सामाजिक सञ्जालमा प्रश्न सोधेका छन् ‘त्यतिबेला र अहिले के फरक छ?’
तथ्यहरू हेर्दा पञ्चायत व्यवस्थामा शक्तिको केन्द्र मानिने दरबारले मागेका कारण उनीहरूले राजिनामा दिएका होइनन् भन्ने ष्रष्ट छ। दुवै जनाले नैतिक कारण देखाएर राजीनामा दिएका थिए।
त्यसो भए के उतिबेलाका नेताहरू नैतिक र अनैतिक छुट्याउन सक्थे? वा समाजले के भन्ला डर त्यो बेला बढी थियो?
पञ्चायतमा पनि गलैंचा काण्ड, गाई काण्ड, मल काण्ड भएका थिए। तर केही समययता ‘स्वच्छ छवि’ भन्ने शब्द नै अशुद्ध हुने गरी भ्रष्टाचारका अनेक काण्ड सतहमा आएका छन्।
यसबीच नागरिकलाई निराश बनाउने गरी सांसदका लागि विलासी गाडी किन्न सुविधा दिने तथा जहाजको विवादले नेपाल वायु सेवा निगमलाई टाट उल्टाउने जस्ता काम भए। सर्वसाधारणको भाषामा भन्दा नेताले आफ्ना सुख सुविधाका लागि पापकर्म गरे।
निश्चित आम्दानी नभएका नेताको आर्थिक परिवर्तन त्यही पाप कर्मबाट भयो। कमिसन र घुसको धनले मात्र नपुगेर प्रधानमन्त्री भएकाहरूले समेत आफ्ना सन्ततिका लागि विदेशी राजदूतसँग छात्रवृत्तिको भिक मागे। ‘भ्रष्टाचारीलाई किरा परोस्’ भन्ने सरापको असर पनि तिनमा देखिएन। भ्रष्टाचार लाख, करोड हुँदै अर्बमा पुगेको समाचार आइरहेका छन्।
भूकम्प प्रभावितलाई राहत दिन खडा गरिएको संस्थामा समेत राजनीतिक भागबण्डा गरेर नेताहरूले तीन वर्षदेखि भूकम्प पीडितलाई जाडोमा कठाङ्ग्रिएर बस्न बाध्य बनाए।
विदेशीको स्वार्थमा नेताहरू यति धेरै लटपटिए कि बेकामे ‘बिशिष्ट अर्थमन्त्री’ र ‘विशिष्ट लोकतन्त्र र सुशासन प्रधानमन्त्री’ जस्ता पद र पुरस्कार गौरव मान्दै थापे। देशमा भ्रष्टाचार रोक्न र सुशासन कायम गर्न अनेक आयोग र संरचना बने तर तिनले काम गरेनन्। हाम्रा नेता र कर्मचारीहरू झन् झन् भ्रष्टाचारमा लिप्त हुँदै गए।
रवीन्द्र जी,
बीस वर्षको विदेश बसाइ तथा यसबीच अध्ययन र कामका लागि गरिएका भ्रमणबाट एउटा कुरामा म झनझन् प्रस्ट हुँदै गएको छु- मौलिक परिवेशको नैतिक मूल्य-मान्यता लागू गर्न नसक्ने तथा नैतिकताको अनुशरण भए नभएको हेर्न आयातित खाकाका सारविहीन र माटोसँग नमिल्ने प्रकृया अपनाउने राष्ट्रको प्रगति दातालाई दिने प्रतिवेदनमा मात्र सीमित हुन्छ।
विगतमा मैले श्रीलंका, भुटान, थाइल्यान्ड, कम्बोडिया, इन्डोनेसिया, फिलिपिन्स, लाओस, पापुवा न्यूगिनी, म्यान्मार, सिङ्गापुर, तान्जानिया, केन्या, युगान्डा, डेनमार्क, जर्मनी, संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिकामा स्वास्थ्य क्षेत्रमा काम र अध्ययन गर्ने मौका पाएँ। विभिन्न देशमा काम गर्दा त्यहाँका बासिन्दा, सरकारी पदाधिकारी, व्यापारी, दातृ संस्था र विदेशी परामर्शदातासँग संगत गर्न, अध्ययन गर्न र तिनलाई बुझ्ने मौका मिल्यो।
तिनीहरूसँगको साक्षात्कार, बैठक, विमर्श, अनुसन्धान, अवलोकन र अध्ययनपछि म एउटा कुरा भन्न सक्ने भएको छु- कुनै पनि देशको उन्नति विदेशीले ल्याउने परियोजानबाट होइन, त्यहाँका नागरिकले गर्ने मौलिक सामाजिक परम्पराको संरक्षण, सम्वर्द्धन, समानुकुल परिवर्तन र परिपालनाबाट हुन्छ।
नागरिकले कुनै पनि समस्याको समाधान आफैं भित्र खोज्नुपर्छ। सानोमा हजुरआमाले सुनाउने कस्तुरी मृगको कथा झैं कहिले यता कहिले उता भौंतारिँदै हिंड्नु साटो आफैंमा निहित परापूर्वकालदेखि चलिआएको सामाजिक संरचना परिमार्जित गर्दै त्यसको अनुशरण तथा पालना गरेर अगाडि बढ्नु नै अहिलेको आवश्यकता हो।
नेपाललाई उँभो लगाउने अबको उपाय भनेकै नैतिक संस्कृतिमा आधारित राज्य प्रणालीलाई माथिदेखि तलसम्म लागू गर्नु हो। यसका लागि भ्रष्टाचार जस्ता पापलाई सामाजिक रुपमै तिरस्कार गर्ने बानी विकास गर्नुपर्छ।
हाम्रो जस्तो समाजिक बनौट भएको ठाउँमा टोल, छिमेक, आफन्त र गाउँलेलाई कुन व्यक्तिले कसरी पैसा कमाइरहेको छ भन्ने जानकारी सजिलै हुन्छ।
म सानै हुँदा बबरमहल, काठमाडौंमा हाम्रो घर छेउ भन्सारका एक हाकिमले १५ आना जग्गा किनेर घर बनाउँदै थिए। सबै छिमेकी भन्थे, ‘घुसको पैसाले घर बन्दैछ।’ तर न कसैले कतै उजुरी गर्यो न उनी छिमेकीबाट तिरष्कृत भए।
भ्रष्टचारी भनेर थाहा पाइसकेपछि समाजले बिहे-व्रतबन्धमा बोलाउन छोड्नुपर्छ। भोज-भतेरमा बहिष्कार गर्नुपर्छ। नजिकका पसलेले तिनलाई सामान बेच्नु हुँदैन। तिनका परिवारलाई कालो धनको उपयोगमा लाज हुने परिस्थिति बनाउनु पर्छ।
घुस माग्ने शैलीका कारण मेरा एक जना साथीका पितालाई ‘ब्रेकफास्ट सचिव’ भनियो। त्यो समाचार आएपछि साथीका पितालाई मैले कहिल्यै आदरले हेरिनँ। त्यसपछि उनीहरूलाई कस्तो महशुस भयो, थाहा छैन। तर मलाई विश्वास छ, मेरा मित्रले आफ्ना पितालाई ‘मेरा साथीहरू टाढिने त्यस्तो कुकृत्य किन गरेको’ भनेर पक्कै सोधे।
यहाँ मैले कानुनी राज्यको अवधारणा छाड्नु पर्छ भन्न खोजेको हैन। तर नैतिकतालाई सामाजिक प्रतिष्ठासँग जोड्ने नेपाली परम्पराको उपयोग गर्दै भ्रष्टाचार, व्यभिचार जस्ता वेथिति हटाउने उपाय भने हामीले अपनाउन आवश्यक छ।
बालक, किशोर, युवा जस्ता सबै उमेर समूहकालाई धर्म-अधर्म, पाप-पूण्य, स्वार्थ-परोपकार, सदाचार-भ्रष्टाचार, नैतिक-अनैतिक छुट्याउन सक्ने शिक्षा दिनुपर्छ। हरेक व्यक्तिलाई खराब काम गर्दा ‘समाजले के भन्ला’ भन्ने एक प्रकारको ‘सामाजिक परिधि’ वा डर सृजना गर्न आवश्यक छ।
सदाचार सम्वन्धि हाम्रा आफ्नै परम्परा, परिपाटी र चलनलाई खण्डित गरी बिना अनुसन्धान र नेपाली समाजबारे पर्याप्त अध्ययन नगरी व्यक्ति विशेषले आफ्ना खातिर बनाएका संरचना पनि भत्काउन आवश्यक छ।
२०३२ सालमा अख्तियार दुरुपयोग निवारण आयोगको नियम संशोधन हुँदा आयोगलाई सार्वजनिक पदधारण गरेको व्यक्तिले अख्तियार दुरुपयोग गरेमा कानुनअनुसार अनुसन्धान, तहकिकात र अभियोजन मात्र हैन, सो विषयमा निर्णय समेत गर्न सक्ने अधिकार दिइयो। नेपालको संविधान २०७२ ले पनि आयोगलाई कानुनअनुसार अनुसन्धान गर्ने-गराउने अधिकार दिएको छ। तर भ्रष्टाचार रोकिएको छैन।
यहाँ बुझ्नु पर्ने कुरा के हो भने, आयोग बन्नुअघि पनि सदाचारी र भ्रष्टचारी भनेर छुट्याउने हाम्रा समाजिक चलन, नियम, परिपाटी थिए। हाम्रा ती मौलिक नियम, चलन र परिपाटीमा कमजोरी भए सच्याउँदै अगाडि बढ्न सकिन्थ्यो। तर यहाँ हाम्रा मौलिक चलनलाई पूर्ण बेवास्ता गरियो।
राज्यले ऐन-कानुन पालना राम्रोसँग नगर्ने, नगराउने र भएका मौलिक सामाजिक संरचना भत्काउँदा देश झन् बेतिथितर्फ बढ्यो। अनियन्त्रित र बिना अनुगमनका विदेशी सहयोगको अभिप्रायबारे हाम्रा नेताले कहिल्यै बुझ्ने कोशिश गरेनन्। विदेशीले अनुदान, ऋणसँगै दिने निर्देशन हाम्रा लागि उचित हुन् कि होइनन् भनेर हाम्रा अगुवाले कहिल्यै सोचेनन्। नेताहरूले निजी स्वार्थ वा निकम्मापनका कारण विदेशीले जे जे भने त्यही माने।
पछिल्लो समय भ्रष्टाचार हेर्ने निकायलाई समेत नेताहरूले आफ्ना स्वार्थ अनुकूल चलाउन थाले। अदालतले भ्रष्टाचारीलाई दिएको सफाई हेर्दा प्रष्ट हन्छ, भ्रष्टाचारमा पश्चिमेली ढाँचाको तहकिकात, मुद्दा र अदालत मात्र हाम्रा लागि पर्याप्त भएनन्।
हाम्रा लागि कुनै न कुनै हिसाबको नैतिक र सामाजिक लेखाजोखा हुने प्रणाली आवश्यक छ। अझै पनि बहुसंख्यक नेपालीमा ‘इस्टमित्र, नातागोता वा समाजले के भन्ला’ भन्ने संस्कार बाँकी छ। त्यो राम्रो-नराम्रो भिन्दै विवादको विषय होला। तर हामीले यो सामाजिक डरको उपयोग गर्नुपर्छ।
चरम व्यक्तिवादी समाजमा समेत अहिले लोकतन्त्र र तिनका राज्य संचालन प्रणालीबारे बहस भइरहेको छ। त्यसैले डढेलोले वन खाए जसरी भ्रष्टाचारले निलिरहेको नेपाललाई त्यसबाट उन्मुक्ति दिन हामीले मौलिक उपाय रोज्नुपर्छ। त्यस्ता उपाय हाम्रा चेतनामा अझै छन्। जसले हाम्रो मुलुकलाई करुणा र नैतिकताको बाटोमा हिँड्न प्रोत्साहन गर्छ।
भएका सम्पत्ति, घरजग्गा कसैले जीवन छँदै र कसैले शेखपछि मठ मन्दिर, पुस्तकालय, वृद्दाश्रमलाई दिने नेपाली अझै धेरै छन्। दान दातव्यबाट करोडौं संकलन गरेर विभिन्न परोपकारी काम गर्नेहरू हाम्रैसामु प्रशस्त छन्। घरबारबिहिन निसहारालाई आफ्नै ठानी अपनाउने छन्। बाटाका कुकुरलाई समेत कल्याण गर्ने सत्कर्मीहरू हामी माझ छन्।
कुकर्मले सिंचित पुँजीको रवाफ र परआश्रित आडम्बरले समाजलाई धमिराले झैं खोक्रो बनाउँदै छ। अब हाम्रा परम्परा र संस्कारमा रहेका विशिष्ठ कर्मलाई परिचालित गरी यो सामाजिक क्षयलाई रोक्नपर्छ। एक अर्काको रेखदेख गर्ने, मर्दापर्दा सहयोग गर्ने, पैंचो लिनेदिने, लोकलाजको ख्याल गर्ने, मरेपछि हिसाबकिताब दिनुपर्ने जस्ता नैतिक चेतनालाई हामीले छाड्ने हैन, पुनर्ताजगी गर्न आवश्यक छ।
यसका लागि कानुनसँग बाझिने वा नबाझिने दुवै किसिमका हाम्रा मौलिक परम्पराबारे देशव्यापी बहस, प्रयोगात्मक परियोजना र आत्मआलोचना शिविर चलाउन सकिन्छ।
रवीन्द्र जी,
त्यसका लागि निम्न योजनासहित म विवेकशील साझा पार्टीसँग सहकार्य गर्न चाहन्छु।
१. हाम्रो समाजमा अहिलेसम्म रहेको ठीक- बेठीक, पाप-धर्म, नैतिक-अनैतिक, सदाचार-भ्रष्टाचार जस्ता कर्मलाई छुट्याउन सक्ने सामाजिक संरचना र परम्पराबारे सातै प्रदेशमा कम्तीमा दुई-दुई पटक अन्तरक्रिया गर्ने। यसो गर्दा सकेसम्म बढी तप्का र समुदायका व्यक्तिको धारणा लिने। जस्तो विपन्न वर्ग, महिला, भौगोलिक रुपमा पिछडिएका, शारीरिक अपांगता भएका, धार्मिक अल्पसंख्यक आदि।
२. अन्तरक्रिया पश्चात समाजलाई स्वच्छ मार्गमा कायम राख्ने मौलिक उपायबारे एक बृहत राष्ट्रिय अभिलेख विकास गर्ने।
३. त्यस्ता मौलिक परिपाटी लागू गर्न संविधान र कानुनसँग नबाझिने गरी ‘सकारात्मक समाजिक परिधि’ बनाएर नागरिकले आ-आफ्ना ठाउँमा सामुदायिक स्तरमा पहल गर्ने। लागू गर्न सकिने मौलिक उपाय अविलम्व लागू गर्न सातमध्ये तीन प्रदेशका कम्तीमा दुई-दुई स्थानमा टोली गठन गर्ने।
४. सात प्रदेशमध्ये तीन प्रदेशका कम्तीमा दुई-दुई स्थानमा प्रयोगात्मक परियोजनाका रुपमा भ्रष्टाचार र अनैतिकता विरुद्ध सशक्त जन परिचालन गर्ने। परिचालन पूर्व उचित अभिमुखिकरण तालिम दिने।
५. कानुनसँग बाझिने संरचना र परम्परा अध्ययन गर्न एक सामाजिक विषेशज्ञ टोली बनाउने। कानुनसँग बाझिने त्यस्ता संरचना र परम्पराको सूची सम्बन्धित निकायमा प्रस्तुत गरी देशव्यापी बहस चलाउने।
६. पर्याप्त अनुसन्धान, बहस र दृश्टान्तबिना लागू गरिएका परिवर्तन परिमार्जित गर्न राष्ट्रियस्तरमा दवाव दिने। यसनिम्ति एक विज्ञ सांस्कृतिक समूह गठन गरी परिचालित गर्ने।
७. यी अन्तरक्रिया, प्रयोगात्मक परियोजना तथा विज्ञ समूहको भिन्नाभिन्दै कार्यक्रमको एक समष्टिगत आलेख तयार गरेपछि एक राष्ट्रिय भेला आयोजना गरी त्यसमा कार्यपत्रको रुपमा प्रस्तुत गर्ने।
८. अभिलेखका सकारात्मक सामाजिक कदम र पहललाई प्रयोगात्मक परियोजनाबाट राष्ट्रिय रुपमा प्रयोगमा लागू गर्न विभिन्न क्षेत्रमा सम्भाव्यता अध्ययन गर्ने। जस्तै स्वास्थ्य, शिक्षा आदि।
९. परोपकारी राज्यको परिकल्पना गर्ने विवेकशील साझा दलका कार्यकर्तालाई हाम्रा सकारात्मक सांस्कृतिक र नैतिक पक्ष झल्किने सामग्री प्रयोग गरी रोचक क्रियाकलापमार्फत तालिम र प्रशिक्षण दिने।
१०. दातृ संस्थाका विकास कार्य अनुगमन गर्ने समाज कल्याण परिषद जस्ता निकायलाई विशेष ग्राह्यता दिई अभिमुखिकरण गर्ने। हतौडाले लामखुट्टे नमारे झैं मौलिक संस्कारबाट विखन्डित र सामाजिकरण प्रकृया बिना ‘कपीपेस्ट’ गरिएका विदेशी औषधिले स्वदेशी रोग निको हुँदैन। यी सब कामका लागि पहिलो वर्षमा म पाँच लाख रुपैयाँसम्म सहयोग गर्न इच्छुक छु। आवश्यकता अनुसार यस विषयमा थप प्रष्ट्याउन र बहस गर्न सँधै तयार रहेको जानकारी गराउँछु।
सदा तपाईंको हितैषी,
डा. सिद्धी रमण अर्याल, बर्मा