हाल सुनको मूल्य प्रतितोला ७० हजार रुपैयाँको हाराहारीमा छ। आखिर यो पहेँलो धातुको मूल्य कसरी उतारचढाव हुन्छ?
यसमा के खास विशेषता छ ताकि मूल्य बढे पनि सधैं माग बढिरहेको हुन्छ? मनमा लागेका यस्तै कौतुहलताको उतर खोज्ने प्रयास यस आलेखको प्रमुख उद्देश्य हो।
संसारमा हालसम्म पत्ता लागेका १ सय बढी धातुमध्ये एक हो। धातु भनेको एक त्यस्तो पदार्थ हो, जुन चम्किलो हुनुका साथै ताप र विद्युतको संचारबाहकको रुपमा काम गर्दछ। धातुको विशेष गुण भनेको यसलाई पिटेर पातलो पाता तथा तन्काउँदा मसिनो तारको स्वरुपमा बदल्न सकिन्छ।
तसर्थ, जति पिटे पनि नभाँचिने, बरु पारदर्शी पातलो पातासम्मको स्वरुप ग्रहण गर्न सक्ने विशेष गुण भएको चम्किलो पदार्थ नै धातु हो। जसले ताप र विद्युतको संचारबाहकको रुपमा काम गर्दछ।
धातुहरु विभिन्न फरक तत्वहरुको सम्मिश्रणबाट बनेको हुन्छ। तत्व एटम (पदार्थको सबभन्दा सानो भाग जसलाई परमाणु पनि भनिन्छ) बाट बनेको हुन्छ।
संसारमा सबैभन्दा पहिले तामा धातुको ९००० बिसीतिर पत्ता लागेको मानिन्छ, यद्यपी यसको खास मिति भन्न सकिँदैन। सबैभन्दा पहिले पत्ता लागेको केही धातुहरु मध्ये सुन पनि एक हो। यसको ३१०० बिसीतिर पत्ता लागेको अभिलेख पाइन्छ। सयौं धातुहरु मध्ये सुन केही धातुभन्दा पछि पत्ता लागे पनि यसमा रहेका केही विशेष गुणहरुले यसको महत्व देखाउँछ।
चम्किलो, हल्का रातो, पहेँलो, नरम, उच्च घनत्व, खिया नलाग्ने, सामान्य अवस्थामा ठोस आकारको स्वरुपमा भएको, सर्व स्वीकार्यता, दुर्लभ प्रयोग, पहिचान तथा सम्मान, मुद्रा, सम्पत्तिजस्ता विशेष गुणहरुले सुनको मुल्यमा ठूलो भूमिका खेलिरहेको हुन्छ।
जति तन्काउँदा पनि तन्किने (एक ग्रााम सुनलाई एक वर्ग मिटर सम्मको पातलो पाताको स्वरुपमा परिवर्तन गर्न सकिने), सामान्तयाःअरु पदार्थसँग कुनै रासायनिक प्रतिक्रिया नगर्ने, खिया नलाग्ने (अरु धातुको कोठाको तापक्रममा समेत अक्सिजनसँग प्रतिक्रिया हुने भएकोले सजिलै खिया लाग्ने गर्दछ), उच्च घनत्व (१९.३ ग्रााम प्रति घन सेन्टिमिटर), सजिलै नपग्लिने (१०६४.१८ डिग्री सेन्टिगे्रडको तापक्रममा मात्र पग्लिन्छ) जस्ता विशेषताका साथै कहिले नास नहुने तथा सानो टुक्राको तौल पनि धेरै हुँदा सजिलै सुरक्षित गरी राख्न मिल्ने तथा ओसार पोसार गर्न पनि सजिलो हुने भएकोले यस धातुलाई सर्वस्वीकार्यता हुनको लागि सहयोगी भुमिका निर्वाह गरेको तथ्य नकार्न सकिँदैन।
उत्पत्ति
अरबौं वर्ष पहिले सौर्य प्रणाली उत्पत्तिकै बेलामा यसको पनि उत्पत्ति भएको मानिन्छ। जब अन्तरिक्षमा न्यूट्रोन ताराहरु एक आपसमा ठोकिएर सुपरनोभाको निर्माण भएको थियो र जसको धुलोबाट पृथ्वी ग्रह समेत बनेको थियो, त्यही अबधिमा विभिन्न परमाणुहरुको रासायनिक प्रतिक्रिया परिणाम स्वरुप यो पहेँलो धातुको उत्पत्ति भएको मानिन्छ।
पृथ्वीको निर्माण हुँदा यो पग्लिएको अवस्थामा थियो, जसको कारण सुन लगायत अन्य धातुहरु पृथ्वीका भित्री भागमा गएर बसेको हुन्छ।
वैज्ञानिकहरुको पछिल्लो अनुसन्धानबाट के पत्ता लागेको छ भने करिब ४ अर्ब वर्ष पहिले क्षुद्र ग्रहहरुको पृथ्वीमा भएको भारी आक्रमणको कारण पृथ्वीको भित्री भागमा रहेको सुन यसको सतहमा आएको हुन सक्छ।
एक अर्को अध्यन अनुसार भूकम्पका कारण पृथ्वीको भित्री भागमा रहेको सुन पानीसँगै माथि आउँछ। पृथ्वीको सतह भन्दा लगभग १० किलोमिटर मुनि एक विशेष अवस्था एवं तापक्रममा पानीको उच्च मात्रामा कार्बनडाईअक्साइड, सिलीका र सुन रहेको पाईन्छ।
पृथ्वीमा भएको समुद्रमा पनि सुन पाइन्छ। एटलान्टिक तथा उतरपुर्वी प्रशान्त महासागरमा प्रति घन किलोमिटर १० देखि ३० ग्राम सुन रहेको तथ्य मापन गरिएको छ। यही अनुपातलाई अधार बनाउँदा संसारको पुरै महासागरमा लगभग १५००० टन सुन रहेको भन्न सकिन्छ।
दुर्लभता
सिद्धान्तः अन्तरिक्षमा विभिन्न्न ताराहरु एक आपसमा ठोक्किँदा विभिन्न परमाणुहरुको रासायनिक प्रतिक्रियाबाट सुन बनेको मानिन्छ। यो पृथ्वीको समुद्र तथा चट्टानमा पाइन्छ। तर खोज्न सकेको भए सुनको महत्व नै कम हन सक्थ्यो।
यो संसारमा पाइने धेरै दुर्लभ पदार्थमध्ये एक हो। पृथ्वी सतहको भन्दा १०औं किलोमिटर मुनि अरु चट्टानहरुको भित्री भागमा अत्यन्तै थोरै मात्रामा छरिएर रहेको हुन्छ।
सामान्यतः एक घन किलोमिटर अर्थात १ किमी लम्बाई, १ किमी चौडाई र १ किमी गहिराईको पानीलाई प्रशोधन गरेर मुश्किलले १० देखि ३० ग्रामसम्म सुन पाउन सकिन्छ। सुनको यही दुर्लभता नै मूल्य तथा महत्वको आधार हो। नत्र भने यो पनि फलाम जस्तै केवल एक धातु न हो।
वर्ल्ड गोल्ड काउन्सिलको पछिल्लो रिपोर्ट अनुसार सन् २०१९ सम्ममा संसारमा कुल १ लाख ९० हजार मेट्रिक टन सुन रहेको छ। यसको ७५ प्रतिशत भन्दा बढी सुन सन् १९१० पछि मात्र उत्खनन् गरिएको हो।
यसमध्ये करिब ८५ प्रतिशत कुनै न कुनै तरिकाले प्रयोगमा रहेको छ। सन् १८८० देखि सन् २००७ सम्म दक्षिण अफ्रिका संसारको सबै भन्दा धेरै सुन उत्पादन गर्ने देशको रुपमा रहेको थियो। सन् १९७० मा संसारको कुल उत्पादन मध्ये ७९ प्रतिशत उत्पादन दक्षिण अफ्रिकामा नै भएको थियो।
पछिल्लो तथ्यांक अनुसार सुनको धेरै उत्पादन गर्ने देशहरुमा क्रमशः चिन, अस्ट्रेलिया, रसिया, अमेरिका, क्यानाडा, पेरु, दक्षिण अफ्रिका, घाना, माली, इन्डोनेसिया र उज्वेकिस्तान रहेका छन्। दक्षिण अफ्रिकाको जोहानेसवर्ग भन्ने शहर हालसम्मको इतिहासमा सबैभन्दा धेरै प्राकृतिक सुनको स्रोत रहेको मानिन्छ।
सुनको माग
संसारमा सुनको उच्च माग हुने धेरै कारण छन्। यस मध्ये करिब ५० प्रतिशत गरगहना, ४० प्रतिशत लगानी र १० प्रतिशत औद्योगिक क्षेत्रमा माग छ। संसारको सबैभन्दा धेरै सुन खपत गर्ने देसहरुको सूचीमा चीन र भारत पहिलो र दोस्रो क्रममा पर्दछ।
कुनै वर्ष चीनले भारतलाई उछिन्छ भने कुनै वर्ष भारतले चीनलाई। भारतमा सुन मुख्यतः गरगहनामा खपत हुन्छ भने चीनमा यसको प्रयोग उद्योग तथा खुद्रा व्यापारमा हुन्छ। सन् २०१८ मा ४३५१.१ टन सुन संसारमा खपत भएको थियो।
संसारभरि नै सुनलाई पैसाको रुपमा प्रयोग गर्ने चलन छ। सम्पत्ति सुरक्षित गर्न पनि सुनको प्रयोग गरिन्छ। अर्थात सुनको मात्राको रुपमा सम्पत्ति जम्मा गर्ने गरिन्छ। उन्नाईसौं शताब्दीमा लगभग सबै आद्यौगिक देशहरुले सुनको आधारमा आफ्नो पैसाको मुल्यांकन गरेका हुन्थे।
तर सुनको पर्याप्त उपलव्धता, ओसारमा कठिनाई, अभिभाज्यता, जोखिम लगायतका कारणले दोस्रो विश्वयुद्ध पश्चात बे्रटेनवुड सम्मेलन पश्चात धेरै देशहरुले सुनलाई पैसा छाप्ने आधार बनाउने गोल्ड स्टायण्डर्ड प्रक्रिया परित्याग गर्न थाले। यद्यपी, हाल पनि सबै देशको केन्द्रीय बैंकहरुले सुनलाई आफ्नो तरलताको एक भागको रुपमा राख्ने प्रचलन कायम नै छ।
सम्पत्तिका रुपमा सुनमा लगानी गर्नु पुरानो प्रचलन नै हो। लगानी गर्ने विभिन्न औजारहरु मध्ये सुन सबैद्वारा प्रयोग गरिने एक औजार हो। उच्च तरलता र मुद्र्रास्फितिको ज्यादै नै कम प्रभावको कारण यसलाई अझै पनि सम्पत्तिको रुपमा प्रयोग गर्ने गरिन्छ। इतिहास केलाउँदा जहिले पनि यसको मूल्यमा भएको बढोत्तरीले यसलाई लगानीको एक प्रभावशाली विकल्पको रुपमा लिइन्छ।
पछिल्लो समयमा सुनको प्रयोग विभिन्न विद्युतीय सामानहरुमा गर्न थालिएको छ। विद्युतको राम्रो संचारबाहक हनुको साथै जति पनि मसिनो रेखा तान्न सकिने भएको हुनाले विद्युतीय उपकरणहरु जस्तै मोबाईल, टिभी जस्ता बस्तुहरुमा यसको प्रयोग भईरहेको छ।
उदाहरणको लागि एउटा कुनै विशेष प्रकारको मोबाईल फोनमा ५० मिलिग्रामसम्म सुनको प्रयोग गरिएको हुन्छ। संसारमा हुने कुल उपयोगमध्ये लगभग १० प्रतिशत उपभोग यस क्षेत्रमा हुने गर्दछ।
संसारको सायद सबभन्दा पहिले औषधिको रुपमा प्रयोग भएको बस्तु सुन नै हो। हाल पनि विभिन्न रोगहरु जस्तै डिप्रेसन, माईग्रेन जस्ता रोगको औषधि बनाउन सुनको प्रयोग गरिन्छ। डेन्टिस्टहरुले दाँत नभएको वा बिग्रेको ठाउँमा राख्ने वा उपचारको क्रममा सुनको कृत्रिम दाँत बनाई राख्ने गर्दछन्। तसर्थ, उपचारको क्षेत्रमा पनि सुनको प्रयोग हुन्छ।
ओलम्पिक वा विश्वकप जस्ता ठूला प्रतियोगता जित्ने टिम वा खेलाडीलाई प्रदान गरिने सुनको बल, जुत्ता ट्रफीजस्ता पुरस्कार स्वरुप प्रदान गरिने मेडलमा पनि सुनको प्रयोग गरिएको हुन्छ। यस्तै, नोबेल पुरुस्कार बिजेता व्यक्तित्वहरु, दिर्घसेवा पदक, स्वर्ण जयन्ती जस्ता समारोहमा पनि कुनै न कुनै रुपमा सुनको प्रयोग गरिएको हुन्छ।
लामो समय टिक्ने तथा जहिले पनि उतिकै महत्वपुर्ण एवं मुल्यवान रहने भएकोले दुई अलग व्यक्तिको पवित्र बन्धन अर्थात विवाहमा पनि सुनको नै औंठी दिने प्रचलनका कारण सामाजिक क्षेत्रमा पनि यसको माग छ।
मूल्य निर्धारण
संसारको अरु बस्तुजस्तै सुनको मूल्य पनि अर्थशास्त्रको सामान्य नियम आर्थात माग र आपुर्तिको कारण निर्धारण हुने गर्दछ। आपुर्तिको तुलनामा माग बढ्दै जाँदा यसको मूल्य पनि बढ्दै गइरहेको हुन्छ।
संसारमा यसको आपुर्ति अति नै कम तथा लगभग सधैं उच्च मागको कारण इतिहासमा मूल्य बढेको नै पाइन्छ। छोटो अवधिमा कहिलेकाहीं घट्न पनि सक्छ। लगानीकर्ता, केन्द्रीय बैंक, मेडिकल, औद्योगिक क्षेत्रबाट यसको माग जहिले पनि उच्च नै हुन्छ। अन्तराष्ट्रिय स्तरमा यसको मूल्य निर्धारण लन्डनमा ‘गोल्ड फिक्स’ भन्ने संयन्त्रको माध्यमबाट हुने गर्दछ।
प्रत्येक दिन स्थानीय समय अनुसार बिहानको १०ः३० र बेलुकाको ३ बजे दिनको दुई पटक सुनको मुल्य अमेरिकी डलर, पाउन्ड स्टर्लिङ र यूरो मुद्रामा निर्धारण गरिन्छ। निर्धारणको बेला यसको मूल्य प्रति ‘ट्रोय–आउन्स’ मा व्यक्त गरिन्छ। पछि यसलाई प्रति ग्राममा परिवर्तन गरेर संसार भरि जानकारी गराइन्छ। ३२.१५ ग्राम बराबर १ ‘ट्रोय–आउन्स’ हुन्छ। राष्ट्रिय स्तरमा सुनको मूल्य निर्धारण गर्नको लागि अन्तर्राष्ट्रिय मूल्यमा दुई मुद्राबीचको विनिमय दर र सम्बन्धित देशको आयात करको प्रतिशतलाई जोडेर सम्बन्धित देशको लागि मूल्य निर्धारण गर्ने गरिन्छ।
तेल र सुनको मूल्यबीच सम्वन्ध
तेलको मूल्यले सुनको मूल्य निर्धारणमा महत्वपुर्ण भूमिका खेलिरहेको हुन्छ। सुन जस्तै तेलको मूल्य पनि अमेरिकी डलरमा निर्धारण गरिन्छ। डलरको मूल्य बढ्दा डलरमा मुल्य निर्धारण गरिएको अन्य सम्पतिको माग घट्छ, किनकि लगानीकर्ताको लागि यस्ता सम्पत्ति महागो हुन जान्छ। परिणाम स्वरुप लगानीकर्ता सुनतर्फ आकर्षित हुन्छन् र सुनको मागमा अझ वृद्धि हुन्छ र मूल्य बढ्न जान्छ।
यी दुई पदार्थको मूल्यको बीचको सम्बन्धमा मुद्रा स्फितिले पनि प्रभाव पार्दछ। कच्चा तेलको मुल्य बढेसँगै अर्थतन्त्रमा मुद्रास्फिति पनि बढ्न जान्छ। सुन जहिले पनि मुद्रा स्फितिको कारण उत्पन्न हुने जोखिमका विरुद्ध सुरक्षा कवचको रुपमा काम गरिरहेको हुन्छ। फलस्वरुप, लगानीकर्ता सुनतर्फ आकर्षित भई यसको माग बढाउन सहयोग पुर्याउँछ र मूल्य बढ्न जान्छ।
हाल सुनको मूल्य बढ्नुको कारण
अहिले सुनको मूल्यमा देखिएको उतारचढाव मुख्यतः अमेरिका र चीनबीच देखिएको व्यापारिक तनावको कारण हो। विश्वको सबैभन्दा ठूलो र दोस्रो ठूलो अर्थतन्त्रबीच उत्पन्न एक अर्काको बस्तुमा लगाउने आयात करको कारण लम्बिएको विवादले संसार भरिको अर्थतन्त्रको वृद्धिदरमा गिरावट आईरहेको छ।
अर्थतन्त्र कमजोर हुँदा कम्पनीहरुको शेयर मुल्यमा गिरावट आउँछ। लगानीकर्ताहरुको शेयरमा लगानी गर्ने विश्वासमा कमी हुन थाल्छ। फलस्वरुप, लगानीकर्ता सुनमा आकर्षित भई सुनको मागमा एक्कासी भएको वृद्धिको कारण नै हाल इतिहासमै सुनको मूल्य उच्च भएको हो।