सम्माननीय प्रधानमन्त्रीज्यू,
नढाँटेर भन्नु पर्दा म तपाईंको समर्थक होइन।
यसको अर्थ म अरू कुनै नेता या दल विशेषको समर्थक पनि होइन। म त देशमा सुशासन, विकास, स्थायित्व र शान्ति चाहने एक आम नेपाली नागरिक हुँ।
त्यसैले तपाईंको समर्थक नहुँदानहुँदै पनि नागरिकको हैसियतले केही कुरा लेख्दै छु। आशा छ, यी मेरा कुरा तपाईंसम्म पुग्नेछन् र यिनलाई तपाईंले गम्भीरतापूर्वक लिनुहुनेछ।
२०७४ फागुनमा तपाईं प्रधानमन्त्री हुँदा धेरै नेपाली हर्षित थिए। हर्षित हुनुको कारण थियो- अब देशमा स्थायी सरकार बन्यो।
स्थायी सरकारले शान्ति र सुशासन कायम गर्नेछ अनि तीव्र गतिमा विकास हुनेछ। जनताका वर्षौंदेखि थाँती रहेका चाहना पूरा हुनेछन्। हामी पनि देशविदेशमा नेपाली भनी शिर ठाडो पारी हिँड्न सक्ने हुनेछौं।
तपाईँको सरकार बनेको डेढ वर्ष हुन लाग्यो। यो अवधिमा सरकारले अवश्य पनि केही निकै राम्रा काम गरेको छ। तर निष्पक्ष भएर भन्नुपर्दा जनतालाई तपाईंले जुन विकास र सुशासनका सपना देखाउनु भएको थियो नि त्यसमा भने नगन्य काममात्र भएका छन्।
सामान्यत: सरकारले ९९ प्रतिशत राम्रो काम गर्यो र १ प्रतिशतमात्र गल्ती गर्यो भने विपक्षीमात्र होइन जनताले पनि त्यही १ प्रतिशत गल्तीलाई देख्छन्।
तपाईं नेतृत्वको सरकारले त चुनावताका तपाईंको गठबन्धनले वाचा गरेकामध्ये २० प्रतिशत काम पनि गर्न सकेको छैन।
त्यसैले अहिले जनताले तपाईंप्रति गरेको आशामा पहिरो आउलाजस्तो भएको छ। तपाईंको कुनै बेलाको त्यो ज्वाजल्यमान पहिचान अहिले निभ्न लागेको दीपजस्तो भएको छ। नाकाबन्दीको बेला तपाईंभित्र जनताले देखेको नायक डगमगाउन थालेको छ। तपाईंको नायकत्वसँगै नेपाल समृद्ध हुने सपनामा फेरि ग्रहण लाग्लाजस्तो भएको छ। नेपाली राजनीतिमा जुन जोगी आए पनि कानै चिरेको भन्ने उखान फेरि एकपटक चरितार्थ हुन थालेजस्तो छ।
चार वर्षअघि भारतले नाकाबन्दी लगाउँदा तपाईंले देखाएको साहस र बाँडेका सपनाहरू सुन्दा अधिकांश नेपालीले देश विकास गर्न सक्ने नेता पायौं भन्ने लागेको थियो। अरूले केही गर्न नसके पनि केपी ओलीले चाहिँ अवश्य गर्नेछन् भन्ने सबैले आशा गरेका थियौं। तर समयले नेपालीहरूको त्यो आशामा फेरि तुषारापात गरिदिन लागेजस्तो छ।
प्रधानमन्त्रीज्यू, अझै पनि केही बिग्रिसकेको छैन। मलाईजस्तै धेरै नेपालीलाई विश्वास छ- यदि तपाईंले चाहनुभयो भने फेरि नेपाली जनताको मन जितेर स्थायी सरकार र विकासको सपना पूरा गर्न सक्नुहुन्छ।
मलाई यो पनि थाहा छ कि तपाईंमा त्यो साहस छ, क्षमता छ, अनि अहिले तपाईंका लागि त्यो काम पूरा गर्ने माहौल पनि छ।
तपाईंले चाहनुभयो भने अहिले नकारात्मक बन्न लागेको समूह केही समयमै फेरि तपाईंको प्रशंसा गर्न थाल्नेछ।
तर अहिलेको आशंका त्यत्तिकै प्रशंसामा बदलिने छैन। केही त अवश्य गर्नुपर्छ। भन्नलाई जति सजिलो छ तर गर्न त्यत्तिकै गाह्रो! असम्भवचाहिँ होइन, अझ त्यसमा पनि तपाईंजस्तो दृढ इच्छाशक्ति र राजनीतिक शक्ति भएको नेताको लागि त्यो असम्भव हुँदै होइन।
केही साना कुराबाट सुरू गरेर बिस्तारै जनताको मन जितेर तपाईंले ठूल्ठूला काम गर्न थाल्नुभयो भने जनताले तपाईंलाई अवश्य साथ दिनेछन्।
जनताले सुशासन देख्न चाहेका केही काम गरेर देखाउन सक्नुभयो भने हामी मान्नेछौं कि तपाईं देश र जनताप्रति समर्पित हुनुहुन्छ र साँच्चै नै काम गर्न चाहनुहुन्छ।
प्रधानमन्त्रीज्यू, के तपाईं यी काम गर्न सक्नुहुन्छ?
- सुन काण्डमा र वाइडबडी जहाज खरिदमा मुछिएकालाई सार्वजनिक गर्नुस् चाहे त्यो तपाईंको दलको या विपक्षी दलको ठूलै नेता नै किन नहोस्।
- निर्मला पन्तका बलात्कार र हत्याराहरूलाई सार्वजनिक गर्नुस्।
- बालुवाटारको जग्गा प्रकरणमा नेकपाका महासचिव बिष्णु पौडेल मुछिएका छन्। उनलाई निलम्बन गरेर र बालुवाटार काण्डको निष्पक्ष छानबिन गर्नुस्।
- काठमाडौंका मुख्य सडक अझ त्यसमा पनि कलंकीदेखि नागढुंगाको बाटो युद्धस्तरमा चौबिसै घन्टा काम लागेर पूरा गर्नुस्। त्यो काम एक सातामा सकिने काम हो।
- आफू र आफ्ना मन्त्रिहरुलाई जथाभाबी बोल्न रोक्नुस्। बोलेको काम पूरा गरेर देखाउनुस्।
यति पनि गर्न सक्नुहुन्न भने प्रश्न तपाईंतिर सोझिनेछ। लहरो तान्दा पहिरो जाने र त्यही पहिरोभित्र आफू पनि पुरिने डरले तपाईं सबै कुरा देखेर पनि नदेखेझैं गरिरहनु भएको छ भन्ने आरोप प्रमाणित हुनेछ।
माथि भनिएका सबै काम तपाईंले गर्न नसक्ने काम होइनन्।
ती काम सुरू गर्नुभयो भने तपाईंका सबभन्दा नजिकका सहयोगी नै ठूला विरोधी होलान्। तपाईं आफ्नै दलमा एक्लिनु होला। राम्रो काम गर्दा एक्लिनु पर्यो भने त्यो तपाईंका लागि शर्मको होइन गर्वको कुरो हो।
विपक्षीहरूले पनि तपाईंलाई निशाना बनाउलान्। तपाईंको सरकार ढाल्न कोशिश गर्लान्। तपाईंको दल फुटाउने तानाबाना बुन्लान्। तर तपाईंका लागि सरकारको भविष्य ठूलो कि देशको भविष्य ठूलो? तपाईंको दल र त्यसका कार्यकर्ता महत्वपूर्ण कि जनता महत्वपूर्ण? त्यसैले देश र जनतालाई मुटुमा राखेर काम गर्नुस् बाधा अड्चनहरू आफैं हट्दै जानेछन्।
तपाईंलाई अझै सम्झना होला तत्कालीन एमालेको अध्यक्षमा विजयी हुँदा तपाईंले भन्नुभएको थियो- यो मेरो नाफामा आएको जिन्दगी हो, त्यसैले मैले देश र जनताको लागि यो समय अर्पण गर्छु।
अब त्यो भनाइ सही मानेमा चरितार्थ गर्ने समय आएको छ। कसको समय कति छ कसलाई पो थाहा हुन्छ र! पछि पछुताउनुभन्दा अहिले समय हुँदा देश र जनताको लागि केही गर्नुस्।
तपाईंलाई लागेको होला मैले अहिले पनि त आफ्नो बलबुताले भ्याएको गरिराखेको छु, कुनै कसुर बाँकी राखेको छैन।
तर तपाईंको त्यो अनुभव जनताको अनुभव होइन। तपाईंले गरेका काम जनताले मूल्यांकन गर्ने हो र अहिले जनताको मूल्यांकनमा तपाईं अनुत्तीर्ण हुन लाग्नुभएको छ। बालुवाटार धाइरहनेहरूका गुणगान सुनेर मख्ख नपर्नुस्, उनीहरू तपाईं र देशको हितभन्दा कसरी आफ्नो स्वार्थपूर्ति हुन्छ भन्नेतिर लागेका छन्।
प्रधानमन्त्रीज्यू, म तपाईंसामू अहिले दुई विकल्प देख्छु। देशको लागि केही गरेर जनताको हृदयमा नायक बन्ने र इतिहासको पानामा सुनौलो अक्षरले नाम लेखाउने वा पहिलेका प्रधानमन्त्रीजस्तै आफ्नो गुटको स्वार्थमा अल्मलिएर आफू पनि अदुरदर्शी बन्ने र देशलाई पनि अस्थिरता र संक्रमणको चक्रमा फसाइरहने। रोजाई तपाईंको।