पुर्ख्यौली ज्ञानको क्षितिज
ढिकी–जाँतो बनाउनु, बाँसबाट चोया निकालेर चित्रा बन्नु, दाम्लो बाट्नु, हलो–जुवा–हल्लुँड–जोतारा–सोइला आदिको सम्मिश्रण गरेर कृषिको औजार निर्माण गर्नु विज्ञान होइन र!
मोही पार्न मदानी, घुर्रो, नेती अर्थात् नरिवलको डाडु, बाँसको ढुंग्रो बनाए। बाँसको चोया, पाट, सनपाट, हातेआरीजस्ता वनस्पतिलाई प्रयोग गरेर डोरी, दाम्लो निर्माण गरे।
रूखको तेर्सो मुढोलाई हलो आकृतिमा बदल्ने कला या त ज्यामिर, कागतीलाई पेलेर अमिलो बनाउने तरिका, तोरी पेल्ने कोल, पानी घट्ट निर्माण, गुन्द्री अर्थात् राडी बुन्ने तान सबै हाम्रा मौलिक विज्ञान रहेछन्।
हामीले आफ्नोपना छोड्यौं। आजको यान्त्रिक युगमा भलै यी साधन कार्यसम्पादनका द्रुत आधार होइनन् तर हाम्रा पुर्खामा विज्ञानमा रैथाने विज्ञानको शक्ति छ।
हाम्रा पुर्खामा विज्ञानको ज्ञान यथेष्ट रहेछ। हामीले किन आधुनिकीकरण गर्न सकेनौं, किनकी हामी आफ्नो मौलिकतालाई स्तरोन्नति गर्ने बाटोमा लाग्नै चाहन्नौं।
अर्को ठूलो कुरा सामाजिक मनोविज्ञानलाई हेरेर मानिसलाई अति आवश्यक कुरा मानवताको पाठ सिकाएर सुखी जीवनको दर्शनलाई विकास गर्दै जाँदा चाडवाड, अनेकौं संस्कृति र संस्कार जन्माए। सहयोग र भाइचारा सिकाए। तर, आज परनिर्भरताको पराकाष्ठालाई हेर्दा हामी यस्ता विज्ञताबाट टाढिएको स्पष्टै छ।
गरिबका लागि प्लेन चढ्नु कल्पना मात्र हुन्छ। उद्योगले प्रदूषण बढिरहन्छ। हिजोका तुलनामा आजका प्रविधिको सुविधासँग कतै न कतै बेफाइदा छन्। हामी प्रविधिलाई प्रयोग गर्छौं, असर नियाल्छौं तर समाधानका पाटामा साह्रै बेहोसी छौं।
हिजो हाम्रा ऋषिमुनिले लेखेका ज्ञानका ठेली आज र भोलिका लागि पनि उत्तिकै अकाट्य लाग्छन्। विज्ञान र विश्वव्यापीकरणमा हामी पछि छौं तर सामाजिकता बिर्संदा आत्मघाती हमला, बालवृद्धमाथि अत्याचार, हिंसात्मक नरपिशाची प्रवृत्ति सामाजिक मर्यादायुक्त कानुन नै दर्बिला हुनुपर्ने हो।
सायद पापको डर र मानिसको मर्यादामा हुँदो होत‘डिभोर्स, टेन्सन, बिजी, बोर’जस्ता शब्दको बारम्बार उच्चारण आवश्यक हुँदैनथ्यो।
आजको दैनिक जीवनसँग नातो गाँस्दा आफ्नो राम्रो छोडेर नराम्रो अनुशरणमा लालायित भएको समाजले असल आचरणका लागि आफ्नै संस्कृतिलाई घृणा गर्दैछौं।
नवीनतम् सोच र विज्ञानमा गरेको विकासमा पश्चिम जति अघि बढे पनि मानवता त यतैतिर उच्च छ। पश्चिमीकरण नै आधुनिकीकरण त पक्कै होइन। जीवन र जगतसँग मानव र समाजको दर्शनमा हाम्रो सभ्यता ठीक छ। किताबका ठेली र विज्ञका विचारमा गुरुकुल शिक्षामा स्वतन्त्रता र क्षमताको सम्मान हुन्थ्यो।
सत्यता र कानुनको पालना अत्यावश्यक बन्यो। राजालाई पनि कानुन लागेकै हो, श्राप लागेकै हो, अपराध भोगेकै कुरा छन्। यसो भन्दा यता विकृति, अन्धविश्वासका पोका पनि छरपस्टै भेटिन्छन् तर टाठाबाठाको हालीमुहाली भएका र भइरहेका विचार र विद्रोहका कुरालाई हेर्ने हो भने मार्क्सवादी द्वन्द्वात्मक भौतिकवादपछिको साम्यवाद ठूलो कि रामराज्य भन्ने प्रश्न पनि उब्जिन्छ।
आफ्नै सिद्धान्त जन्माऊँ न!
राजर्षी जनक राजा र ऋषि दुवै हुन्। हाम्रो देशमा भएका हरेक पार्टीका वाद र विचार बाहिर देशका विद्वानको आडमा ठोकिएका छन्।
यहाँ बुद्ध र अहिंसावाद त मौलाएन। तुलनीय छ/ छैन तर रामराज्यको सोचभन्दा मार्क्सको साम्यवादलाई नै महान् मानिन्छ। फुको, फल्कका, बोड्र्यु आदिका सिद्धान्तलाई अनुशरणीय मानिन्छन्।
हामी ज्ञानको विस्तार विश्वव्यापीकृत परिवेशमा यान्त्रिकीकृत अनुसन्धानसँग गाँसिँदा हामी उत्तर आधुनिकता होस् या डेरिडाको विनिर्माणवाद तर ग्रिक र रोमको इतिहास घोकिरहन्छौं। पाणिनिभन्दा फिल्मोरलाई महान् मान्छौं।
दुवैलाई जोडेर हेरे पनि पाणिनिलाई गुरु, ज्ञान र पुरानो मान्छौं अनि फिल्मोर कै कारक पद्धति राम्रो भनी पूर्वाग्रह राख्छौं। दुई विद्वानको विद्वत्वृत्तिमा कति बाध्यता, सत्यता या त यथार्थ थिए त्यसतर्फ खोजी हुँदैन।
हामीले ‘युधिष्ठिर राजनीति सिद्धान्त’ जन्माउँ या ‘विदुर नीति’ सँग राजनीतिको अध्ययन गर्न जान्दैनौं। मार्क्स घोक्छौं तर मदन भण्डारी, बीपी जस्ताका विचारलाई व्यवहारिक बोध गर्दैनौं।
शताब्दीयौं पुराना सिद्धान्त र मानवतासँग गीताको कर्मवाद या वैदिक सनातनका नीति मान्यता आजसम्म अकाट्य कसरी भए हुन सकेका?
बुझ्नुपर्ने र मनन गर्नुपर्ने विषय भनेकै आफ्नो कला संस्कृतिसँग रहेर अरुको अध्ययन गर्ने हो भन्ने ठम्याइ हो। आफ्नोपन र आफ्नो परिवेशमा बाँच्न नजान्दा हामी अरुका कुराप्रति मोहित छौं तब भाषा, पहिचान, भाइचारा, भारोपर्माको शैली, वृद्धलाई आदर हुँदैन।
नैतिक ज्ञानलाई पुरातनवादको संज्ञा दिएर उपेक्षित तुल्याइयो। विज्ञले मानून् नमानून् आफ्नो हठी प्रवृत्तिसँग बिरालो बाँध्ने कानुन होइन देश, प्राणी र प्रकृतिका लागि हितकारी अनुसन्धान आवश्यक छ। आत्मनिर्भर बन्न हाम्रै अध्ययनका नीति र सिद्धान्त बन्न सक्नुपर्छ!
ज्ञानमारा बन्ने?
दार्शनिक माक्सले हिजोका लागि भनेका सबै कुरालाई सत्य मान्ने हो भने बौद्धिक प्राणी मानिसले बलवान् हात्तीलाई तह लगाउने कार्य गर्नु पनि दमन नै हो।
यसो भन्दा म दमनकारी सोचको पक्षपाती भन्ने दोषको आरोप नलगाउनु होला तर समाज मुखमा रामराम बगलीमा छुरा बोकेर स्वार्थी बन्दै छ। मानवता, करुणा, निःस्वार्थता समाजको परिवर्तनसँगै, यान्त्रिक युगसँगै डढ्दै छ।
मानिस उही ढुंगे युगिन आचरणलाई डाक्दै त छैन? दया करुणाका हाम्रा अत्यावश्यक भावनालाई पैसाले भस्म पार्दै छ। यसर्थ समृद्धिसँग शान्ति र मानवता अघि हुनुपर्छ। अन्धानुकरण र आफ्नो ज्ञानमारा शैली गलत हुन्। सिद्धान्तलाई अध्ययन गर्नु सुन्दरपक्ष हो तर सिद्धान्तलाई भारी बोकाएर महान् ठान्दै गलगिज्ज लदाउने नीति पक्कै पश्चिमीकरणको खोस्टो मात्र हो। बुझ्ने नै हो भने हामीले ज्ञानका विषयमा, विश्लेषणका शैलीमा नवीन प्रविधि र ज्ञानलाई अन्धो बनेर भन्दा आवश्यकता र अपरिहार्य विषयलाई हेरेर अपनाऔं तर आफ्नै संस्कृतिका सकारात्मक विज्ञान र दर्शनलाई त खोजौं न।
विचार, अध्ययन, अनुसन्धान अब लादिने रवाफबाट होइन देशप्रेमी सोचबाट अनुसरित होओस्। अब विदेशीलाई नेपालमा पनि शिक्षा दिने हो भने नेपालले मौलिकता, भाषा र संस्कृतिका मिहिन विषयमा पनि घोत्लिनुपर्छ।
यसको अर्थ दुई ज्ञानको खेमामा तोलेर सानो ठूलो बन्ने र बनाउने भन्दा पनि औचित्य र आवश्यकतामुखी भए के हुने? हाम्रो मस्तिष्कभित्र किन स्वदेशी ठूला दार्शनिकलाई प्राज्ञिक सम्मान गर्न सक्दैनौं।
यहाँ वैज्ञानिक बनाउने सोच जन्मन नसक्नु तर यान्त्रिक आकर्षणलाई फेसन मान्ने समाज मनोविज्ञान मौलाउँदा मौलिक कला, संस्कृति, शिल्पका विषय धराशायी बन्दै छन्।
यसर्थ हामी ज्यानमारा बन्दै राजनीतिका गफ गर्छौं तर आफ्नोपना छोडेर ज्ञानमारा बन्दै छौं।
समाज ज्ञानमारा बन्दै आफ्नो सकारात्मक पक्षलाई यान्त्रिकीकरणको आश्रयलाई पूजा गर्न लहसिएको छ। यहाँ शासक पूजा कि शासितको शोषण विचार र व्यवहारको अन्तर्घुलनमा प्रजातन्त्र प्राप्तिपछिका हरेक नेतृत्वको आरोप शैली र तुजुकमा उस्तै रोग छ।
जनता उस्तै भेडा बनेर समर्थन र विरोध गर्छौं। को कसको भक्त र पक्षपाती बुझ्न सजिलो तर बुझेरै पनि भन्न गाह्रो। भाषण र बुद्धका पञ्चशीलका गफमा मार्क्सको साम्यवाद कसरी कहाँनेर मिलाउने?
हामीलाई घिउमा भुटेको भातभन्दा फ्राइ राइसलाई महान् मान्ने अन्धमनोविज्ञानले झापड हानिरहनु समस्या हो। आज आफ्नोपनाको पर्यटन व्यवसायभित्र मौलिकता खोज्दा होमस्टे भन्दै छौं।
यो अतिथि देवो भवः नै त हो। हिजोका औषधि विज्ञान, सयौं वर्ष पहिलाका भवन आजसम्म कत्रा ठूला भूकम्प थेगेर सुरक्षित रहेका तथ्य, अलौकिक शक्ति र उपासनका पछाडि जोडिएका मनोविज्ञान, कला र शास्त्रीय वाद्यवादनकला, भेषभूषा र रहनसहनका ढङ्गढाँचामा आज कति मनोरञ्जक र ज्ञानवर्द्धक होलान्? डाइबिटिजका लागि मकै र कोदो फाइदाकारक रहेछ, हिजोको आहारा ठीकै त रहेछ।
त्यसो भए भाषा, संस्कृति र परम्परालाई किन बिर्साउने? हामीले आफ्नै लागि आफ्नो बनाएर बाँचे कमसेकम कसैको हेपाइमा त पर्नुपर्दैन। हामी कोरियन, जापानिज, अङ्ग्रेजी भाषा घोक्छौं तर संस्कृत, मातृभाषा या त नेपालीलाई थोत्रो मान्छौं।
प्राचीन ग्रन्थ, पुराण कथा सुनाउने, कर्मकाण्डका लागि भन्दा धेरै मान्छेलाई आचरण सिकाउनका लागि हुन्। हिन्दू धर्मभित्रकै ऋषि तथा गुरु वृहस्पतिद्वारा प्रतिपादित चार्वाक दर्शनले ईश्वर र अभौतिक वस्तुलाई बेआधार मान्ने वेदविरोधी भावलाई अघि सार्छ।
वास्तवमा हाम्रो संस्कारले संस्कृत भाषालाई त पूजापाठ र हिन्दू धर्मका धर्म गुरूको पेवा हो भन्ने बनाइदिएछ। घरको छेउमा तुलसी रोप्ने, बिहानीमा पिपलमा पानी चढाउने, आहा! अक्सिजनको ज्ञान त हिजै हाम्रा ऋषिलाई रहेछ त। तर वास्तवमा वेदव्यासको वेद हिन्दू धर्मका ठेकेरादको पेवा होइन किनकी वेदव्यास हिन्दु थिएनन्।
यो सबै मानव कल्याणका लागि आवश्यक ज्ञान हो। बुद्ध बुद्धिस्ट थिएनन्। यसर्थ अनुसन्धानमा, धर्म र संस्कारमा, अथाह ज्ञानको आजको डिजिटल संसारमा नियम र सोचको दायराले मान्छेको ज्ञान, मानवता र बौद्धिक सक्षमतालाई सीमांकन गर्नु आफैंमा संकुचन हो।
निचोडमा पश्चिमी विज्ञान र पूर्वीय ज्ञान आपसमा आवश्यक र अतुलनीय छन्। दुवैको संयोग बिना संसारले मानवता र शान्तिप्रद भावलाई बोध गर्न सक्दैन। हरेक अध्ययनमा पूर्वाग्रहरहित सत्य विश्लेषण गर्ने हो भने ज्ञानको महासागर वेदमा यसकारण रहेछ किनकी त्यहाँ मानव जीवनको सर्वपक्षीय चिन्तन र मुक्तिको भाव रहेछ।
हरेक मानिस हरेक उन्नतिका पछाडि खुसी रहन चाहन्छ। अतः हामीले प्राज्ञिक विद्वता, आदर्श जीवनशैली र रहस्यका भावनालाई सुखद्पलसँग जोड्न चाहेका हुन्छौं।
तसर्थ, हिजो मन्त्रको युग थियो, पछि तन्त्र (जादु, टुनामुनावाला) को युग आयो, आज यन्त्रको युग हो। आज यन्त्रको युगमा हामी पछाडि छौं। तथापि ज्ञानका विषय, मानिस र प्राणी तथा प्रकृति संरक्षणका पक्ष हितकारक हुनुपर्ने कोणसँग रहेर आत्मिक आनन्दका साथमा जीवन जिउन साम्यवादभन्दा बढी रामराज्यमा आदर्शता र मानवतामय हुन्छ। गुणात्मक शान्तिमय जीवनका पक्षमा यताको सभ्यता बढी व्यवहारिक रहेछ ।