नेपालमा उद्यमीहरू धेरै जन्मिन सकेनन्। यहाँ डाक्टर, इन्जिनियर, शिक्षक लगायत विभिन्न पेशाका व्यक्तिहरू धेरै जन्मिए र केहिले सेवामुखी पेशालाई सेवाभन्दा ज्यादा व्यापार बनाएर अपार धनी भए।
साधारण परिवारमा हुर्केको मानिसले बिजनेस गर्छु भन्ने हिम्मत गर्न सकेन किनभने ऊ आफ्नो परिवारमा दिनदिनै पैसाको किचलो सुनेर हुर्केको हुन्छ र उसलाई लाग्छ कुनै पनि कुराको सुरूआत गर्न धेरै पैसाको खाँचो पर्छ। ऊ अब धेरै पढेर राम्रो जागिर खाने सोच बनाउँछ।
स्कुल कलेजले घोकेर नै सर्टिफिकेटमा राम्रो प्राप्ताङ्क आउने कुरा दिमागमा हालिदिन्छन् र त्यही प्राप्ताङ्कले भविष्य निर्धारण गर्ने बताउँछन्। हो त्यहीबेला त्यस मानिसको सिर्जनात्मकता हराउँछ।
उसले आफ्ना हरेक परीक्षामा पाएका प्राप्ताङ्कलाई सफलता ठान्दछ र सुनौलो भविष्यको कल्पनामा रमाउँछ। उसले आफ्ना औपचारिक शिक्षा पूरा गर्छ र कल्पनाको त्यो राम्रो जागिरको खोजमा यत्रतत्र भौंतारिन्छ। जिन्दगीदेखि निराश हुन्छ।
तर आजको युग अवसर खोज्ने होइन, अवसर सिर्जना गर्ने युग हो। हरेकको हात हातमा मोबाइल र कम्प्युटर भएको युग हो।
विश्वको हरेक कुना कुनामा इन्टरनेट पुगेको युग हो। यस्तो युग जुन युगले ‘ज्याक मा’ जस्ता व्यक्ति जन्माएको छ।
हाम्रै छिमेकी मुलुक चीनमा जन्मिएका ज्याक कुनै धनाढ्य परिवारका मानिस थिएनन्। यतिसम्म कि उनले कम्प्युटर देखेका पनि थिएनन्।
धेरैचोटि जिन्दगीले उनलाई पछारिसकेको थियो। जागिरका लागि गएका २४ जनामध्ये २३ जना छानिए र उनी मात्र छनोटमा पर्न सकेनन्।
यस्ता असफलता उनको जिन्दगीमा धेरै आए। विद्यार्थीकालमा पनि उनी धेरै पटक असफल भए। सामान्य परिवारमा जन्मेका ज्याक कुनै साधारण विश्वविद्यालयमा शिक्षण पेशा गरेर आफ्नो जिन्दगी चलाइरहेका थिए। आज जिरोबाट हिरो बन्ने विश्वका केही धनी व्यक्तिमध्ये ज्याक पनि एक हुन्। आज उनको ४.२ विलियन डलरको सम्पत्ति रहेको र विश्वकै धनाढ्यहरूमध्ये २१ नम्बरमा पर्न सफल भएका छन्।
सायदै कसैले कल्पना गर्न सकेको हुँदो हो, कम्प्युटर नदेखेका ज्याक आज विश्वकै ठुलो ई-कमर्स कम्पनी ‘अलिबाबा’ को मालिक बन्नेछन् भनेर।
आजको समयमा उद्यमी बन्नका लागि पुँजीभन्दा पनि नयाँ सोचको खाँचो परेको छ।
सिर्जनात्मकताको खाँचो रहेको छ। नेपाल जस्तो उर्वर भूमिमा त झनै उद्यमको ज्यादै सम्भावना रहेको छ।
नेपाल भूपरिवेष्ठित राष्ट्र भए पनि इन्टरनेटको आगमनले विश्व हाम्रा निम्ति खुला भएको छ।
वास्तवमा भन्नुपर्दा हामी बाँचिरहेको युग त इन्टरनेट क्रान्तिको युग हो। फेसबुक र इन्स्टाग्राम जस्ता साइटहरूमा टाइम पास गर्ने युवा जमात पनि यहीँ छन् जो हरेक समय गुनासो गर्छन् सरकारले रोजगारी दिएन भनेर। आज विज्ञानले हरेकलाई उत्तिकै अवसर दिएको छ चाहे त्यो व्यक्ति विकासोन्मुख मुलुकको होस् या विकसित देशको।
आर्टिफिसियल इन्टेलिजेन्सको बढ्दो विकास र लोकप्रियता देख्दा लाग्छ, अबको २५-३० वर्षको अन्तरालमा कुनै पनि काम मानिसले गर्नुपर्ने छैन। सम्पूर्ण परिश्रम रोबोटहरू र अन्य उपकरणहरूले गर्नेछन्। त्यस युगमा मानिसको शारीरिक परिश्रमभन्दा पनि विचारको प्रतिस्पर्धा हुनेछ। त्यस युगमा सर्टिफिकेटका अंकभन्दा पनि सिर्जनात्मकतालाई ज्यादा महत्व दिइनेछ।
जबसम्म धेरै पढेर राम्रो जागिर खाने सोच हामीमा रहिरहन्छ तबसम्म हाम्रो समाजमा नोकर मात्रै जन्मिने छन्।
मालिक त तब जन्मन्छन् जब हरेक समस्याबाट मानिसले एउटा नयाँ अवसरको सिर्जना गर्न थाल्छ। अवसरको खाँचो छैन यहाँ सिर्जनात्मक सोचको खडेरी छ।