माननीय ज्यू नमस्कार,
म विभेदकारी कर्मचारी समायोजनऐन बाट जबरजस्ती स्थानीय तहमा समायोजन भएको एक थाङ्ने कर्मचारी हो। फेरि हजुरलाई लाग्ला कसरी विभेदकारी र कसरी संविधान विपरित?
(धारा ४७ को मौलिक हकको कार्यान्वयनको ३ वर्षे संवैधानिक सीमा (किनकि अब संक्रमणकाल रहेन) र धारा ३०२ अन्तर्गत प्रदेश र स्थानीय तहमा सरकारी सेवाहरूको गठन र सञ्चालनअनुसारको संवैधानिक व्यवस्था; '(१) प्रदेश र स्थानीय तहमा आवश्यक सेवा प्रवाह गर्न नेपाल सरकारले आवश्यक व्यवस्था गर्नेछ।
(२) उपधारा (१) बमोजिमको व्यवस्था गर्दा यो संविधान प्रारम्भ हुँदाका बखत सरकारी सेवामा कार्यरत राष्ट्रसेवक कर्मचारीलाई नेपाल सरकारले कानुन बमोजिम संघ, प्रदेश र स्थानीय तहमा समायोजन गरी सेवा प्रवाहको व्यवस्था मिलाउन सक्नेछ' अनुरुपको व्यवस्था मेरो हकमा आकर्षित हुँदै हुँदैन।
किनकि, म यो संविधान लागू भैसकेपछि नेपाल सरकारले तोकेको सेवा सर्त पूरा गरेर प्रवेश गरेको हुँ। संविधान प्रारम्भ हुँदाका बखत म नेपालको निजामती सेवामा थिइनँ र यही संविधानको आधारमा म लोकसेवा आयोगसँग मेरो रोजगारी गर्न पाउने हकको प्रचलित सबै कानुन बमोजिम करारीय सम्झौता पास गरेर प्रवेश गरेको हुँ। तर, अब म कनिष्ठ कुन आधारमा हुन्छु?
तथापि, यो मेरो वा यो संविधान प्रारम्भ भएपछि सेवा प्रवेश गरेका निजामती कर्मचारीको मात्र समस्या होईन संविधान प्रारम्भ हुँदाका बखतदेखि हालसम्म कार्यरत नेपालका सम्पूर्ण निजामती कर्मचारीको साझा सरोकार र समान चिन्ताको विषय हो।)
तत्कालीन सामान्य प्रशासन मन्त्रीले मात्र होइन, यो अवस्था सिर्जना गर्नुमा हात ऐन पारित गर्ने सबैले लिनु पर्ने छ। त थाङ्ने नै होस् तलाई किन चाहियो सेवा सर्त किन चाहियो संवैधानिक व्यवस्थाअनुसार सेवाको सुरक्षा भनि जवरजस्ती समायोजन गरी स्थानीय तहमा घचेटियो। हामी बुझ्यौँ जहाँ भएपनि सेवा प्रवाह गर्ने हो।
झन् स्थानीय तहमा जनतासँग प्रत्यक्ष सेवा गर्न पाइने अनि अब आउने संघीय निजामति सेवा ऐनमा हाम्रा बारेमा पक्कै पनि केही व्यवस्था होला। यहीले राष्ट्र समस्यामा परेको बेला अवश्य पनि सहयोग गर्नै पर्छ भनि मनमा पीडा बोकेर थाङ्ने भन्नेको भन्दा केही माथी उठेर सोच्यौँ अनि सेवा निरन्तरता दिएकै छौं। अहिले सार्वजिनक व्यवस्था तथा सुशासन समितिमा छलफल चलिरहेको संघीय निजामती सेवा ऐनको बारेमा बाहिर आएका विषयले हामीलाई झन् पीडा थपेको छ।
के सानो तहको कर्मचारी सधै एउटै स्थानमा बस्नु पर्ने हो? उसलाई वृतिविकास चाहिदैन? तपाईहरुले सानोलाई चिन्न त कति चिन्नुहुन्छ त्यो फरक विषय हो। समय छ भने एक पटक कुनै एउटा सरकारी कार्यालयलाई नमुना लिएर बुझ्न कष्ट गर्नुहोला। कार्यालयमा नासु वा सो सरहका कर्मचारीले सुरुआत नगरेको काम के हुन सक्दछ? सामान्य टिप्पणी उठाउनेदेखि जनतासँग प्रत्यक्ष सेवा दिने कर्मचारी हो यही थाङ्ने।
विचरा यसले सधै यसैगरी बस्नु पर्छ किन माथि उठाउने भन्ने लागेर पनि होला है? सार्वजनिक सेवाको एउटा पक्षलाई बेवास्ता गरेर कहाँ पुग्ने सोच छ माननीय ज्यू? सम्झनु यसरी एउटा पाङ्ग्रा पञ्चर भएको सवारीको यात्रा कस्तो हुन्छ। तपाईहरु अबको निजामति सेवालाई यसरी मोड्नु भयो भने प्रतिफल यस बाहेक अरु कल्पना नगर्नु होला किनकि तपाईहरुले हामीलाई दिएको उत्प्रेरणाले यहाँभन्दा बढी सिकाएकै छैन।
हामीहरु संघबाट स्थानीय गई सेवा दिनु के हाम्रो गल्ती हो? के अब हामी हिजोको सेवामा फर्कन नपाउने? के खालको सोचको विकास हुँदै छ तपाईहरुमा?
अधिकृत चाहिने नासु नचाहिने? केको लागि/कसको लागि बन्दैछ संघीय निजामति सेवा ऐन? अधिकृतहरुको लागि अन्तरसेवा प्रतिशपर्धा हुने नासु वा सो सरहका कर्मचारीको लागि त्यो पनि नचाहिने? नीति निर्माताहरु किन यति अबुझ, के हाम्रो वृति विकास हुनु पर्दैन? अब सवै राजपत्र अंकित कर्मचारीहरु सधै विभेदमा सहेर बस्ने? हामीहरुलाई त हिजो (गणतन्त्रभन्दा अगाडि) भन्दा बढी विभेद भएन र?
केको लागि आन्दोलन, केको लागि गणतन्त्र, केको लागि संविधान? झन् विभेद अन्याय र अत्यचार गरियो। यो कदापी मञ्जुर छैन। हिजोका राजाले भन्दा पनि अहिलेका राजाहरु किन यति विभेदकारी? कि तपाई नजिक भनिएका कर्मचारी संगठनका मित्रहरु सबै अधिकृत भैसके? त्यसैले होला नासुलाई विभेद।
थाहा छ, कुनै पनि देशमा शासनको सफलता मापन त्यो देशको कर्मचारीतन्त्रको सफलताको मानकले निर्धारण गर्दछ। सफलतासंगै असफलता पनि हुन्छ। सफल भए हामीसंगै हुने हो, विफल भएपनि हामी सबै असफल हुनेहो। भलै, हामीसँग तपाईहरुको जस्तो लामो अनुभवको कमि होला। तर, यो देश निर्माण हामीले पनि गर्नु छ।
अहिलेको सापेक्षित विश्वले अवलम्बन गरेको विकास मोडेलका किताबी ज्ञान नै सही केही अनुभव हामीसँग पनि छन्। त्योभन्दा ठूलो हामी युवा छौं, र विश्व इतिहास साक्षी छ जति पनि देश विकसित भएका छन् त्यो राष्ट्र/राज्य निर्माणमा युवाको त्याग सबैभन्दा बढी छ। तर, फेरि पनि बिन्ती छ, 'म पनि यो देशमा केही गर्नसक्छु भन्ने हाम्रो सपनामा तुसारापात नगरिदिनुहोस'!
समृद्ध नेपाल: सुखी नेपालीको तपाईंको अभियानमा हामी होस्टेमा हैसे गर्नेछौं। कृपया तपाईंले चाहे देश बन्छ। हामीलाई उत्प्रेरित हुने वातावरण दिनुहोस्, हामी बनाउँछौँ। तर, अब योभन्दा बढी अपमानको मुटु लिएर हामी बाच्न सक्दैनौं।