कमर्सियल बैंकहरुसँग मेरो अनुभव सधैं सुखद रहँदैन। केही वर्षअघि एसबिआई बैंकको एक शाखाबाट आफ्नै एकाउन्टको स्टेटमेन्ट माग्दा प्रति पेज यति तिर्नुस् भन्दा स्वभावत म खुसी हुन सकिनँ। आफूले विरोध जनाएपछि भने स्टेटमेन्ट निशुल्क नै पाएँ।
कामको सिलसिलामा बिहान १० बज्दा नबज्दै पोखरा चिप्लेढुंगास्थित नेपाल इन्भेष्टमेन्ट बैंकको शाखामा पुगेँ । कोरोना भाइरसका कारण हुनुपर्छ, भित्र पस्नुअघि सुरक्षाकर्मीले हत्केलामा राखिदिएको सेनिटाइजरको थोपाबाट भाइरसमुक्त भइयो।
भित्र पस्नासाथ भौतिक सुविधासम्पन्न आधुनिक र चिटिक्क परेको कार्यकक्ष, त्यसमाथि आधुनिक साजसज्जामा सजिएका स्मार्ट कर्मचारी, हेर्दा व्यवस्थापन पनि त्यति नै चुस्त होला भन्ने अनुमान गर्न गाह्रो छैन।
तीनवटा काउन्टरमध्ये एउटा काउन्टरमा लाइनमा बस्न पुगेँ। लाइन त्यति लामो थिएन। चारजना पछिको पाँचौंमा म नै हुनपुगेँ। चेक साट्न र रकम जम्मा गर्न एउटै लाइनमा बस्नु पर्ने थियो।
एउटा काउन्टर क्लियरन्सको लागि छुट्याइएको थियो। मलाई आफू भन्दा अघिकाको काम सकिन धेरै बेर लागेको अनुभव भयो। अगाडि एकजना विदेशीको सायद लामो समय लाग्ने कारोबार थियो। त्यतिकैमा त्यो काउन्टरबाट सँगैको अर्को काउन्टरमा हामीलाई लाइन बस्न भनियो।
आफू भन्दा पछाडि बसेका व्यक्ति फूर्तिसाथ अर्को लाइनमा अगाडि बसेपछि म र मेरो अगाडि बस्ने युवती ट्वाँ पर्यौँ। जे होस सकेसम्म एउटै काउन्टरबाट मात्रै चेक र रकम जम्मा गर्ने गरी सेवा पुर्याउने बैंकको मारमा हामी पर्यौँ।
कार्यालयबाट दुई घण्टाको समय मागेर आएको मलाई भने अर्को काम पनि पार लगाउनु थियो। काठमाडौंबाट पोखरामा सरुवा भई आएको मलाई बैंकको मात्र होइन कि वर्षको एक पटक मात्र बुझाए पुग्ने बीमाको प्रिमियम बुझाउन रामशाहपथमा रहेको राष्ट्रिय बीमा संस्थानको शाखा अब पोखरामा खोज्न पर्ने भयो। उस्तै नामले झुक्याउने राष्ट्रिय बिमा कम्पनीको कार्यालयलाई गुगल म्यापले देखाइदिँदा पृथ्वीचोकको एक चक्कर लगाएपछि बल्ल नेपाल बैंक भवनको पहिलो तल्लामा संस्थानको कार्यालय भेटियो ।
प्रिमियम बुझाउन नेपाल बैंककै नाममा भौचर काटिएको हुँदा तल्लो तल्लामा रहेको नेपाल बैंकको कार्यालयभित्र पसेँ। कक्ष ठूलो र आधुनिक थियो। सेवाग्राही बस्न आराम कुर्सीदेखि खानेपानी र एलइडी टेलिभिजन सहितको फराकिलो कक्ष, भित्र भने मानिसको संख्या उल्लेख्य थियो।
टोकन नं. बोलाउला भनेर पर्खेर बसी रहेका सेवाग्राही यहाँ पनि अधीर देखिन्थे। डिस्प्लेस्क्रिनमा भर्खर २२ नम्वर देखाउँदै थियो। आफूलाई भने ४३ नम्वरको पालो पर्खिनुपर्ने भयो। अझ पछाडि थपिँदै गएर ६२ नम्वर पुगिसक्यो। एउटै काउन्टर मात्र खुला गरिएपछि पालो पर्खने सेवाग्राहीहरु हतासमा देखिन्थे।
कहिले आफ्नो पालो आउने हो ठेगान थिएन। देखाउनका लागि त चारवटा काउन्टर थिए। यत्तिकैमा दुईजना वृद्धवृद्धाको जोडी काउन्टर तिर लाग्यो। उनीहरुलाई पनि काउन्टरमा बसेकाले टोकन लिन लगाए। उनीहरुले मेरो अघिल्तिरको कुर्सीमा आफ्नो पालो पर्खन लागे। ग्राहक थपिने क्रम जारी थियो। म भने अधीर भै सकेको थिएँ।
अघिल्तिर गएर अनुरोध गरेँ– ‘भीड बढिरहेको छ , एउटा काउन्टरबाट मात्र सेवा प्रवाहित हुँदा अति नै सकस भयो। त्यसमाथि वृद्धवृद्धाहरु समेत छन्। एउटा अर्को काउन्टर पनि खोलेमा छिटो पालो आउने र सेवाग्राहीलाई सुविधा हुने थियो।’
जवाफ आयो ‘स्टाफ कम छ त्यसैले प्रबन्धकज्यूलाई नै भन्नु होला।’
म प्रबन्धक भेट्न पुगेँ। फेरि जवाफ उस्तै आयो। ‘स्टाफ कम छ। केही विदामा छन्। दुईवटा काउन्टर त खुलै छन् नि!
एउटा काउन्टर त सुनचाँदी धितोको लागि रहेछ। अर्थात चेक साट्न जाने र रकम जम्मा गर्न जानेहरुलाई एउटै काउन्टरमा राखिएको पो रहेछ।
‘म्याडम, एउटा चेक साट्न वा केही रकम जम्मा गर्न तपाईंको शाखामा दिनभर कुर्न न त मसँग समय छ, न कुनै रुचि नै’ झर्किँदै जवाफ दिएर मैले
टोकन त्यही च्यातेर निस्केँ।
बीमा कार्यालयतिर लागेँ। त्यतिञ्जेलसम्ममा मेरो आफ्नै कार्यालयबाट फोन आइसकेको थियो, मैले लिएको २ घण्टाको अवधि सकिएको थियो। यो समस्या सेवा लिन कमर्सियल बैंक पुग्ने हरेक व्यक्तिको भोगाइ हो। नेपाल इन्भेष्टमेन्ट बैंक र नेपाल बैंक त प्रतिनिधि बैंक मात्र हुन्।
केही समयअघि एसबिआई बैंक न्यूरोडमा काम विशेषले जाँदा यति धेरै भीड थियो कि मानौं कुनै बजार हो। प्राय बैंकले चारवटा काउन्टर देखाउन कै लागि राख्ने अनि काम भने एउटै काउन्टरबाट सबै सेवाग्राहीलाई झोस्ने बैंक कसरी सेवामुखी हुन सक्ला?