नमस्कार मन्त्रीज्यू,
म रुपनारायण श्रेष्ठ, अध्यक्ष समाजवादी विद्यार्थी युनियन। मैले यहाँलाई मन्त्रालयमै भेट्ने कोसिस गरेको हुँ। तर एक वर्षदेखि प्रयास गरे पनि असफल भएँ।
तपाईं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री हुनुहुन्छ। एक जिम्मेवार विद्यार्थी संगठनले महत्वपूर्ण कुरा राख्न खोज्दा एक वर्षदेखि भेट्न तपाईंले समय दिनुभएन।
मन्त्रालयमा भेट्न त समय दिनु भएन नै। मैले केही कुरा तपाईंसमक्ष राख्नुपर्ने छ। सेतोपाटीमार्फत् राखेको छु, आशा छ तपाईंले पढ्नुहुनेछ।
तपाईंलाई मेरा यस्ता छन् १५ प्रश्न:
१. राज्य कोषको लाखौं बजेट खर्च गरेर तयार पारिएको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन किन सार्वजनिक गर्नुभएन? कार्यान्वयन कहिले गर्नुहुन्छ?
२. विश्वविद्यालयहरूका पदाधिकारीहरूको नियुक्ति व्यवस्थापकीय क्षमता र प्राज्ञिक प्रतिस्पर्धाबाट नगरी दलीय र आफ्नै पार्टीको गुटगत भागबण्डाको आधारमा किन गर्नुभयो?
३. अरू विश्वविद्यालयका पदाधिकारीहरुको नियुक्ति रोकिनुको कारण, पूर्णता नपाउनुको कारण के हो? तपाईँहरूको स्वार्थअनुसार नभएसम्म विद्यार्थीको भविश्य लथालिङ्ग, भताभुङ्ग पारिराख्ने?
४. मेडिकल कलेजहरुमा भएको लुट किन रोक्नु भएन? मेडिकल कलेजहरुलाई कारबाही गर्न किन सक्नुभएन? आफ्नै पार्टीको विद्यार्थीसंगठनसँग सहमति गरेर आन्दोलनकारी विद्यार्थीसँग सहमति भएको भ्रम किन छर्नुभयो?
५. हाम्रा विश्वविद्यालयहरूलाई कार्यकर्ता भर्तीकेन्द्र गर्ने ठाउँबाट खोजमूलक विश्वविद्यालय बनाउने कामको थालनी कहिले गर्नुहुन्छ? आफ्नो मन्त्रीकाल सकिएपछि? कि बाँकी रहँदै!
६. विद्यालयको प्राचार्य र स्थायी शिक्षकहरूले नपढाउने, संगठन बनाउँदै राजनीति गर्ने क्रियाकलाप कहिलेबाट रोक्नुहुन्छ?
७. विश्वविद्यालयका प्राध्यापकहरूले निजी कलेजहरूमा विश्वविद्यालयको लोगो बेच्ने गरेका छन्। उक्त कार्य कहिलेबाट रोक्नुहुन्छ?
८. दलपिच्छेको शिक्षक संगठनहरू कहिले खारेज गर्ने?
९. तपाईंको नाम जोडेर मेडिकल कलेजको संचालकसँग २० करोड घुस मागेको विषय पत्रकार सम्मेलन गरेर बाहिर आएको थियो। त्यसमा को दोषी रहेछ? दोषीलाई के कारबाही हुन्छ? कारबाही नगरेर तपाईंले कुशासनलाई प्रसय गरेको हो?
१०. समृद्धिको आधार गुणस्तरीय शिक्षा हो। प्रत्येक वर्ष शिक्षामा बजेट वृद्धिको लागि सर्वत्र माग आएको हुन्छ। किन संबोधन गर्नुभएन रु नसक्ने वा नदिइएको हो भने मन्त्री भन्ने पद त्याग गर्न मिल्दैन?
११. तपाईं पुर्ब विद्यार्थी नेता हुनुहुन्थ्यो, नि:शुल्क वैज्ञानिक शिक्षाको भाषण र नारा खुबै गर्नुहुन्थ्यो। शिक्षामन्त्री पनि पटक-पटक हुनुभएको छ, त्यतिबेलाको भाषण र नाराहरू याद आउँदैन?
१२. तपाईंको पार्टीको एकल बहुमतको सरकार छ। तपाईं शिक्षामन्त्री हुनुहुन्छ। संविधानमा नै शिक्षा मौलिक अधिकार भनिएको छ, कार्यान्वयन कहिले हुन्छ?
तपाईं रहेको मन्त्रीमण्डलबाट पारित गरेर ल्याएको बजेटमा सामुदायिक विद्यालयको गुणस्तर बढाउने बहानामा नीजिलाई सुम्पिने विषय आउँदा थाहा भएन भनेर गैरजिम्मेवार स्पष्टीकरण दिएर बस्न सुहाउँछ?
१३. सामुदायिक विद्यालयहरूलाई क्वारेन्टाइन बनाइएको अवस्था छ। असार १ गतेबाट डिजिटल माध्यमबाट कक्षा संचालन गर्नु भन्दै गर्दा दुरदराजमा रहेका ग्रामीण इलाकाको विद्यालय र विद्यार्थीहरूको याद आएन?
के अनलाइन कक्षा देशैभरि चलाउन संभव छ? यस्तो हुँदै गएपछि सार्वजनिक विद्यालयहरूले नीजिसँग प्रतिस्पर्धा गर्न सक्छन्? अनि सार्वजनिक विद्यालयहरुमा विद्यार्थी नघटेर के हुन्छ त? परीक्षा लिने बोर्ड त एउटै होइन र?
१४. तपाईँ सरकारको मन्त्री हुनुहुन्छ। जिम्मेवार विद्यार्थी संगठनले महत्वपूर्ण सुझाब राख्न खोज्दा १ बर्षसम्म समय दिनुभएन। पूरै निषेध गर्नुहुन्छ। आफ्नो पार्टी निकटका विद्यार्थी संगठनका लागि गुट गुटसँग छुट्टाछुट्टै छलफल गर्न जतिपनि समय तपाईंसँग हुन्छ। के मन्त्रालय तपाईँको पार्टीको कार्यालय हो? के तपाईं नेकपा पार्टीको मात्रै मन्त्री हुनुहुन्छ?
१५. कृपया यी सबै प्रश्नहरुबारे शान्तमनले घोत्लिनुस् त माननीय मन्त्री ज्यू, तपाईंले अब राजीनामा दिनुपर्ने हो कि होइन?