सम्माननीय सभामुख महोदय,
हुन त म माननीय सदस्य त होइन तर पनि बाध्यात्मक परिस्थितिले आम बाँदर पीडित किसानहरुको प्रतिनिधि बन्दै यो पत्र सदनमा पेश गरि संसदमा अनुमोदन गराउन साडे सात मिनेट समयको लागि यहाँबाट अनुमति चाहन्छु।
सम्माननीय सभामुख महोदय,
बजेट विनियोजन २०७७/७८ को पूर्व सन्ध्यामा म एउटा साधारण किसानको छोरा, हाल बाँदर पीडितको सादर नमस्कार! आश्चर्य लाग्न सक्छ, कोरोनाको यत्रो महाव्याधि चलिरहेको बेला र संसदमा त्यत्रो बडेबडे नीतिहरुको छलफल चलिरहेको बेला, यी निम्छरा किसानका आवाज किन र कसरी गुन्जित भयो भनेर।
हो, म मेरा र मेराजस्तै बाउआमाका निम्छरा आवाजको प्रतिध्वनि हो जसको आवाज गाँउको सिंहदरबारले त सुन्यो तर काठमाडौकोले सुनेन। र, अन्ततः हाम्रा समस्या ज्यूका त्यू नै रह्यो। एउटाले खेती गरे अर्कोले दिनभर बाँदर कुर्न पर्ने मेरा बाउआमा, कसरी र कहिले कसलाई गुहार्न, घर छाडेर कहाँ जाने उछारबाटो पनि कसरी पाउन् र?
म तिनै बाउआमाको पसिनाले माइतीघरको कलेजमा पढ्दै गर्दा कुनै दिन शिक्षकले कक्षामा 'हे मङ्किज ह्वाई डन्ट यू लिसन मी' भन्दा घरमा आमाले 'तलाई ढेडु अझ टेर्दैनस्' भनेजस्तो मानेर झस्किने गर्थे। त्यतिबेला त कल्पना थियो तर आज त व्यवहारमा आमाको ठाउँमा म छु।
र, अहिले कोरोनाले भन्दा बाँदर आतंकले सदियौँदेखि कतिसम्म आक्रान्त बनाइराखेको छ मेरो गाउँघर भन्ने कुराको कारुणिक आवाज यहाँ समक्ष बिसाउन विवश छु।
सम्माननीय सभामुख महोदय,
म यो पत्र कुनै भावनामा बगेर रहरले कोरिरहेको छैन। म त मेरी आमाको थकित सुस्केराँ र मेरो बुवाको मलिन अनुहारले माटो मल्याउदै गरेका ती औजारहरुले शोकधुन पाखापखेरामा बाँदर धपाउँदै विश्राम लिदै यो पत्र लेखिरहेको छु। माफ गर्नुहोला, कोरोनाको महामारी र यसले पार्ने सङ्कटबाट उन्मुलन हुन तय गरिएको नीति र छलफल कार्यक्रममा सरकारको संवेदनशीलतालाई एकैछिन आफ्ना वेदनातिर मोड्न बाध्य भएको छु।
सम्माननीय सभामुख महोदय,
आज मलाई र मेरो गाउँलाई कोरोनाको भन्दा बाँदर आतंकको अचाकली र असह्या पीडाले पोलिरहेको छ। म यो बन्दाबन्दीको सुरुआतदेखि नै प्रायजसो दिनको बिहान र दिउँसो आफ्नै बारीमा क्वारेन्टिन हुन विवश छु। कहिले बाँदर आएर त कहिले आइरहने बाँदर आइ पो हाल्छन् कि भनेर।
म यसरी क्वारेन्टिन हुँदै छु जसरी यो कोरोना अगावै वर्षौदेखि मेरी आमा बसिरहेकी हुन्थिन्। क्वारेन्टिनमा त नि:शुल्क खान बस्न पाइन्छ रे भन्ने कता-कता अखबारमा सुन्ने गर्छु। तर यहाँ त बाँदरले गर्दा शुल्क तिरेर ल्याएको अर्नी(खाजा) पनि सुविस्ताले खान नपाउने धपेडी हुन्छ।
बाँदरले अहिले बारीमा भर्खर जुँगा हालेका मकैदेखि बुढी आमाले बारीमा छर्न भनेर पटुकिमा राखेको बोडी समेत छोड्दैन। केही नपाउँदा घर अगाडिको साग समेत उखल्छ। पिँडीमा बसी खान लागेको भाग पनि मौका पाए उचाल्छ। झाङिएर झपक्क फलेका फलहरु आँखाले हेर्दाहेर्दै टपक्क टिपेर लैजान्छ। सबैलाई आ-आफ्नो जोगाउनु छ। एउटा मान्छे कता-कता दुगुर्नु?
बल्लतल्ल जोगाएर भित्र्याएको सिल्टिम दिउँसो सुपोमा सुकाउँदा आँखा एकैछिन झिमिक्क त बाँदरको मुखमा कुटुक्क हुन्छ। जेनतेन जसरी हुन्छ त्यसरी उब्जाएका अन्नपात मेरा बाउआमालाई पूर्वजन्मको पापको सजाय जसरी यसरी बाँदरले आजित पार्दा कति मन कटक्क खाइरहेका होला? सोच्नुहोस् त।
सम्माननीय सभामुख महोदय,
आज म तिनै बाउआमाको प्रतिबिम्ब बोलिरहेको छु जो बाँदर अतिक्रमणले वाक्कदिक्क भएर ती अग्निमुखी स्वरहरु पनि सेलाउदै जाँदा तपाई/हाम्रो प्रकाशभन्दा कोसौँ पर ओझेलमा परिरहेका छन्। तिनै थकितहरुको स्वरमा रोदन हो यो मेरो।
बाँदरले आक्रान्त मेरो समाज आज यतिसम्म भैसक्यो कि कोही पाहुना आफन्त भित्रिए भने पनि गाउँमा जोकोहिले पहिला 'तपाईंका घरतिर कत्तिको लाउँछन् त नि यी जात' भनेर जिज्ञासा राख्न थालिसकेका छन्। यतिसम्म कि चाहे त्यो बच्चा होस् या बृद्ध, बोल्न सक्ने जोकोहीको सायद कुनै दिन हुँदैन जसले बाँदर र चेचे लखइ लखइ मुखरित गरेको हुँदैन।
सम्माननीय सभामुख महोदय,
तपाईलाई म अस्तिभर्खरको घटना पनि सुनाउन चाहन्छु जुन दिनलाई हाजिरीजवाफमा सोध्न सकिने ऐतिहासिक दिन पनि भनिएको थियो। हो त्यही दिन मलाई घरमा बाँदर कुर्ने जिम्मा लगाएर मेरा बुवाआमा कुटोकोदालो बोकेर बेसीको खेततर्फ लाग्नुभयो।
यतिबेला घरमा बाँदर कुर्ने पाको मान्छे भएको भन्ने भरोसा लागेर पनि हुनसक्छ आजकल मेरा बाउआमा खेतबारीमा निकै पौरख गर्नुहुन्छ। कसका बाउआमालाई पो इच्छा हुँदैन र आफ्ना छोराछोरी घर छाडेर पढ्न जाँदा खानेकुराले पोको अलिकती ठूलो बनाइदिम् भनेर।
आफ्ना सन्तानको माया र भविष्यको लागि जेठ महिनाको चर्को घाम पनि नभनी खेतबारीमा दिनभर पसिना बगाएको मर्म मैले नबुझेको पनि होइन। यस्तै-यस्तै कुरा मनमा खेलाउँदै त्यस दिन बारीमा सुन्तलाको रुखमा आड लगाएर बाँदर कुर्ने जिम्मेवारी बहन गर्दै थिएँ।
मेरो गाउँ नामले केराबारी भएपनि आमले चिन्ने भनेको सुन्तला खेतीकै लागि भनेर हो। थोरै-थोरै भए पनि यहाँ प्रायःजसोले सुन्तलाबाट आम्दानी गरिरहेका हुन्छन् र त्यस्तै हामीले पनि। त्यो दिउँसो रुखमा आडेस लगाउदै दालमोठको पोको खोली साइडमा राखेर मोबाइलको स्क्रिन खोली एनिबुक नामक कपडामा शब्दरुपी बिस्कुनहरु खेलाउँदै, ओल्टाउँदै, पोल्टाउँदै र घरीघरी बाँदरलाई झुल्काउँदै थिए।
यत्तिकैमा घडिले २:१५ को सङ्केत दिँदा 'खबरपाटी' लाइभ आएको टुङ्ग घन्टी मोबाइलमा बज्यो। मैले पनि सम्झिहाले, ओहो आज त लिम्पियाधुरा, कालापानी, लिपुलेक सहित नेपालको सबै भूभाग समेटेर नयाँ नक्सा सार्वजनिक गर्ने दिन। अझ त्यो पनि हाम्रै क्षेत्रको प्रतिनिधि ज्युबाट।
चुच्चे नक्सा हेर्न यो मन आतुर थियो। यताउता हेरे सुनसान थियो। त्यसैले एकैछिन त हो भनेर हत्तपत्त गर्दै घरभित्र टिभिकोठा छिरेँ र एकसाथ प्लगमा औलाले थच्याक्क पारेर नेपाल टेलिभिजन लगाउन रिमोटलाई आदेश दिए। अलिकति ढिलो पुग्दा पनि मलाई नै पर्खेजस्तो भर्खर सुरु हुँदै थियो।
अनि त म वर्षौंदेखिको आर्तनाद बिसाउन घोइरिएको जस्तो घोरिइ रहे त्यही टिभिको सानो स्क्रीनमा देखाइएको ठूलो नक्सामा र हाम्री मन्त्राणीको प्रफुल्ल आवाजमा। एकैछिनमा औपचारिक घोषणा सकियो र टिभि बन्द गरेर आफूलाई कस्तो संजोग ठ्याक्कै हेर्न पाए सोच्दै घरबाहिर आँगनमा निक्लेको के थिए बाहिर हेर्दा त न करेसाबारीको झ्याक्रो उभिएको न काक्रो घोक्रीएको।
सबैतिर गाउँमा हल्ला र खल्ला उहीँ माओवादीको आतंकजस्तो झल्को आउने। फरक यत्ति थियो त्यतिबेला मान्छेले बाँच्नलाई ग्वार-ग्वार(गुहार गुहार) भन्थे भने अहिले खेतीपाती बचाउनलाई चेचे लखइ समाइ (कुकुर लाखु बाँदरलाई समात्) भन्दछन्। टिन ठटाउनी कुकुर भुक्नी बाँदर चच्या र चु चु गर्दै बाँसघारीमा झम्ल्याङ झम्ल्याङ हाम फाल्दा गाउँमा ठूलै हल्ला भयो।
काइला बाको धानको भकारीमा छिरेछ, राइला बाको सरकारी तलबबाट किनेको तरकारी समेत ढाडमा भिरेछ। यता हाम्रो पनि भर्खर बिबिरा जस्ता परेका सुन्तलादेखी मुन्तलासम्म, भोगटे, चिचिन्नो, सिमी, करेलो,घिरौला आदि त्यादी रोजी-रोजी खान मिल्ने खाए र नमिल्ने भुइँभरी छिरलेर विनाश नै पारेका थिए।
ती बारीका लौका, कतिबेला लैजाने पाउला र मौका... भनेर घुरेर बस्ने बाँदरलाई म कतिन्जेल पो सिपाही भएर कुर्न सक्थे होला र खै? आज टिभि नहेरेको भए पनि त्यसरी डाकेर बस्नेलाई म कतिन्जेल पो तघारो बन्न सक्थे होला र?
घरको जुठोभाँडोदेखि बारीको रेखदेख गर्ने मेरी आमालाई यसरी कति सताएका होलान् यी बादरले? अब म बेलुका आमालाई कसरी मुख देखाउनु? र, सोच्छु यो दिनलाई म अब कसरी सम्झौँ? सायद यस्तै विडम्बना, त्यो दिन घर कुर्ने मजस्ता सबैको थियो। सबै गाउँले बाँदरबाट वाक्क-दिक्क प्याक्क छन्।
कतै भोलि यस्तै पाराले हातमुख जोड्न नै गार्हो हुने हो कि भनेर सबै किसान त्रसित र आतंकित छन्।
सम्माननीय सभामुख महोदय,
यसरी आजित हुँदै घुडामा चेपु अडाएर टन्टलापुर घामले तातेको सिमेन्टको पिँडीमा तेसारिदै म कहिले देश सम्झन्छु त कहिले तिनै बाँदरले निमोठेर छाडेका शेष सम्झन्छु। लाग्छ, मेरो देश पनि कतै मान्छेरुपी दुई खुट्टे बाँदरले भड्खालोमा खसाल्दै त छैनन्?
चुडालेको झाल त ल उमारौला फेरि तर देश र ती हजारौंको बलिदानले स्थापित व्यवस्था ज्यूदै मर्यो भने? यहाँका बाँदर त साझ परेपछि हल्लाखोर गरेपनि रातभरी त सुनसान तरिकाले बास बस्छन् तर मैले सुनेको दरबार वरपरका भलाद्मी बाँदर त आफ्नो निवास छाडी-छाडी गुट उपगुट मिलेर आफ्नै घर भत्काउने र अरुलाई अपहरण गरेर बबन्डर मच्चाउनेजस्तो कूकृत्यमा 'जब राति बुढी ताती' जसरी सरिक हुन्छन् अरे!
भनिन्छ, बाँदरले आफ्नो घर पनि बनाउदैन र अरुको पनि बनाउन दिन्न। हो त्यस्तै शंका छ मलाई पनि। कतै उनीहरूको घर पनि नटिक्ने र हाम्रो देश पनि नबन्ने हुने त होइन? यहाँका असभ्य बाँदरले बरु देखेजति मेरै होनि राज जमाउन खोज्छन् तर सुन्ने गर्छु, खाल्डो पसेका हाम्रा सभ्य बाँदरले त आफ्नै अड्डामा अरुले कब्जा जमाउँदा पनि पत्तो समेत पाउदैनन् रे, अझ त्यस्तो सुन्दा छक्क पर्ने गर्छन् अरे!
यता जिम्मवाल बाको घरको आँगनमै गएर पालिएको भोटे कुकुरलाई समेत झाप्पड हान्न सक्ने यहाँका बाँदरको बहादुरी देख्दा उता खाल्डो छिरेका सभ्य बाँदर भनिनेको दयनीय अवस्था देखेर के गर्नु? गिजाउँ कि झैँ लाग्छ।
सभ्य भनिनेलाई सुधार्न पनि मजस्ता र मभन्दा कस्ता कस्ताले घोक्रो सुकाए टेबल ठटाए तर चाला यस्तै छ- रातभरी करायो दक्षिणा हरायो जुन तपाईलाई राम्रोसँग अवगत नै छ। हो यसरी नै हो हामी जता गए नि सधै बाँदर पीडित भन्न खोजेको।
सम्माननीय सभामुख महोदय,
अहिले छाडिदिउ ती खाल्डोका कुरा। र, म यहाँ ती ठूला सपना देखाउन खोजेको पनि होइन। प्रसंगवश त्यस्ता कुरा आएकोमा म माफी चाहन्छु। मलाई त बस् मेराजस्ता बाउआमाले दिनरात दु:ख गरेर जेनतेन जोडेको अन्न र फल मान्छेको मुखमा नपरी बाँदरकोमा परेर यस्तो हविगत कसैको नहोस् भन्ने मात्रै हो।
पोहोर परार सालबाटै सुनिएको हो, हनुमान नगरबाट पानी जहाजको टिकट काटेर स्वदेशी उत्पादन कलकत्ताको बजार पुर्याउने भनेर। हो, म र मेरा बाउआमालाई पनि रहर छ आफ्ना बारीका उत्पादन स्वदेश-विदेश पुगुन् भनेर तर के गर्नु ठूलो कुरा गरेर मात्रै भएन।
सप्तरीको हनुमान नगर त्यसरी पुर्याउन त पहिले हाम्रा गाउँघरका हनुमान बाँदर नियन्त्रणमा हुनुपर्छ। उत्पादन बढाउने, १० वर्षमा दोब्बर बनाउनेजस्ता ठूल्ठूला कुरा गरेर मात्रै हुँदैन, भएकैलाई कसरी जोगाउने भन्ने आजको यक्ष प्रश्न हो।
सम्माननीय सभामुख महोदय,
बारीका पाटा र खेतका गरा हुन्छन् सबै हराबरा भन्ने मूल नारासहित अघिल्लो वर्ष यही सरकारले युवाहरूलाई कृषिमा प्रोत्साहन गर्ने र देशलाई कृषिमा आत्मनिर्भर बनाइ रोजगारी बढाउने भनेर आफ्ना नीति तथा कार्यक्रममा सार्वजनिक गरेको थियो। र अहिले पनि त्यस्तै २०/२२ ओटा बुँदा राखेर कृषिप्रधान भन्दै मिठा र रसिला कुरा राखिएको छ।
ठिक छ, हरावरा बनाउन त भोलिको म र आजका मेरा बाउआमा पिठ्यूँमा पानी बोकेर भए पनि राजी छौँ। बनाएकै पनि छौँ तर एउटा कुरा, त्यत्रो पौरख गरेर पनि फल हात नपर्ने आजको हविगत यस्तो छ भने भोलि तपाईका कागजमा लेखिएका ती कृषि आधुनिकीकरण, यान्त्रीकरण, विशिष्टिकरण र व्यवसायीकरण शब्दले मात्रै म कसरी प्रोत्साहित हुन सकुला र?
कृषिमा क्रान्ति भनेर अहिलेसम्म कतिले हौवा चलाए तर खै त क्रान्ती? जाबो बाँदरबाट पनि समाज शान्त छैन भने केको क्रान्ति?
सम्माननीय सभामुख महोदय,
अन्त्यमा, मार्क्स र लेनिन दर्शनबाट पुँजीवाद र श्रमिक वर्गका सम्बन्धमा खाँटी कुरा राख्ने प्रखर वक्ता तथा माननीय कृषिमन्त्री ज्यूलाई यसै पत्रमार्फत सोध्न चाहन्छु। अघिल्लो सालको कार्यक्रमलाई त राष्ट्रपति ज्युले बिना कुनै परीक्षा उत्साहवर्दक नतिजाको संज्ञा दिनुभयो तर अहिले तपाईले उल्लेखित गरेका २३(९८ देखि १२०) वटा बुँदाको व्यवहारमुखी परिणाम हेरेर जनताले उत्साहजनक भनि अनुमोदित गराउन तपाईका योजना के-कस्ता छन् त?
जनतालाई यस्तै साना कुरामा खुशी बनाउन तपाईको चिन्तनले सामर्थ्य राख्छ या राख्दैन? कोरोना नियन्त्रणमा जस्तै बाँदर आतंकलाई मत्थर पार्न पनि सम्बन्धित क्षेत्रका विज्ञहरु सम्मेलित एउटा टोली (एमसिएमसी) नै बनाएर हामीजस्ता किसानको समस्या न्यूनिकरण गर्न पनि कदम उठाउने पो हो कि?
यसतर्फ मन्त्रीज्यूको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु। र, आगामी वर्षको बजेट विनियोजनमा कृषिप्रधान देश भनेर सुँगा रटान लगाइए जस्तै कृषि क्षेत्रलाई प्राथमिकता दिइयोस् भनेर पनि स्मरण गराउन चाहन्छु। आशा छ, तपाईका शब्द र विचार पक्कै परिणाममुखी हुनेछन्। म लगायत हामी किसान आशावादी छौँ।
हवस् त, यति भन्दै सम्माननीय सभामुख महोदयलाई समयको अनुमतिप्रति हार्दिक कृतज्ञता प्रकट गर्दै किसानका उल्लेखित समस्या सुल्झाउन संसदमा अनुमोदन गराउनुहुनेछ भन्ने शुभेच्छासहित यो पत्रलाई यहीँ बिट मार्ने आज्ञा चाहन्छु। धन्यवाद!
उहीँ तपाईको,
बाँदर पीडित 'म' पात्र।