आदरणीय अभिभावक ज्युहरू,
नमस्कार,
आराम छु, तपाईं लगायत सम्पूर्ण परिवारलाई आरामै होस् भनी पशुपतिनाथसँग प्रार्थना गर्दछु।
आज म घरै बसेर यो पत्र लेख्दैछु,आशा छ तपाईं पनि लकडाउनको पूर्ण पालना गर्दै सुरक्षितसाथ घरै हुनुहुन्छ। अहिले त बिहान सबेरै नानीबाबु नउठ्दै काममा जानुपर्ने र सुतिसकेपछि घर आइपुग्ने बाध्यता पनि छैन होला। हतारै हतार पनि नहोला।केही समय फुर्सद होला। अलिकति समय निकालेर यो पत्र पढिदिनुहोला।
हिजो मलाई फुर्सद छैन सबै जिम्मा स्कुललाई दिएको छु। ट्युसन क्लास समेत गर्दा ६ देखि ८/९ घण्टा स्कुलमै बस्छन्। सबै कुरा स्कुलमा सिकाइ दिनुपर्यो भन्नुहुन्थ्यो। आज तपाईं फुर्सदमा हुनुहुन्छ। नानीबाबुहरू २४ सै घण्टा तपाईंसँग छन्। केहीकुरा सिकाइदिनुहोला।
हामीले जान्ने भए किन स्कुल पठाउथ्यौ भन्नुहोला। तर म आज तपाईंले जानेकै व्यवहारिक सीप सिकाइदिनुहुन अनुरोध गर्दैछु।
छोराछोरीले पहिलो संस्कार अभिभावकबाटै सिकेका हुन्छन्। त्यसैले यो पत्र आज म एउटा उदाहरणबाट सुरू गदर्छु।
अभिभावकलाई विद्यालयबाट पत्र आयो। जसमा लेखिएको थियो, 'तिम्रो छोराले पढ्न सक्दैन, अरू विद्यार्थीसँग स्तर नै मिल्दैन। त्यसैले भोलिदेखि विद्यालय नपठाउनू।'
आमाले पत्र पढेर आइन्स्टाइनलाई भन्नुभयो, 'बाबु, विद्यालयले भनेको छ, तिम्रो पढाइको स्तर अरू विद्यार्थीभन्दा उच्च छ, विद्यालयले तिम्रो स्तरलाई पढाउन सक्दैन रे, त्यसैले तिमी भोलिदेखि घरमै बसेर अध्ययन गर्नू ।'
आइन्स्टाइनले विश्वास गर्नुभयो र घरमै अध्ययन गर्न थाल्नुभयो।
उनै आइन्स्टाइनलाई आज हामी भौतिकशास्त्रका वैज्ञानिक भनेर चिन्छौं।
त्यसैले उचित खानपान, योग, ध्यान र अनुशासन छोराछोरी र अभिभावक दुवैमा जरूरी छ। उनीहरूको लवाइ, खुवाइ, बोल्ने भाषा, चालचलन र अनुशासन घरको व्यवहारले प्रभाव पर्ने हुँदा घरबाट यी कुरा ख्याल गरिनुपर्दछ।
सकारात्मक सोच, शारीरिक व्यायाम, योग, ध्यान र सन्तुलित भोजनले मन प्रफुल्ल हुन्छ, शान्त हुन्छ र शान्त मनले पढाइलाई सहयोग गर्दछ। त्यसैले यी कुरामा अभिभावकले ध्यान दिनै पर्दछ।
नानीहरू तपाईंसँग बसेर भलाकुसारी गरी तपाईंकै अगाडि हाँस्न, खेल्न, रमाउन चाहन्छन्। छोराछोरीको भविष्य राम्रो गर्नुमा तपाईंहरूको पनि ठूलो हात रहेका हुन्छन्।
तपाईंको सकारात्मक व्यवहारले सकारात्मक सोचको विकास गराउँछ। छोराछोरीबारे अहिले नै विचार पुर्याउनु भएन भने तपाईंले वर्षौंवर्ष लगाएर कमाएको धन सम्पत्ति एकै घन्टामै नष्ट गर्ने खालको पनि बन्न सक्छ। उदाहरण हाम्रासामु धेरै छन्।
त्यसकारण तपाईंले आफ्नो छोराछोरीको हरेक पाइला पाइलामा ध्यान पुर्याउनै पर्छ।
सकारात्मक वातावरण सिर्जना गरी तपाईंको परिवार, समाज अनि देशको विकास गर्ने भावना भएको इमान्दार छोराछोरी बनाउने वातावरण सिर्जना गर्नुपर्छ। यो फुर्सदको समयलाई सुनौलो अवसरको रूपमा लिई सदुपयोग गर्नुहुनेछ भन्ने पूर्ण विश्वास लिएको छु।
बिहान सबेरै आफैंसँग उठाउनुहोस्। आफ्नो बेड आफैं मिलाउन लगाउनुहोस्। नुवाइधुवाई गरेर पानी पिएर सामान्य योग व्यायाम गराउनुहोस्।
चिया बनाउन सिकाउनुहोस्। तरकारी केलाउन,काट्न,पखाल्न सिकाउनुहोस्। खाना पकाउँदा सँगै राख्नुहोस्। किचनका सामानहरूको नाम,तरकारीहरूको नाम,फलफूलहरूको नाम,अन्नअनाजका नाम भन्नुहोस्। एकदलीय र दुईदलीय अन्न , झारपात वुट्यान र रूख छुट्टाउन,फूल फुल्ने र नफुल्ने बिरूवा छुट्टाउन,घडी र पात्रो हेर्न सिकाउनुहोस् सेकेण्ड,मिनेट,घण्टा,दिन,हप्ता,महिना र वर्षको बारेमा बताउनुहोस्।
तपाईंको घरमा भएका जनावरको नाम सिकाउनुहोस्। चराचुरूङ्गी,घरपालुवा र जंगली जनावरको सूची बनाउन सिकाउनुहोस्। तिनीहरूको चित्र कोर्न र रङ भर्न लगाउनुहोस्। घरवरिपरिका समानको आकार र रङ चिनाउनुहोस्। आफ्नो परिवारका सदस्य र छिमेकीहरूको नाम नातासम्बन्ध सिकाउनुहोस्। बाबुनानीसँगै गीत गाउनुहोस्,नाच्नुहोस्। जान्नुहुन्छ भने कथा कविता सुनाउनुहोस्।
वाद्यवादनका सामग्री बजाउन सिकाउनुहोस्। नैतिकता,इमान्दारिता र आत्मअनुशासन सिकाउनुहोस्। मीठो बोल्नुहोस्। आदरार्थी शब्दको प्रयोग गर्नुहोस्।
उनीहरूले खाने जङ्क फुडदेखि फोन, ट्याबहरूमा खेल्ने भिडिओ गेमसम्मको असर बालबालिकाको मनोविज्ञानमा परेको हुन्छ। त्यसैले ल्यापटप,मोबाइल र प्याड बच्चालाई आफूसँगै राखेर देखाउनुहोस्। इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने‘इमिडास लर्निङ एप,रमाइलो पढाइ जस्ता अप्लिकेशन प्रयोग पनि गर्नसक्नुहुन्छ।
एक-दुई ओटा प्राइभेट स्कुलले सञ्चालन गरेका अनलाइन क्लासलाई देखेर चिन्तित नहुनुहोस्। यो अवस्था र परिवेशमा हाम्रो जस्तो देशले अनलाइन क्लास सञ्चालन गर्न कठिन छ।
यस्तै अवस्था रहिरहे विद्यार्थीको पढाइमात्र होइन मूल्यांकन पनि लिखित परीक्षाबाट मात्र नभएर परीक्षाका अन्य साधन प्रयोग गरी माथि उल्लेखित व्यवहारिक सीपको मापन गरी माथिल्लो कक्षामा लैजाने समय पनि नआउला भन्न सकिँदैन।
आजलाई यत्ति धन्यवाद!
( लेखक पौडेल नेपाल नमूना मावि, देवचुली-१ केउरेनी नवलपुरका शिक्षक हुन्।)