जीवन जी, सर्वप्रथम तपाईंले नेपाली श्रमिकहरूको ज्यादै महत्वपूर्ण उपलब्धि सामाजिक सुरक्षा कोषप्रति चासो राखेर लगातार लेख्नुभएको लेखप्रति धन्यवाद।
तपाईंका लेखलाई भ्याएसम्म पढ्ने गरेको छु तर समाज विकासप्रतिको तपाईंको कतिपय दृष्टिकोण मलाई अन्योलपूर्ण लाग्छ।
यस विषयमा कतै भनौंला, लेखौंला। अहिलेचाहिँ सामाजिक सुरक्षा कोषबारे तपाईंका लेखप्रति प्रतिकृया जनाउनैपर्ने भएकाले लेख्दैछु।
सबभन्दा पहिले हालको सामाजिक सुरक्षा कोष नेपाल सरकारको पहल र योजनामा हैन रोजगारदाता र ट्रेड युनियनहरूको दुई पक्षीय सहमतिमा घोषणा भएको कार्यक्रम हो भन्ने कुरामा स्पष्ट ज्ञान राख्न आग्रह गर्दछु।
यसको अर्थ के हो भने, नेपालको सन्दर्भमा सामाजिक सुरक्षाको प्रावधान श्रमिकहरूले श्रम गरे पश्चात प्राप्त गर्नुपर्ने साप्तहिक बिदा, सार्वजनिक बिदा, वार्षिक बिदा, घर बिदा, बिरामी बिदा, सञ्चयकोष, उपदान, ग्रेड, बोनस लगायतका श्रमअधिकार कुल श्रम क्षेत्रको केवल ६ प्रतिशत औपचारिक श्रम क्षेत्र (जसलाई १०० प्रतिशत मान्दा केवल १९ प्रतिशत औपचारिक श्रम क्षेत्रमा मात्रै कार्यान्वयन गरिएको थियो र छ।) को सीमित क्षेत्रमा मात्रै कार्यान्वयन गरिएकोले शतप्रतिशत श्रम क्षेत्रमा कार्यान्वयन गर्ने उद्धेश्यले श्रम ऐन २०७४ मा रोजगारदातालाई केही सहुलियत दिएर हालको सामाजिक सुरक्षा कार्यक्रम ल्याइएको हो भन्ने कुराको सही ज्ञान राख्न उपयुक्त हुन्छ।
यसर्थ हालको ३१ प्रतिशत कमाइको जुन कुरा तपाईंले गरिरहनु भएको छ, त्यो तपाईंले भन्ने गरेको निजी क्षेत्रले नेपाली श्रमिकहरूलाई नदिईकनै हालसम्म ठग्दै आएका छन्, श्रमिकहरूले पाउनुपर्ने रकम उनीहरूले नपाएको कुरा चाहिँ तपाईंले उठाउनु चाहनु भएन। जसको लागि नेपाली ट्रेड युनियनहरूले माथि उल्लेखित कानुनी सुविधा नेपालको श्रमक्षेत्रमा जसरी पनि लागू गराउनै पर्नै दायित्व रहेको छ।
त्यस कारण तपाईंले भन्ने गरेको श्रमिकहरू सामाजिक सुरक्षा कोषमा सूचिकृत हुन चाहँदैनन् भन्ने कुरा तथ्यले नै खण्डन गर्दछ र त्यो कुरा सही होइन।
वास्तविकता के हो भने रोजगारदाताले गर्नुपर्ने २० प्रतिशत योगदानबाट रोजगारदातालाई कसरी जोगाउने भनेर जानाजान गरिएको षडयन्त्रपूर्ण प्रचारबाजीमात्रै हो।
अन्तमा, कुनै पनि कार्यक्रम सुरूमै पूर्ण हुँदैनन् तपाईंले चर्चा गर्नु भएको सञ्चय कोष पनि अहिलेको अवस्थामा आइपुग्न झण्डै ५०/६० वर्ष लागेको थियो।
यसर्थ के विश्वास छ भने तपाई जस्तै विद्वानहरूको आलोचना तथा सुझावले नै आगामी केही वर्षभित्र सामाजिक सुरक्षा कोषको केही स्वभाविक कठिनाइहरूलाई अवश्य समाधान गरिन्छ। तर यसको लागि हाम्रो पहिलो आवश्यकता भनेको जसरी हुन्छ बिदा,ग्रेड,सञ्चयकोष,उपदान,तथा बोनस सबै श्रमिकहरूले पाउनै पर्ने अवस्था सिर्जना गराउनु छ।
सामाजिक सुरक्षा कोषमा जम्मा भएको श्रमिकको पैसा कसैले पनि खान सक्दैन।
सामाजिक सुरक्षा कोषमार्फत् नेपाली श्रमिकहरूको अवकाश पछिको जीवनलाई सुखमय बनाउनै पर्ने दायित्वप्रति नेपाली ट्रेड युनियनको प्रतिबद्धता तपाईंमार्फत् सम्बन्धित सबैमा पुन: प्रवाह गर्न चाहन्छौं।