प्रधानमन्त्रीज्यू, देशमा हल्ला छ- ओलीको दम्भ जति छ उति नै कमजोर शरीर छ।
तपाईंको कमजोर शरीर नेपालमै उपचार गरे हुन्न? नेपालको प्रविधि, अस्पताल वा डाक्टरमध्ये हजुरलाई कसैको विश्वास लाग्दैन? कि तपाईंलाई नेपालका चिकित्सकको विश्वास लाग्दैन?
नेपालमा चिकित्सकहरूको गुनासो पटक-पटक सार्वजनिक भइरहेकै छ। विभिन्न सञ्चारमाध्यममा उनीहरू नेताको शरीरमा आएको समस्यासँगै सार्वजनिक हुन्छन्।
‘हामी दिनप्रतिदिन अब्बल हुँदै गइरहेका छौं तर राजनीतिक नेतृत्वले नेपाली चिकात्सा क्षेत्रमा भ्रम पैदा गरिदिने गरेको छ,’ यो उनीहरूको गुनासो हो।
जसलाई नेपाली नागरिक ‘ठूलाबडा’ ठान्छन्, उनीहरू नै सामान्यभन्दा सामान्य रोगको उपचार गर्न विदेशिने चलन छ। नेपालमा चिकित्सा क्षेत्र वा अस्पताल जति नै अत्याधुनिक भए पनि राजनीतिक नेतृत्वबाट कदर हुन सकेका छैनन्।
आलोचना के हुने गर्छ भने, नेताहरू सरकारी खर्चमा विदेश उपचार गराउन जाने प्रवृत्ति छ।
प्रधानमन्त्रीज्यू, केही मूलधारका पत्रपत्रिकाले तपाईंको स्वास्थ्यसँग जोडेर एउटा महत्वपूर्ण विषय उठाए।
एक वर्षमात्र राजनीतिक नेतृत्वले गर्दै आएको उपचार खर्च नेपालकै अस्पताल सुधारमा लगाउने हो भने कुनै एक अस्पताल अहिलेको भन्दा झन्डै ६० प्रतिशत सुधार गर्न सकिने रहेछ।
यो त उपचार शीर्षकमा भएको खर्च मात्रै भयो, अझ मन पनि स्वस्थ्य बनाउने हो भने सोच्नुहोस् त!
प्रधानमन्त्रीज्यू, तपाईं त्यो आदर्श बन्न किन चुक्नु हुन्छ? यतिबेला तपाईंको हातमा देशको बागडोर पनि छ। तपाईंले चाहनुभयो भने त्यो अस्पताल बनाउन सक्नुहुन्न, जहाँ ढुक्कले आफ्नो उपचार गर्न सकियोस्?
तपाईं आफ्नो स्वास्थ्य उपचारका क्रममा विभिन्न देश भ्रमण गर्नुहुन्छ। यसैक्रममा पछिल्लो समय सिंगापुर जानुभयो। तपाईंको स्वास्थ्यमा छिट्टै सुधार आओस् भनेर सोच्नेमध्ये एउटा म पनि हुँ। सँगै प्रतिपक्षीका केही मुद्दा पनि मलाई ठीक लागे। मैले बुझ्दा शब्द सच्याएर बुझें। तर, सारमा कुरा उही हो तपाईंको उपचार नेपालमा किन हुन सक्दैन? जब तपाईंको उपचार नेपालमा हुन सक्दैन, बाँकी नेपालीको उपचारचाहिँ नेपालमा कसरी सम्भव छ?
हामीले के बुझ्ने? आम नागरिकको उपचार यसकारण मात्र सम्भव छ कि उनीहरूलाई उपचार खर्च सरकारले दिँदैन! कि त्यो यसकारण सम्भव छ, उनीहरूको पहुँच नेपाली अस्पतालमा मात्र पुग्छ। अथवा यसो पनि भन्न सकिएला? कि आम नागरिक जीवित रहनु वा नरहनुले खासै अर्थ राख्दैन! त्यसो होइन भने के?
एक पटक कुनै विदेशी प्रभावशाली पत्रिकाले नेपालका प्रधानमन्त्रीको फोटो ‘फ्रन्ट पेज’मा छापिदिओस्। त्यो पनि राम्रै ‘स्पेस’ दिएर। त्यो प्रधानमन्त्री केपी ओलीमात्रै होस् भन्ने होइन। शेरबहादुर देउवा, पुष्पकमल दाहाल वा बाबुराम भट्टराई जो होस्। र, लेखिदियोस्, ‘यी नेपालका ती प्रभावशाली प्रधानमन्त्री हुन्, जसले आफू उपचार गर्न योग्य अस्पताल आफ्नो देशमा बनाउन सकेनन्।’ वा लेखिदिओस्, ‘सामान्य स्वास्थ्य परीक्षणका लागि नेपालका प्रधानमन्त्री फलानो देशको फलानो अस्पतालमा।’ के फरक पर्छ शब्दले चाहे त्यो जटिल होस् वा सरल। फरक त त्यो विषयले पार्छ, जो नभने पनि उठिरहेको हुन्छ– नेपालको नेतृत्व वर्गले विश्वास गर्ने अस्पताल नेपालमै छैन।
एकपटक पूर्वप्रधानमन्त्री झलनाथ खनाल उपचारका लागि अमेरिका पुग्नु भएको थियो। उहाँ पहिलो नेता भने होइन, जो उपचारका लागि विदेश जान्छन्। नेपाली अस्पतालको विश्वास नगरे जसरी अमेरिका पुग्नुभएको उहाँ ‘भिटामिन डी’को कमी भएको रिपोर्ट लिएर फर्किनुभयो। खनालले सामाजिक सञ्जालमा ट्रोल र बजारमा आलोचनाको शिकार बन्नु पर्यो। उहाँमाथि सहनै नसकिने तुच्छ शब्द प्रहार भए।
मलाई सम्पूर्ण तथ्यांक थाहा छैन। तर, केही धेरै आलोचित घटना भने याद छन्। केही समयअघि तत्कालीन रक्षामन्त्री भीमसेनदास प्रधानलाई मुटुको उपचार गराउन भन्दै सरकारले २५ लाख दियो। झन्डै २५ दिन उहाँ आलोचनाको शिकार हुनुभयो, जसको दाग सरकारलाई पनि लाग्यो। त्यस्तै घटना हो, कांग्रेस नेतृ सुजाता कोइरालाको पनि। उहाँ पनि राज्यकोषबाट ५० लाख लिएर स्तन क्यान्सरको उपचार गर्न सिंगापुर पुग्नुभयो। आलोचकले आजसम्म पनि कोइरालाले लिएको ५० लाख गफको मसला बनाउँदै आएका छन्। जसको असर त्यस समयको सरकारलाई पनि पर्न पुग्यो।
समर्थन वा विरोध आफ्नो ठाउँमा छ। कसैले गरेको नेतृत्वको समर्थन वा विरोध नै पनि दोस्रो कुरा भयो। तर, प्रधानमन्त्रीको कुर्सीमा बसेको बेला तुच्छ शब्द प्रहार हुँदा नेपालीको मन दुख्दो रहेछ। लाग्दो रहेछ, कमसेकम प्रधानमन्त्रीले नै यस्तो आलोचित काम नगरिदिएको भए हुन्थ्यो। मैले माथि लेखेका सबै नेतृत्वविरुद्ध आलोचना हुँदा मलाई दुःख लाग्छ। सबैभन्दा जिम्मेवार पदमा बसेर मजाग उडाएजस्तो लाग्छ। यस्तो लाग्छ, हामी यो देशमा मात्र रमिते हौँ, नेतृत्वलाई जे गर्न पनि छुट छ।
प्रधानमन्त्रीज्यू, तपाईं यो देशको यस्तो प्रधानमन्त्री हो जसका अगाडि हरेक शक्ति कमजोर लाग्छ। तपाईं कुर्सीमा हुनु भनेको देशको स्वाभिमान ढुक्कले सुत्न सक्नु पनि हो। नेपालीको छाती गर्वले चौडा हुनु पनि हो। र, तपाईं आफैंमा नेपालीको दम्भी अभिभावक हुनु पनि हो। तर, हरेक यी स-साना कुरामा तपाईं किन आलोचित बन्दै हुनुहुन्छ?
एकचोटि पछाडि फर्केर हेर्नुहोस् त!
मिडिया विधेयक, गुठी विधेयक। र, सबभन्दा बढी त तपाईंको उपचार। तपाईंमात्रै होइन, तर तपाईं पनि हो। किन हुन्छ तपाईंको आलोचना? आलोचकहरू शून्यबाट दुई, दुईबाट चार हुँदै किन देश ढाकिरहेका छन्?
मलाई प्रधानमन्त्री आफ्नै लाग्छ, यसकारण कि म तपाईंले शासन गरेको देशको नागरिक हुँ। तपाईं बस्नु भएको कुर्सीमा तपाईंको प्रमुख प्रतिपक्षी दलका नेतामध्ये कोही बसेको भए पनि मलाई उति नै प्रिय र आफ्नो लाग्थ्यो।
तपाईंको बेग्लै शैली स्थापित भयो। अलिकति मजाग, अलिकति जिम्मेवारी, अलिकति भावुकता र थोरै वास्तविकता। प्रायःले रुचाए पनि। तपाईंका नबोल्ने तौर तरिका र बोल्ने तौरतरिका दुबै ‘फेमस’ भए। र, तपाईं आफू पनि फेमस हुनुभयो।
तपाईं एक्लैले पार्टी बोक्नुभयो, जिम्मेवारी बोक्नुभयो र हुनसक्छ समृद्धिको सपना पनि बोक्नुभयो। छँदाखाँदै गरेको स्थानबाट एक स्थानमाथि पार्टी, देश र तपाईं पनि पुग्नुभयो। सामन्यतया धेरै फेमस भएपछि अपेक्षा र जिम्मेवारी बढ्ने रहेछ।
नेपाली जनताले तपाईंमा पनि अपेक्षा बढाए, तपाईंमा पनि आशा गरे। हुनसक्छ अपेक्षाअनुरूप तपाईं हुनु भएन, जनताले काख फेरे।
शिक्षा, स्वास्थ्य र रोजगारको अवस्था हिजो कहाँ थियो र आज कहाँ छ? हिजो तपाईं नौ महिना प्रधानमन्त्री हुँदा र अहिलेकै कुरा गरौं। यो अवधि कमसेकम पनि ४-५ वर्षको हो। बिरूवा रोपेको भए हरियो फेर्ने बेला भयो, फूल खेल्ने बेला भयो। तपाईं त अझ झापाबाट त्यहाँ पुग्नुभएको, ब्याड राख्नु भएको थियो भने, बिउ रोप्ने बेला भयो। शिक्षा, स्वास्थ्य र रोजगारको हिलो पाकेन प्रधानमन्त्री ज्यू!
म राम्ररी बुझ्छु, प्रधानमन्त्री तेस्रो ग्रहबाट आएको मान्छे हुँदै होइन। प्रधानमन्त्री हाम्रै समाजबाट सिकेर, खारिएर र निखारिएर बनेको मानिस हो। र, त्यो मान्छेमा रिस, आवेग र समवेदना सबै कुरा हुन्छन्। गल्ती हुनसक्छ, कमजोरी हुनसक्छ। तपाईंले ती ठूला कुरा सबै गर्न खोज्नुभयो, जसलाई कसैले महसुस गरेनन्। ती साना कुरा जसलाई सबैले महसुस गर्न सक्थे, तपाईं त्यहाँ चुक्नु भयो।
गुगलमा तपाईंको नाम ‘सर्च’ गर्दा तपाईंको गतिविधि नियाल्न सकिन्छ। थुप्रै काम, थुप्रै पटकको विदेश भ्रमण। र, भ्रमणमा थुप्रै पटकको उपचार। रोगी शरीर भए पनि देशको माया भन्न सकिएला एक हिसाबले। तर, अर्को दृष्टिकोणले अपेक्षा गरिएका दम्भी प्रधानमन्त्री त्यही पुरानै भुलभुलैयामा फसे भन्न सकिन्छ। यसकारण कि, पछिल्लो समय तपाईं पनि ती नेताहरूको मौन समर्थनमा लाग्नुभयो, जसलाई नेपालका अस्पताल र डाक्टरको विश्वास नै लाग्दैन।
अलि अघिल्लो इतिहास हेर्ने हो भने, राजा महाराजा तथा उच्च खान्दानी नेपाली नेपालमै उपचार गराउँथे। वीर अस्पतालमा खोलिएको ‘अति विशिष्ट कक्ष’ त्यसको प्रमाण रहेछ।
राणाकालीन समयमा त्यतिबेलाका शासकले आफ्नो उपचारमा सहजता ल्याउन गरेको प्रयास अनुकरणीय छ। पछिल्लो समय अस्पताल छ, सुविधा छ तर मन देखिँदैन। मन भए पनि विश्वास देखिँदैन।
कतिपय नेपालका विशिष्ट चिकित्सकको लेख तथा भनाइलाई आधार मान्ने हो भने नेपालमा जटिल प्रकृतिका उपचार सम्भव छ।
एक सयमा, एक मात्र भन्न सकिने अवस्था नरहने उनीहरूको भनाइ छ। चिल्लो मार्वल भएको कोठा, हेर्दा सफा भवन मात्रैलाई आधार मानेर विदेश गएको टिप्पणी पनि पढ्न पाइन्छ। यो विषय नौलो होइन। धेरै पटक कुरा उठिरहेको छ। आन्दोलन भएका छन्, विरोध भएका छन्। तर, प्रधानमन्त्रीज्यू पनि आफूअनुकूल हुँदा जयजयकार र नहुँदा विरोधीको चाल मान्ने पुरानै रोगको शिकार बन्नुहुन्छ कि भन्ने डर लाग्छ।
तपाईंले धेरै पटक धेरै जनप्रिय कार्यक्रम ल्याउन खोजेको देखेँ। प्राविधिक पाटोमा नजाऔं प्रायः असफल बन्नुभयो। जसका लागि कार्यक्रम ल्याउन खोज्नुभयो उनीहरू नै विरोधी भए।
एकपटक सोच्नुहोस् त प्रधानमन्त्रीज्यू, तपाईं आफैंको चाहनामा भव्य अस्पताल उद्घाटनपछि बेडमा उपचार गराइरहेको तपाईं। त्यतिबेला पैसा तिरेर नेपाली मिडियाको स्पेश किन्नु पर्ला? रिबन काट्दै गरेको फोटो पैसा तिरेर छाप्नु पर्ला? वा तपाईं आफैंले भनेका धेरै काममध्ये एउटा उदाहरणीय काम गरेकोमा तपाईंको जयजयकार होला!
जनताले महसुस गर्ने सानै काम गर्नुहोस्, प्रधानमन्त्रीज्यू।