मेरो नाम सञ्जयकुमार महतो हो। एमबिबिएस इन्ट्रान्समा स्कलरसिपमा नाम निकाल्न मिहिनेत गरिरहेको छु।
२०७६ साल भदौ २ गते पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले फर्म खोल्यो। फर्ममा स्पष्ट रूपमा कक्षा ८, ९ र १० सार्वजनिक विद्यालयमा पढेको हुनुपर्ने प्रावधान थियो। निजी विद्यालयमा पढ्नेले केवल कसैको अनुदान प्रायोजनमा मात्र पढ्न पाउने व्यवस्था थियो।
केही समय पछि त्यहाँ ७५ प्रतिशत एमबिबिएस कोटाका लागि स्कलरसिपको व्यवस्था भयो।
म स्कलरसिपका लागि फर्म भर्न गएँ। निजी विद्यालयमा पढेको विद्यार्थी भएको भन्दै मेरो फारम बुझिएन। म फर्किएँ। म पैसा तिरेर पढ्न तयार थिइनँ। त्यसैले पैसा तिर्नेगरी मैले फारम बुझाउँदै बुझाइनँ।
तर गत असोज ११ गते पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले रिजल्ट निकाल्दा निजी स्कुल पढेकालाई पनि स्कलरसिप दियो। साथै निजीमा पढेकाले पनि स्कलरसिप पाउने व्यवस्था भएको सूचना निकाल्यो।
तर आज आएर शिक्षा मन्त्रालयले स्कलरसिपको कोटामध्ये ५५ प्रतिशत सिटमा निजी विद्यालयमा पढेकाहरूले पनि भाग लिन पाउने र ४५ प्रतिशत कोटामा सार्वजिनक विद्यालयले पढेकाहरूले पाउने व्यवस्था गर्यो ।
मलाई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ठगिएको महशुस भएको छ। मलाइ फर्म भर्नबाट बञ्चित गरियो।