राजनीति भनेको राज्य व्यवस्था चलाउने नीति हो। हरेक जनताको हकहित र अधिकारलाई सुनिश्चित गरेर मुलुकलाई विकासतर्फ उन्मुख गराउने कुरा यस नीतिभित्र पर्छ।
तर आज आम जनताको माझमा राजनीति एउटा नैराश्यता सिवाय केही बनेको जस्तो लाग्दैन।
यस देशको एक युवा भएको कारण सोच्न बाध्य हुन्छु, ‘के मेरो देशका युवा शक्ति पनि यहाँको राजनीतिक परिवेशका कारण विदेश पलाएन भएका हुन् त?’
मेरो देश आज यस्तो दलदलमा फसेको छ कि यहाँ युवा क्षमताको कुनै कदर नै गरिँदैन। केही समय अगाडि सम्पन्न भएको दक्षिण एसियाली खेलकुद (साग)का खेलाडीहरूको व्यथा र आँसुले नेपाली युवा क्षमताको कदरसँगै हामी जस्ता युवाहरू पलायन हुनुपर्ने बाध्यतालाई उदांगो पारिसकेको छ।
कृपया सरोकारवालाहरू यदि तपाईंहरूमा देशप्रति अलिकति पनि माया र सद्भाव छ भने हामी युवाहरूलाई सहयोग र समर्थन गरिदिनुहोस् तर हाम्रो क्षमतामाथि राजनीति नगरिदिनुहोस्।
यदि युवा शक्ति राजनीति मुक्त हुने हो भने देशमा रेल मात्र होइन हामी नेपाल आमालाई साक्षी राखेर अबको पन्ध्र वर्षभित्र रकेट उडाउने जनशक्ति उत्पादन गर्न सक्छौं।
विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका दक्ष नेपाली जनशक्तिहरू युरोपको कुनै कुनामा सामान्य रोजगारी गरेर बस्न बाध्य छन्।
मुलुकको विकास र निकासका निम्ति दुरदर्शितासँगै युवाहरूलाई उचित अवसर सिर्जना गर्न अनुकूल वातावरण मिलाइदिनु राज्यको दायित्व हुन्छ।
हामीले अवसर सिर्जना गरिदिनु भनेका छैनौं, नयाँ सोच हामीसँग पर्याप्त छ। हामी आफैं अवसर सिर्जना गर्न सक्षम छौं। तपाईंहरू हाम्रो क्षमतालाई कदर गर्दै राजनीतिलाई देशको मूल नीति बनाएर देश हाक्नुहोस् तर हाम्रो कुशलतामा विन्ति राजनीति नगरिदिनुहोस्।
नेपाल आमा फेरि पनि आफ्ना छोराछोरी पलायन भएको हेर्न चाहान्नन्। आज एउटा वैज्ञानिकले देशको लागि कुनै आविष्कार गर्नका निम्ति आफ्ना पदक धितो राख्नुपर्ने अनि सरोकारवालाहरूलाई देश विकासको छलफल गर्न पाँचतारे धाउनुपर्ने?यो कहाँको न्याय?
देशले हरेक पटक यस्तै यावत् कुराहरूले धेरै महावीर पुनहरू गुमाएको छ। धन्य छ तिमीलाई जो यस मुलुकमा नै केही गर्छु भनेर आफ्ना अमूल्य पदकहरूको मूल्य खोजिरहेका छौ।