म जन्मँदै न्यून दृष्टि भएको व्यक्ति हुँ। बाक्लो र भद्दा चश्मा प्रयोग गरी आँखा नजिकै लगेर आफ्नो दैनिक काम सम्पादन गर्दै आएको छु।
२०७५ साल मंसिरमा मेरो आँखाको दृष्टिमा एकाएक अवरोध आयो। नेत्ररोग विशेषज्ञलाई परीक्षण गराउँदा आँखाको रेटिनाको पर्दा उप्किएको र त्यहाँ पानी जमेको पत्ता लागेको थियो। आँखाको पर्दाको जटिल अपरेसन गरेर डाक्टरको सल्लाह अनुसार रेटिनाको पर्दा टाँस्न आँखाभित्र सिलिकन आयल राखियो। पर्दा नटाँसिएसम्म टाउको निहुराएर बस्नुपर्ने र राति सुत्दा घोप्टो सुत्नुपर्ने, हिँड्दा निहुरिएर हिँड्नु पर्ने कठोर परिस्थितिसँग सामना गरिरहेको छु।
अहिले मेरो आँखामा दृष्टि लगभग छैन, केवल अँध्यारो उज्यालो र सेता वस्तुहरू मात्र पहिचान गर्न सक्छु। भएको आँखाको दृष्टि पनि हराएपछि म विक्षिप्त र निराश छु। जे–जस्तो अवस्थामा रहे तापनि विगत २५ वर्षदेखि शिक्षण पेसामा संलग्न छु।
अरनिको माध्यमिक विद्यालय राजघाटमा सेवारत छु। शिक्षक हुनाले सधैंझैं मेरो आफ्नो व्यक्तिगत ल्यापटप साथमा लिएर विद्यालयमा गई विगत वर्षमा मलाई दिइएको रुटिन अनुसार नै दृष्टिविहिन विद्यार्थीहरूलाई पढाउँछु। अडियो बुक (बोल्ने किताब) र प्रोजेक्टरको प्रयोग गरी पावरप्वाइन्ट वा स्लाइडको माध्यमबाट विद्यार्थीहरूलाई पढाइरहेको छु।
मलाई सान्त्वना, सहानुभूति र सहयोग साथै अपाङ्गतामैत्री वातावरण हुने हो भने नेपाली विषय पढाउन कठिनाइ छैन। म यस्तो भए पनि म मा साहस छ, क्षमता र प्रतिभा पर्याप्त छ। विद्यार्थीहरूलाई कक्षामा गएर पढाएदेखिको बाँकी समय म कम्प्युटरमा बसेर विद्यालयका सम्पूर्ण काम गर्न सक्षम छु।
यो विद्यालय नेपालभरिका २०० विद्यालयमध्येको नमूना विद्यालय हो। विद्यार्थी, शिक्षक र अभिभावकहरूका लागि सहयोग तथा सोधपुछ कक्षको पनि आवश्यकता छ। कम्प्युटर प्रशिक्षकको रुपमा समेत काम गर्नसक्ने दक्षता म सँग छ। यसै विद्यालयले पठाएर शैक्षिक तालिम केन्द्र इनरुवाले दृष्टिविहीन शिक्षकहरूका लागि सञ्चालन गरेको टिपिडि खाकामा आधारित दृष्टिविहीन शिक्षकहरूको तालिममा सहभागी भई तालिमका सबै मोडलहरू समेत पूरा गरेको थिएँ।
त्यसैले, दृष्टिविहीन शिक्षकले कसरी कक्षा शिक्षण गर्नुपर्छ भन्ने कुराको ज्ञान मलाई छ। यति मात्र होइन, आँखा नदेख्ने व्यक्तिले प्रयोग गर्ने दृष्टिवाचक सफ्टवेयर (जज) को सहायताले आँखा देख्ने व्यक्तिले भन्दा पनि छिटो र शुद्ध ढङ्गले कम्प्युटर चलाएर जस्तासुकै काम गर्न मजाले सक्छु। विद्यालयमा कम्प्युटर राखेदेखि मैले नै कम्प्युटरका काम गर्दै आएको र विद्यार्थीहरूलाई कम्प्युटर विषय पनि चित्त बुझ्ने गरी पढाएको छु।
म यसरी काम गरिरहँदा मेरो आँखाको दृष्टिको कारण देखाइ मेरो क्षमता र प्रतिभाको अपमान विद्यालयले गरेको छ। आँखाको दृष्टि गुमेको पीडा र मानसिक तनावबाट मुक्त भई सामान्य जीवनमा फर्किन नपाउँदै उपचारको क्रममा रहेकै बखत विद्यालय प्रशासनले व्यवहार गरेको छ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा अपाङ्गता भएका व्यक्तिहरूलाई उनीहरुको क्षमता चाहना र रुची अनुसारको काममा लगाई अपाङ्गता मैत्री तरिकाले दैनिक जीवन यापनमा सहयोग गरी स–सम्मान वातावरणको निर्माण बनाउनुपर्ने मान्यतालाई ख्यालै नगरी प्रतिशोधको विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूलाई जीवनाथले विद्यार्थी चलेको देख्दैन, नेपालीमा ह्रस्व दीर्घ हेर्न सक्दैन, बोर्डमा लेख्न सक्दैन र होमवर्क दिन र जाँच्न पनि सक्दैनजस्ता अत्यन्तै भ्रामक कुरा सुनाउने र समितिका मानिसहरूलाई म माथि थप तनाव हुने कुरा बोल्न प्रोत्साहित गरिँदा म अत्यन्तै पीडित बन्न पुगेको छु।
कहिले राजीनामाको माग गर्ने, कहिले आफू कमजोर छु जस्तो लाग्छ भने चुप लागेर बस्नु भनी धम्क्याउने, शिक्षकहरूको नेम लिष्टबाट मेरो नाम हटाई सादा कागजले मेरो नाम छोपिदिने र आर्थिक सेवा सुविधाबाट मलाई मात्र भेदभाव गरिनुले मेरो आत्मवल झन् गिरेको छ।
म कसरी कक्षामा शिक्षण गर्छु, बोर्डमा कसरी लेख्छु र कसरी होमवर्क परीक्षण गर्छु भन्ने कुराको अवलोकन र अनुगमन प्रधानाध्यापकले एक दिन कक्षा कोठामा गएर गर्नुभएको छैन। अध्यापन कार्यमा भएका समस्या, समाधान र सुझावको बारेमा म सँग कुनै छलफल र सोधखोज पनि गरिएको छैन।
यति मात्र होइन, आँखा नदेख्ने व्यक्तिले कम्प्युटर चलाउँदा कम्प्युटरको आवाज (जज) को सहायताले चलाउनु पर्ने र त्यो ठाउँ शान्त हुनुपर्ने हुनाले मैले कम्प्युटर चलाउने शान्त कोठाबाट वर्षौंदेखि चलाइरहेको कम्प्युटरको प्रिन्टर कोठाबाट हटाइदिएको अवस्था छ। जुन प्रिन्टरबाट विद्यालयका आवश्यक कागज पत्रहरुका साथै शिक्षक, विद्यार्थी र अभिभावकहरूलाई म बाट सेवा र सहयोग पुगिरहेको थियो।
स्मरणरहोस्, पहिले त म आँखा नजिकबाट मसीले पनि लेख्न सक्थें। अब त मेरो कपी, कलम र मसी भनेकै प्रिन्टर हो। यस्तै, समयमा मेरो कोठाबाट प्रिन्टर हटाइ अपाङ्गतामैत्री वातावरणमा असर पुर्याइदिएको, कोठाबाट प्रिन्टर हटाइ सो ठाउँमा मेरो आँखा अपरेसन गरेको आलो घाउलाई नै असर हुनेगरी हेभी इन्भर्टर राखिदिइएको छ। त्यसको एसिडले मलाई अझ क्षति पुर्याएको छ। यो प्रचण्ड गर्मीमा मेरो कोठाबाट पंखा हटाइदिएकोले प्रधानाध्यापकको टेबलममा गएर कुरा राख्दा संस्थाभन्दा व्यक्ति ठूलो होइन, तल शिक्षक कोठामा गएर बस्, प्रिन्टर यहाँ खाँचो भयोजस्ता क्षुद्र बचन लगाउँदा थप तनाव भएको छ।
यो विद्यालय नेपालकै नमूना विद्यालय भएकाले विद्यालयमा कम्प्युटर तथा आइसिटी व्यवस्थाका लागि १० लाख रुपयाँको पनि व्यवस्था छ। तर, सो कुरालाई व्यवस्थापन नगरी दृष्टिविहीन व्यक्तिले वर्षौंदेखि प्रयोग गरी विद्यालयलाई सेवा पुर्याएको प्रिन्टर हटाइदिएकोमा ज्यादै दुःखी छु। अहिलेसम्म विद्यालयले प्रिन्टर खरिद गरेको छैन। भइरहेको प्रिन्टर पनि दाताले दिएको प्रिन्टर हो।
यो त भयो भयो।सरकारले दिएको तलब–भत्तामा माथिल्लो कक्षामा पढाएबापत, प्रोक्सी कक्षा लिएबापत, तहगत संयोजकबापत, विद्यार्थी हाजिरीबापत, परीक्षा समितिमा बसेबापत र पिटीबापत विभिन्न शीर्षकमा मासिक ४,५००, खाइपाई आएको तलब–भत्तामा थप १५,००० आर्थिक सुविधाबाट म एक जना अपाङ्गता भएको शिक्षक मात्र बञ्चित भएकोले म माथि ठूलो भेदभाव भएको छ।
मैले पढाउने पिरियड भन्दाबाहेकको समयमा म कम्प्युटर कक्षमा बसेर विद्यालयका काम गर्न र विद्यार्थी, शिक्षक तथा अभिभावकहरूलाई सहयोग र परामर्श दिने सहयोग कक्षमा बसेर काम गर्न सक्छु। गरिरहेको पनि छु भन्दा मलाई मात्र थप आर्थिक सुविधाबाट बञ्चित गरिएको छ।
अतः उच्च मनोबलका साथ शिक्षण कार्यमा संलग्न रहन प्रोत्साहित गर्दै अपाङ्गता प्रोत्साहन भत्ताबापत मासिक २,५०० रुपयाँ उपलब्ध गराई अध्यापन कार्यबाहेकको बाँकी समय पहिलेझैं कम्प्युटर तथा सहयोग कक्षमा बसेर काम गर्ने वातावरण निर्माण गरिदिनुहुन सबैसँग सहयोगको आशा राख्दछु।
(खतिवडा अरनिको माध्यमिक विद्यालय उर्लाबारी- ८, मोरङका शिक्षक हुन्)