माननीय शिक्षा मन्त्री ज्यू,नमस्कार!
कुशल छु त कसरी भनुँ तर तपाईको कुशलताको कामना गर्दछु। आज म तपाईलाई सम्बोधन गर्दै केही लेख्न अनुमति चाहान्छु। तपाईलाई मेरा शब्दहरु तिता लाग्न सक्छन्। मेरा शब्दले विक्षिप्त हुन पुगेमा म क्षमा माग्दै विषयवस्तु तर्फ प्रवेश गर्न चाहान्छु।
मन्त्री ज्यू, म एक सिटिइभिटी अन्तर्गतको एक कलेजमा एचए प्रथम वर्षमा अध्ययनरत विद्यार्थी हुँ। यो पत्र म जस्ता सिटिइभिटी अन्तर्गत प्राविधिक शिक्षा पढ्ने लाखौँको संख्यामा रहेका विद्यार्थीको प्रतिनिधि पत्र हो।
विगत चार महिनादेखि कोभिड-१९ को कारण भएको बन्दाबन्दीले गर्दा अवरुद्ध हाम्रो पढाईको विषयमा तपाईले खासै केही बोल्नु भएको कुरा समाचारमा आएको छैन। तपाईको नजर एसइई दिने र उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुमा मात्र परेको र हामी जस्ता प्राविधिक शिक्षा पढ्ने लाखौं विद्यार्थी तर्फ नपरेको देख्दा हाम्रो मनस्थिति बिग्रेको छ। यति बेला हामी सबै विद्यार्थी मानसिक तनावमा छौँ।
देशको दूरदराजबाट र सहरका केही भागबाट सबै जात, धर्म, वर्ग, समुदाय, पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व हुनेगरी भर्ना र पठनपाठन गरिदै आएको र छोटो समयमा प्राविधिक जनशक्ति उत्पादन गरि देशको समग्र स्थितिमा टेवा पुग्ने उदेश्यले लामो समयदेखि संचालन हुँदै आएका सिटिइभिटीका कक्षाहरु ४ महिनादेखि ठप्प छ्न्।
समयमै केही ठोस निर्णय लिन नसक्नु र दीर्घकालीन योजनामा चुक्नु जस्ता कारणले गर्दा लाखौं विद्यार्थीको भविष्य खतरामा छ।
पछिल्लो समयमा आएर अनलाइन पढाउनु भनी वैकल्पिक सिकाई सहजीकरण निर्देशिका जारी गरिएको तपाईको निर्णयले तपाईको परिपक्कता माथि प्रश्न चिन्न खडा भएको छ। देशका दुर्गम क्षेत्रबाट ऋण धन गरि सदरमुकाम वा सहरसम्म पढ्नको लागि आएका विद्यार्थीहरु यति बेला सबै आ-आफ्नो घर फर्किएका छ्न।
दुर्गममा मोबाइलको नेटवर्कको लागि रुख चड्नु पर्ने हाम्रो देशमा अनलाइन कक्षा कसरी प्रभावकारी होला? डाटा किन्ने वाइफाइ जोड्नेका त कुरै छोडौँ, त्यसैमाथि यति बेला हावाहुरी र वर्षाको कारण समय समयमा हुने विद्युत कटानको समस्याले थप चुनौती दिएको छ। सत प्रतिशत विद्यार्थीको उपस्तिथि बिना सहरका सिमित विद्यार्थी केन्द्रित अनलाईन कक्षा संचालन के न्यायोचित होला?
अघिल्लो वर्ष संचालन गरिएका धेरै परीक्षाहरुको नतिजा करिब एक वर्ष बितिसक्दा पनि प्रकाशन भएको छैन। यस विषयमा पनि तपाई र सिटिइभिटीका पदाधिकारी ज्यूहरु समेत कानमा तेल हालेर बस्नु भएको छ। कोभिड-१९ को समस्यालाई प्रमुख कारण बनाएर तपाईहरु जिम्मेवारीबाट उम्कन पाउनु हुन्न। हरेक समस्याको समाधान खोज्न सकिन्छ।
मन्त्री ज्यू, मैले देखेको र आम विद्यार्थीको तर्फबाट केही समाधानका उपायहरू म तपाईलाई बताउछु। बन्दाबन्दी पूर्णरुपले खुलेपछि सेमेस्टर प्रणालीका कक्षाहरुलाई आन्तरिक मूल्यांकन गरि उपल्लो सेमेस्टरमा लाने र वार्षिक परीक्षागत प्रणालीका कक्षाहरुलाई पनि आन्तरिक मूल्यांकन गरि उपल्लो कक्षामा लान सकिन्छ र अन्तिम वर्ष वा सेमेस्टर अध्ययन गर्ने हरुलाई पनि आन्तरिक मूल्यांकन गरि लिखित परीक्षामा उत्तीर्ण गराउन सकिन्छ।
तर प्रयोगात्मक परीक्षालाई मुख्य मानेर हरेक सेमेस्टर र वर्षका प्रयोगात्मक परीक्षा अनिवार्य उत्तीर्ण गर्नुपर्ने गराउनु पर्दछ। आंशिक परीक्षा दिने विद्यार्थीहरुलाई पनि पुनः एक पटक प्रयोगात्मक परीक्षा लिइ मूल्यांकन गर्न सकिन्छ। प्राविधिक अध्ययन पुर्णत: प्रयोगात्मक अभ्यासमा आधारित हुने हुँदा यहि समयमा सामाजिक दूरी कायम गर्दै प्रयोगात्मक अभ्यास गराउन सकिन्छ र सोही आधारमा प्रयोगात्मक परीक्षा लिइ चालू शैक्षिक सत्रलाई टुङ्गोमा पुर्याउन सकिन्छ।
आगामी शैक्षिक सत्रलाई केही समय ढिला सुरु गर्न सकिन्छ। यसो गर्दा शैक्षिक तालिका नबिग्रने र आम विद्यार्थीमा परीक्षा बारे मानसिक बोझ हट्ने हुन सक्छ।
मन्त्री ज्यू, अन्त्यमा हालसम्म सिटिइभिटीका पदाधिकारीहरुबाट पनि कुनै समस्या समाधानको कुरा, छलफल-बहसका कुरा सुन्नमा आएका छैनन्। त्यसैले मन्त्री ज्यू र सिटिइभिटी पदाधिकारी ज्यूबीच छिटो छलफल होस् र लाखौं विद्यार्थीको भविष्यको बारेमा छिटोभन्दा छिटो सकारात्मक निर्णय होस्।
यही आश व्यक्त गर्द्छु र हरेक समस्याको समाधान लाई आन्दोलन रोज्नु पर्ने स्थिति नबनाउनु हुन म र म जस्ता लाखौं विद्यार्थीको तर्फबाट विनम्र अनुरोध गर्दै पत्रबाट बिदा चाहान्छु।
धन्यवाद!