नमस्कार! म केशव गजुरेल। म यहाँ आरामै छु। आशा छ तपाईहरु पनि त्यहाँ आरामै हुनुहुन्छ। अझै ढुक्क छु, उहाँहरु त्यहाँ सुरक्षीत र आराम हुनुहुन्छ। तर तिनीहरु उता आराम गर्दैनन्। तिनीहरुलाई आराम नै छैन। तिनीहरु सुरक्षित हुन चाहन्छन् तर वातावरण नै छैन।
म उहाँको राज्यमा बस्छु। उहाँ म बसेको राज्यमा शासन गर्नु हुन्छ। मेरो राज्यको शासक उहाँ। उहाँ मेरो राज्यमा आएर शासन गरेर शासक भएका हुन् कि म चै उहाँको राज्यमा आएर बासिन्दा बनेर बसेको हुँ? यो प्रश्नले मलाई सधै पिरोल्छ। तर फेरि यसको उत्तर पनि त म पाउन सक्दिनँ।
अनि आफ्नै मनलाई सोधिरहन्छु यो प्रश्न- 'उहाँ मेरो राज्यमा आएर शासन गरेर शासक भएका हुन् कि म उहाँको राज्यमा आएर बासिन्दा बनेर बसेको हुँ?' ग्रह नै मिल्दैन उहाँको र मेरो। उहाँ समाजवादको कुरा गर्नुहुन्छ। समाजवाद आउछ भन्नुहुन्छ। म उत्पादन वृद्धि नगरी समाजवाद आउदैन भन्छु। उहाँ समृद्ध र सुखी समाजको निर्माण गर्दै छु भन्नुहुन्छ। म नागरिकका सुक्ष्म भावना नबुझी सुखी समाज निर्माण सम्भब छैन भन्छु। उहाँ राष्ट्रवादी बन्दै राष्ट्रियताका कुरा गर्नुहुन्छ।
'राष्ट्रियता माटो होइन, जनताको सामुहिक भावना (विचार) हो' भनेर बीपीले भनेका छन् त भनेर म भन्छु। उहाँ मान्नु नै हुँदैन। उहाँको र मेरो ग्रह नै मिल्दैन।
म राजनीतिक व्यक्ति होइन। न कि कुनै राजनीति बुझेको विज्ञ, विश्लेषक। केही पनि होइन फगत एक नागरिक बाहेक। मेरो कुनै सरोकार छैन, र त्यसमा मलाई इच्छा पनि छैन। तर पनि एक नागरिकता च्यापेको नागरिकको हिसाबले कहिलेकाही एकान्तमा उहाँसँग वार्तालाप गर्ने कोशिस गर्छु ताकी उहाँले मलाई राजनीति बुझाईदिनुहुन्छ कि भन्ने झिनो आशा बोकेर। उहाँको कुरा म केही बुझ्दै बुझ्दिनँ। अनि आफ्नै लाटो बुद्धि्ले घोत्लिएर सोचे जस्तो गर्छु।
राजनीति वा राजनीतिक व्यवस्था भनेको कुनै सत्ताशिन व्यक्ति वा शासकद्वारा जनताका लागी राज्य संचालन गर्ने व्यवस्था हो भनेर मैले अलि अलि बुझेको छु। संसारमा राजनीति वा राजनीतिक व्यवस्था धेरै थरिका सिद्वान्तमा आधारित हुन्छन भन्ने कुरा पनि बुझेको छु। यी सबै थरिका राजनीतिक व्यवस्थाहरुलाई विश्लेषण गरेर हेर्यो भने तिनलाई मुख्य दुई भागमा बाँड्न सकिन्छ भनेर मैले कतै पढेको थिए।
त्यो हो- 'प्रजातान्त्रिक र यसको विपरिततन्त्र अप्रजातान्त्रिक।' मैले यो पनि कतै पढेको थिए- 'प्रजातान्त्रिक राज्य व्यवस्थामा कुनै पनि व्यक्तिको स्वतन्त्र सत्ताको सम्मान हुन्छ र प्रेम गर्न, सालिन बन्न सिकाईन्छ र प्रेम गरिन्छ, सालिन बनिन्छ भनेर। आफूलाई चित्त नबुझेको कुराको प्रश्न प्रतिप्रश्न गर्न पाइन्छ भनेर।'
यसो सोचेँ २००७ सालमा यहाँ पनि प्रजातन्त्र आईसक्यो त। यो पनि प्रजातान्त्रिक मुलुक हो। त्यै भर केही चित्त नबुझेको कुराहरु मन भित्रै गुम्सिरहेका थिए, मैले उहाँलाई सोधिहालेँ, एकदम सालिन बनेर।
मेरो प्रश्न सुनेपछि त उहाँ त यसरी कड्किनु भयो कि राता-राता आँखा पारेर म तिर हेर्दै, मेरो प्रश्नको उत्तर नदिई उल्टै मलाई प्रतिप्रश्न पो गर्नु भयो- 'तलाई यस्तो प्रश्न सोध्ने सामर्थ्य कहाँबाट आयो? कसले सिकायो?' मैले नजर झुकाउदै, नम्र भएर मसिनो स्वरमा बोले- 'कसैले पनि सिकाएको छैन। केही पुस्तकहरु पढ्न थालेको थिए। तिनै पुस्तकहरु पढेपछि यहाँको केही कुराहरुमा चित्त बुझेन, चित्त नबुझे पछि प्रश्नहरु जन्मिदो रहेछ। अनि प्रश्न गर्न मन लाग्दो रहेछ।'
उहाँ केही बोल्नु भएन मात्र रिसाउनुभयो। केही दिनपछि त पुस्तकमा कर लाग्यो भन्ने समाचार आईहाल्यो। मलाई अचम्म लाग्यो। अचम्मित हुँदै सोचेँ, मैले त्यति जाबो प्रश्न उहाँलाई सोध्दैमा किन पुस्तकमा कर लाग्यो? हरेक व्यक्ति भित्र व्यक्तिगत रुपमा खुबी र प्रतिभा लुकेको हुन्छ। ती प्रतिभाहरु कहिकाही पुस्तकसंगै जोडिएको हुन्छ।
पुस्तकले व्यक्तिको लुकेको प्रतिभालाई बाहिर लेराउन सहयोग गर्छ। व्यक्ति विकास फस्टाउन सहयोग गर्छ। व्यक्ति विकास र प्रतिभा फस्टायो भने त उ एक स्वतन्त्र नागरिक भएर बस्न खोज्छ, बस्छ। यदि व्यक्ति भित्रको प्रतिभा फस्टाउन पाएन भने त व्यक्तिको विकास कुण्ठित हुन्छ। जब व्यक्ति विकास कुण्ठित हुन्छ तब उ यन्त्र बन्न पुग्छ शासकको, राज्यको। उ एक स्वतन्त्र नागरिक बन्दैन।
राज्यद्वारा संचालित एक यान्त्रिक नागरिक बन्न पुग्छ। अनि बुझेँ उहाँको यो राज्य त अप्रजातान्त्रिक राज्य भैसकेको पो रहेछ। पुस्तकले व्यक्तिलाई स्वतन्त्र बनाउछ तर अप्रजातान्त्रिक राज्यले व्यक्तिलाई स्वतन्त्र नागरिक मान्दैन। अनि पो बुझे पुस्तकमा कर लाउनुको कारण। व्यक्तिले अलिकति मात्रै विलक्षणता देखाउने बित्तिकै अप्रजातान्त्रिक शासकले उसको प्रतिभाको सम्मान गर्दैन, बरु शंका गर्न थाल्छ।
मैले त उहाँको अस्त्तित्वमाथि नै प्रश्न गरिदिएँ। प्रश्न गरेर क्रिएटिभ हुन खोजेँ। प्रतिभाशाली व्यक्ति सत्ताको लागि सधैँ चुनौती हुन पुग्छ भन्ने कुरा मैले पत्ता लगाए। अनि त मैले चुरो को कुरो पत्ता लगाईहाले कि उहाँलाई मैले प्रश्न गरेपछि किन पुस्तकमा कर लाग्यो भनेर। उहाँलाई थाहा छ शब्दलाई शब्दहरुसँग जोड्दै गए पछि वाक्य बन्छ। वाक्यमा शक्ति हुन्छ।
सत्ताको भन्दा पनि ठुलो शक्ति शब्द र वाक्यसँग हुन्छ। त्यही शक्तिलाई दमन गर्नको लागि, रोक्नको लागि, प्रतिभाहरुलाई फक्रिने अवसरबाट बन्चित गर्नको लागी उहाँले पुस्तकमा कर लगा भनेर आदेश दिनु भयो।
यस्ता कुरा बुझेपछि त मलाई पनि सनक चढिहाल्यो। रीसले आगो भएँ। मेरो रीस अब त्यसै मत्थर हुने वालामा थिएन। म उहाँको दरबार अगाडि गएर उभिएँ। दरबार अगाडि उभिन उहाँले निषेध गरिसक्नु भएको रहेछ। सायद उहाँलाई पहिले नै थाहा भैसकेको थियो, म त्यहाँ आउछु भनेर। त्यसैले उहाँले आफ्नो दरबार वरिपरिका सडकमा मलाई निषेध गरिदिनु भएको रहेछ। तर पनि म साधारण एउटै प्रश्न चिच्याउँदै उभिरहेँ-
'यो दरबारमा आउनु अघि तपाईले मलाई दिनु भएको आश्वासन र विश्वास खै? मैले छाप हानेको मत पत्र खोई? मलाई त्यो मत पत्र फिर्ता दिनुहोस्। म मैले छाप हानेको मेरो मत पत्र लिन आएको। मेरो मत पत्र मलाई दिने कि नदिने?'
म धेरै बेर यही प्रश्नहरु एकोहोरो चिच्याउदै उहाँको दरबार अगाडिको सडकमा उभिरहेँ तर उहाँ निस्कनु भएन। बरु एकछिनपछि एक हुल प्रहरीहरु हातमा बन्दुक र लौरो समाउदै पो निस्किए। म होचो कदको होचै पदको, एकजना निरिह नागरिकलाई पाखा लगाउन, आवाज बन्द गराउन, प्रश्नहरु नसोध भन्न उहाँले पूरै हतियारधारी प्रहरीको फोर्स परिचालन गराउनु भयो।
प्रहरीले ममाथि, मेरा स्वतन्त्रमाथि जथाभावी दमन गर्दै मलाई त्यो दरबार अगाडिको सडकबाट पन्छाई छाड्यो। साँझ टेलिभिजनमा ब्रेकिङ् न्युज आयो- 'सत्तााको विरोधमा सडकमा उत्रिएको प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।' मेरो मुटुमा भक्कानो फुट्यो। उहाँलाई मेरो मत पत्र खोई? मलाई दिने कि नदिने? भनेर प्रश्न गर्दा म प्रदर्शनकारी, सत्ताको विरोधी घोषित भए।
अनि मलाई पूर्णरुपमा थाहा भयो, उहाँको राज्य अप्रजातान्त्रिक राज्य मात्रै होइन रहेछ। साम्यवादी, सर्वसत्तावादी, निरंकुश राज्य पनि रहेछ। साम्यवादी शासनलाई सर्वहारा वर्ग, नागरिक स्वतन्त्रताको अधिनायकवादी शासन हो भनेर उहाँले मलाई कुनै समयको वार्तालापमा भने पनि वास्तवमा साम्यवादी शासन भनेको राज्यको एक दलीय निरंकुश शासन हो।
राज्यमा उहाँ जस्तै उच्चस्तरका सर्वज्ञानिहरुले नै जनताको नाममा एकलौटी शासन गरिरहेका छन्। उहाँ मात्रै सर्वेसर्वा हुनहुन्छ। उहाँको अस्तित्वमाथि मैले जस्तै कसैले प्रश्न गरेमा म जस्तै सत्ता विरोधी ठहरिन्छ अनि दमन गरिन्छ। बल प्रयोग गरिन्छ। उहाँहरुलाई त आफ्ना सत्ताका विरोधी, आफ्ना सत्ताको अस्तित्व माथि प्रश्न गर्ने सबै अस्वीकार्य हुन्छ।
अर्थात् शासनलाई प्रश्न गर्ने अधिकार स्वीकार गरिदैन। व्यक्तिले सत्ताको सबै कुरा स्वीकार्नै पर्छ र व्यक्ति/नागरिकको स्वतन्त्रता, प्रश्न भनेको खासै ठूलो कुरा होइन भन्ने सिद्धान्तले संचालित साम्यवादी शासनमा नागरिकका सबै प्रश्न गर्ने, प्रतिभा फस्टाउने अधिकारहरु कुण्ठित हुन्छन्। अर्थात् शासन सर्वसत्तावादी हुन्छ। यसैले साम्यवादी शासन भनौ वा उहाँको शासन भनौ प्रजातन्त्रवादी हुनै सक्दैन।
राज्यको, नागरिकको सम्पूर्ण स्वतन्त्रता, गतिविधिहरुमाथि एकछत्र नियन्त्र गर्ने व्यवस्था निरंकुश, साम्यवादी, सर्वसत्तावादी नै हो। अप्रजातान्त्रिक नै हो। उहाँले ममाथि गर्नु भएको व्यवहारले प्रमाणित गरिसक्यो। यस्तो राज्यले हामीमाथि प्रश्न नगर भन्छ। तँ सिर्जनशील नबन्, प्रतिभा विकास गराउने स्वतन्त्रताको पक्षमा आवाज उठाउन मद्धत गर्ने पुस्तक नपढ भन्छ।
मेरा अनुभव त सुनिहाल्नु भयो होला/पढिहाल्नु भयो होला। मेरो तपाईहरुलाई बिनम्र अनुरोध छ- 'उहाँको राज्यमा प्रश्न गर्न पाइदैन। तपाईहरु प्रश्न गर्न मिल्ने नयाँ राज्य बनाउनुहोस्। म र मजस्ता प्रश्न गर्न चाहने युवाहरुको तपाईहरुलाई पूर्ण समर्थन छ र तिनीहरु जो आरामसँग, सुरक्षित भएर बाँच्न चाहन्छन्, तिनीहरुको पनि समर्थन छ।
बिन्ती, तपाईहरु प्रश्न गर्न मिल्ने नयाँ राज्य बनाउनुहोस्। उहाँको राज्यमा प्रश्न गर्न पाइदैन।'