सेतोपाटी डिजिटल पत्रिकामा चैत १० गते प्रकाशित “भ्रष्टाचार मुद्धा विचाराधीन व्यक्तिलाई मुख्यमन्त्रीले वनाए सल्लाहकार” भन्ने शिर्षकमा प्रकाशित समाचारप्रति मेरो गंभीर ध्यानाकर्षण भएको छ।
म विगत २०६६ साल बैशाख ३ गते देखि २०६८ मंसीर १९ सम्म मात्र समाज कल्याण परिषदको कोषाध्यक्ष पदमा कार्यरत थिएँ । त्यसपछि मेरो कार्यवधि सकिएको हो । म कोषाध्यक्षको पद छाडेको नौ महिना पश्चात मिति २०६९।०५।२० गते समाज कल्याण परिषद्को कार्य सञ्चालन समितिले भृकुटीमण्डप स्थित फनपार्क मेला क्षेत्र रहेको जग्गा भाडामा दिने निर्णय गरेको हुँदा त्यसमा मेरो कुनै भुमिका नरहेको स्पष्ट गर्न चाहन्छु । अतः मैले समाज कल्याण परिषदले भृकुटीमण्डपस्थित फनपार्क मेला क्षेत्र रहेको जग्गा भाडामा लगाउँदा प्रचलित मापदण्ड र प्रकृया विपरीत गरी अनियिमतता गरेको भन्ने आरोप झुठ्ठा हो । यसरी नौ महिना अघि नै समाज कल्याण परिषद्बाट पद तथा जिम्मेवारी छोडिसकेको ब्यक्तिले नौ महिना पछि भएको निर्णयमा भ्रष्ट्राचार गर्ने भन्ने सवाल नै हुँदैन ।
मेरो मुद्वामा तथ्यहरुको विश्लेषण नगरि हचुवाको भरमा भए गरेका कुराहरु लुकाई वास्तविकतालाई ढाकछोप गरि प्रतिवेदन पेश गरिएको भन्ने आरोप लगाईएको हो। सो सम्बन्धमा विशेष अदालतबाट २०७५ फागुन २६ गतेको आदेशमा “प्रतिवेदन दिएको मात्र कारणले यी प्रतिवादीले आरोपित कसूर गरेका रहेछन् भन्न सकिने अवस्था तत्काल प्राप्त प्रमाणबाट देखिन आएन भन्ने उल्लेख छ ।” त्यो आदेश अनुसार मलाई बिना धरौटी साधारण तारेखमा छोडिएको हो । यही कुराबाट पनि स्पष्ट हुन्छकी म माथि लगाईएको आरोप सरासर झूठ्ठा र गलत होे । मेरो नाममा कुनै एक पैसा पनि विगो दाबी गरिएको छैन।
तर तपाईको संचारमाध्यममा “अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समाज कल्याण परिषद्का तत्कालीन कोषाध्यक्ष गाहा सहित ९ जनाविरुद्ध जनही ३१ करोड ५२ लाख बिगो दाबीसहित गएको २२ माघमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।” भन्ने समाचार अनुसार मेरो नाममा कहाँ बिगो उल्लेख गरिएको छ । यसरी हुँदै नभएको कुरालाई मेरो चरित्र हत्या गर्ने गरी मलाई ३१ करोड ५२ लाख १७ हजार ६ सय पचहत्तर रुपैंया २० पैसा हिनामिन गरिएको भन्ने आरोप किन लगाईयो ? ९ महिना अघि नै पद छोडेको व्यक्तिलाई ९ महिना पछि सम्म पनि पदमा वहाल रहेको भन्ने जस्ता भ्रामक समाचार किन संप्रेशण हुन्छ ? यस्तो संवेदशील विषयमा सम्वन्धित व्यक्तिको प्रतिक्रिया समेत नलिई समाचार प्रकाशन गर्दा तपाईको संचारमाध्यमको विश्वसनीता र तटस्थतामा समेत गम्भीर प्रश्न उठदैन? तसर्थ तपाईको यो प्रतिष्ठित संचार माध्यमले यसबारे सत्यतथ्य वुझी खण्डन प्रकाशन गरिदिनुहुन अनुरोध गर्दछु।
रत्न गाहा मगर
खरिगैरा –४ दैलेख ,
हाल : बिरेन्द्रनगर नगरपालिका –६, सुर्खेत ।