कुरा आजभन्दा ४० वर्ष अघिको हो। त्यति बेला मैले भर्खरै एसएलसी पास गरेको थिएँ। रिजल्ट आउनासाथ जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउन गएँ । नागरिकता हातमा परेपछि स्कूलबाट पास भएको सर्टिफिकेट र मार्कसिट लिएँ र सोझै जिल्ला शिक्षा कार्यालयमा जागिर माग्न गएँ।
जिल्ला शिक्षा कार्यालयले तुरुन्त छिमेकी गाउँको स्कूलमा प्राथमिक शिक्षकको पदमा अस्थायी नियुक्ति दियो। त्यति बेला मेरो तलब थियो महिनाको २५५ रूपैयाँ। अर्थात दिनको ८ रूपैयाँ ५० पैसा। त्यति बेला एक किलो मन्सुली चामलको मूल्य करिब ३ रूपैयाँ थियो। एक दिनको तलबले चामल जम्मा ३ केजी जति आउँथ्यो।
अहिले त्यही गणस्तरको चामललाई ७० रूपैयाँ पर्ला। अहिले त्यही तहको शिक्षकको बढेको तलब भत्ता गरी २८ हजार ४ सय रूपैयाँ छ। अर्थात दिनको ९ सय ४७ रूपैयाँ छ। त्यसले ७० रूपैयाँ पर्ने चामल १३.५० केजी आउने रहेछ। त्यति बेला घरबाट सदरमुकाम जान १० रूपैयाँ भाडा लाग्थ्यो। एक दिनको तलबले पुग्दैन थियो।
अहिले सदरमुकाम जान ७५ रूपैयाँ जति लाग्छ। एक दिनको तलबले १२ पटक आउन जान पुग्छ। सदरमुकाममा जाँदा खाना छाकको ५, सुतेको ५ रूपैयाँ गरी दुई छाक खान र एक रात सुत्न दुर्इ दिनको तलब लाग्थ्यो। अहिले खानाको १५० रूपैयाँ र सुतेको पनि १५० रूपैयाँ जति लाग्छ। एक दिनको तलबले दुर्इ दिन खान बस्न पुग्छ।
त्यति बेला ट्रङकल गरेको सायद एक मिनेटको ९ रूपैयाँसम्म थियो कि जस्तो लाग्छ। एउटा टु इन वान रेडियो क्यासेट प्लेयरको ३ हजार पर्थ्यो। पुरै एक वर्षको तलब। नयाँ साइकललाई १ हजार रूपैयाँ भन्दा बढी पर्थ्यो, ५ महिनाको तलब। नयाँ होण्डा बाइक किन्न २५ हजार पर्थ्यो, पुरै ८ वर्षको तलब। अहिले त्यो बेलामा चल्तिमा रहेको क्यासेट प्लेयर बजारमा नबिक्ने भए पनि त्यसलार्इ ३ हजारभन्दा बढी पर्दैन होला । अर्थात एक वर्षको तलब खर्च हुने रेडियो अहिले ३ दिनको तलबले आउँछ।
५ महिनाको तलबमा आउने साइकल किन्न अहिले ७ दिनको तलब भए पुग्छ। पहिले ८ वर्षभन्दा बढीको तलबले मात्र किन्न सकिने होण्डा मोटरसाइकल अहिले ८ महिनाकै तलबले आउन सक्छ। त्यति बेला हाम्रो गाउँघरतिर जागिर खाने शिक्षकलार्इ महिनाभरिको कमाइले चामल किन्न पनि पुग्दैन थियो।
सबै जसोका ५/६ जना बच्चा हुन्थे। धेरै जसो कर्मचारीका स्वास्नी, छोराछोरी दाउरा लिन आफै जंगल जान्थे। गाउँलेहरूको जमिन मागेर तरकारी आफै लगाउँथे। त्यति बेला सबैको फुसको घर हुने हुनाले घरभाडा पनि खासै तिर्दैनथे। कतिले अरुको जमिन बन्धकी वा अधियाँमा लिएर खेतिपाति समेत गर्थे। कुखुरा बाख्रा पालेर कर्मचारीका परिवारले आफ्नो खर्च चलाउँथे । त्यस बेला खरिदार सुब्बाको तुलनामा अधिकृतहरुको तलब अलि बढी हुन्थ्यो।
हामीकहाँ सधैँ महंगीको कुरा उठ्छ । महंगी भनेको के हो ? हामी नेपालीहरुको आम्दानी पहिलेको तुलनामा अहिले बढी नै छ। अरु देशको तुलनामा कम भए पनि ३०-४० वर्ष अघिको हाम्रो तुलनामा ३/४ गुणा बढेकै छ। देशको विकासको गति राम्रो भएको भए पक्कै पनि अझ धेरै बढ्ने नै थियो। देशको विकासको लागि सरकारले ठूलो रकम खर्च गर्छ। यस्तो खर्च आम्दानी भन्दा बढी नै हुने गर्छ। त्यसैले होला हाम्रो पैसाको मूल्य हरेक वर्ष घट्न जान्छ।
प्राय पैसाको मूल्य जति घट्छ त्योभन्दा धेरै मानिसको आम्दानी बढेकै हुन्छ। यहाँ खरिदारकै कुरा गरौँ गएको ४० वर्षमा २५५ रूपैयाँबाट २८ हजार ४ सय रूपैयाँ पुगेको छ। तलबको तुलनामा सामान र सेवाको मूल्य कमैछ। तर पनि मानिसहरु महंगीकै कुरा गरेकै हुन्छन्। महंगीकै चिन्ता गरेका हुन्छन्। खासमा हाम्रो आम्दानी र खर्चको तुलना गर्नु पर्न होइन र?