मूलधारका राजनीतिक दलहरूको वर्षौंको अकर्मण्यता, समग्र राजनीतिप्रतिको आम निराशा र अब त साँच्ची नै विकल्प पाइयो भनेर उत्साहका स्वरहरू गुन्जिरहेकाबेला विवेकशील साझा पार्टीको फुटले केहीले ‘राहत’ अनुभव गरे पनि असीमित सम्भावना बोकेको दलबाट केही केन्द्रीय सदस्य बाहिरिनु, समग्र राजनीतिक अनि सामाजिक जीवनमै स्वच्छन्दताले ख्याती कमाएका नेताहरूलाई समेत बिनाकुनै स्पष्ट र ठोस प्रमाण लाञ्छना लगाइनुले देशमा व्याप्त दशकौंदेखिको बेथितिलाई मलजल गर्नेहरूको मनोबल बढेको छ। यस्तै देश रूपान्तरणको लागि सुसंस्कृत राजनीति पूर्वशर्त हुनुपर्छ भन्नेहरूमा भ्रम सिर्जना गरेको छ।
सुरूआती दिनदेखि नै रवीन्द्र मिश्रप्रति एकोहोरो, अनर्गल, अनुचित र असान्दर्भिक आरोप र प्रचारबाजी गरेर वैकल्पिक राजनीतिक धारप्रति निराशा छर्ने र बेतुकका शब्द खर्चदै उदाउँदो अवस्थामा निमोठ्ने वा नामेट पार्ने र सिंगो सदस्य पंक्ति र शुभेच्छुकहरूलाई दिग्भ्रमित पार्ने सिलसिलामा योजनाबद्ध रूपमै लागेका केही व्यक्ति तथा समूह पछिल्लो समयमा रवीन्द्र मिश्र मात्र नभई मुमाराम खनाल, सूर्यराज आचार्य र केशव दाहाललगायत शीर्ष र प्रभावशाली नेताहरूप्रति खनिएको देखिँदैछ।
आम नागरिक, शुभेच्छुक र सदस्य पंक्ति मै चरम निराशा सिर्जनागरी यात्राको गन्तव्य नआउँदै अलमल पार्ने र मूलधारका राजनीतिक दललाई सहजता सिर्जना गर्न लागिपर्नेहरूको मनोबल पछिल्ला दिनमा बढ्नु र सामाजिक अनि राजनीतिक छवि नै पथभ्रष्ट र मतिभ्रष्ट भएकाहरूलाई नस्वीकारी उपाय छैन भनी घुमाउरो पाराले बारम्बार पटाक्षेपपूर्ण र नियोजित तवरले पेश हुनु बिडम्बनापूर्ण छ।
फुटेर गएको सानो समूह राजनीतिक प्रभाव सिर्जना गरी राज्यतहमा हस्तक्षेपकारी भूमिका खेल्ने तहमा पुग्नेभन्दा स-साना काममै रमाएर राजनीतिक बहसमा उत्रिने सम्भावना हराउँदै जानु, आफूलाई वैकल्पिक नै दाबी गर्ने नयाँ शक्ति पार्टीले गहनतापूर्वक वैकल्पिक कार्यभार ग्रहण गर्न नसक्नु र पछिल्ला दिनहरूमा विवेकशील साझाप्रति आमनिराशा सिर्जना गरिनुले राजनीतिमा साँच्ची नै विकल्प खोज्नेहरूलाई अन्योलमा पारेको छ।
यो भ्रम जसरी पनि चिरेर अगाडि बढ्नु छ। यस जटिल मोडमा सुसंस्कृत राजनीति स्थापित गर्ने यात्रालाई निश्कर्षमा पुर्याउने अभिभारा मिलेर पूरा गरौं।
सुरूका कठिन २/४ खुड्किलाहरूमा दरिलो गरी अगाडि बढ्नुस् र राजनीति यस्तो निष्ठा र नैतिकताले पनि भरिपूर्ण हुन्छ भन्ने दृष्टान्त पेश गर्नुस्।
शुभकामना छ।
सुरूका चरणमा सुविचारित र लयबद्ध पाइलाहरूमा अविचलित भएर हिँड्नुभयो सही राजनीतिक धार पछ्याउँदै सुसंस्कृत राजनीतिमा जोडिन चाहने तपाईंले भन्नु भएजस्तै ‘देश बनाउन देशभन्दा ठूलो मुटु भएका’ नेपाली मनहरू एकाकार हुने नै छन्।