आदरणीय प्रधानमन्त्री
केपी शर्मा ओलीज्यु,
सादर अभिवादन तथा लाल सलाम!
म यहाँ एक प्रतिशत पनि कुशल छैन, कोरोनाको सन्त्रासमा जीवन-मरणको दोधारमा कष्टकर जीवन व्यतित गर्दैछु। जीवन मात्र बाँच्दैछु, जीवनको कुनै अर्थ र आशय छैन। मिजास छैन। आफन्तहरु संक्रमित भएका छन्। चिनेजानेका मानिसको हतासमा दुखद् मृत्युको खबर सुन्छु।
मेरो समुदायमा कोरोना फैलिसकेको छ। कहिल्यै आफू कोरोना संक्रमित त हुने होइन भने प्रश्नले पिरोल्न थालेको छ मलाई। संक्रमित भए भने सरकारको उदासीन प्रवृत्ति र निकम्मापनले मजस्तालाई राज्यहत्याको शिकार बनाउने त होइन भनेसम्मको सोचलाई मेरो मस्तिष्कले अभिनन्दन गर्न थालेको छ।
मेरो कोरोनागन्जको नगरप्रमुख, सांसद, नेता, सेना, डाक्टर, नर्स, प्रहरी, एम्बुलेन्स चालक, सफाइकर्मी, पत्रकारहरु जसले 'फ्रन्टलाइन' मा रहेर काम गर्नुपर्ने हो, उनीहरूमध्ये नै कति धेरै कोरोना संक्रमित भएर अस्पतालको आइसोलेसन बेडमा छन्।
चिकित्सकहरु आइसियुमा छन्। नगरप्रमुख सघन कक्षमा उपचारार्थ छन्। अब सायद भनिराख्नु पर्दैन होला- कोरोनागन्ज नेपालमै पर्छ, यो पत्र पनि एउटा नेपालीको कलमले नै लेख्दैछ। प्रष्टै गर्न चाहेँ, यो कोरोनागन्ज भनेको देशको प्रवेशद्वार (गेटवे) र सुप्रख्यात आर्थिक तथा व्यवासायिक नगरी वीरगन्ज हो।
अहिले यो चीनको वुहान र अमेरिकाको न्यू योर्क सिटीजस्तै कुरूप हालतमा छ। कोरोनाले यसलाई बदनाम गरिदिएको छ। खासमा कोरोनागन्ज मैले वीरगन्जलाई दिएको एक सादृश्य एवम् उपमा हो।
व्यापारिक चरित्र भएको कोरोनागन्ज साउन १० देखि फेरि प्रशासनको निर्णयबमोजिम अनिश्चितकालीन निषेधाज्ञामा छ । वैशाख/जेठको तुलनामा निषेधाज्ञा उल्लंघन गर्ने सहरवासीसमेत घटेका समाचारको तथ्यांकले सिद्ध गर्छ । लक्षणसहितका कोरोना भाइरस संक्रमित बढ्ने क्रम तीव्र भएपछि वीरगन्जमा सन्नाटा छाएको दृष्टान्त छ ।
३२ वटै वडामा कोरोना संक्रमण फैलिएको दुरावस्था छ। साउनयता मात्र पर्सामा ४ सय २७ नयाँ संक्रमित थपिएका छन् । दर्जनौंको मृत्यु भइसकेको छ। अथार्त, वैशाख/जेठभन्दा अहिलेको परिस्थिति चिन्ताग्रस्त छ र मानवीय क्षतिलाई मूर्तरुप दिने खालको छ। जसले सरकारको विशेष पहलकदमीलाई उद्घाटन गर्नुपर्ने सांकेतिक अर्थ दिन्छ।
परन्तु, सरकारले वीरगन्जको खातिर अहिलेसम्म केही खास महत्वकांक्षी प्रभाव हुनेवाला पहलकदमी चालेको देखिएको छैन। वीरगन्ज हतासमा छ, आफ्नो जीवनको अन्तिम मोडमा छ।
संविधान र कानुनअनुसार सरकार हाम्रो अभिभावक हुनुपर्ने हो, तर अब उप्रान्त म यो स्थापित मान्यतालाई स्वीकार्ने मनस्थितिमा छैन। कम्युनिष्टको समाजवाद र संविधानको लोककल्याणकारी राज्यसहितको उत्कृष्ट परिकल्पना वीरगन्जका निम्ति मिथ्या र सत्याभाष भएको प्रमाणित भएको छ। वीरगन्ज क्षेत्रमा सरकार छैन भने आत्मसाथ गर्न विवश छु।
वीरगन्जमा मात्र भूगोल र जनसङ्ख्या रहेछ। लोकतन्त्र र संघीयताबारे राजनीतिक आयामको निष्क्रियताले वीरगन्जलाई कोरोनागन्जमा परिणत हुनमा बल पुर्याएको छ। सत्तासीन कम्युनिष्ट सरकारलाई वीरगन्ज नेपालकै हिस्सा भएको देख्न नसक्ने 'मोतियाबिन्दु' लागेको हो कि? स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग समन्वित चेतनालाई प्रष्फुटन गरेर यो शिर्षकमा कडा कविता लेख्न सकिएला। साहित्य राम्रै बन्छ। कामकारबाही अघि बढाउनुस्, प्रधानमन्त्री ज्यू।
कहिलेकाहीँ मलाई पनि कोरोना लागेको त होइन भने प्रश्नले गिज्याइरहन्छ। कोरोनाका लक्षण नदेखिएमा पनि भाइरसको सम्भावना उत्तिकै रहेको जनस्वास्थ्यवीद्को प्रचलित मतले मलाई यस्तो सोच्न बाध्य बनाएको हो। ममात्र कहाँ हो र, वीरगन्ज क्षेत्रका अधिकांश बासिन्दा यसै प्रश्नबाट प्रताडित छन्, उनीहरूले आफ्नै स्वास्थयप्रति शंकालु मनले यस प्रश्नको उतर खोत्ल्दैछन्। तर, विडम्बना थर्मल गनले केहीको शरीरको तापक्रम मापन गर्ने बाहेक अरु कुनै कार्य सरकारको तर्फबाट भएको छैन।
आरडिटी र पिसिआर मैले सामाचारमा सुनेको मात्र हो। प्राइभेटबाट हजारौं रकम तिरेर पिसीआर टेष्ट गराउन मेरो आर्थिक हैसियतले धान्दैन। म वर्किङ क्लास फैमिलीको प्रतिनिधि हो। मजस्तालाई बन्दाबन्दीले खान/लाउन नपुग्ने स्थिति छ, कोरोना टेष्ट गराउन अतिरिक्त भारी रकम कताबाट जुटाउने होला?
तर, तपाई नेतृत्वको सरकारलाई अर्कै शिर्षकहरु प्यारो छ। कालापानी/लिपुलेक प्यारो छ। पार्टीको आन्तरिक स्वार्थ प्यारो छ। पार्टी फुट्ने हो कि भने त्रास छ। कविता लेख्न मन लाग्छ। अयोध्या प्यारो छ। मजस्ता गरिबको पिसिआर टेष्ट गराइदिने मतलब छैन। हाम्रो कामयाब जीवनको भविष्यको एक तुकपनि चिन्ता छैन।
वीरगन्जमा दैनिक कोरोना संक्रमित ठूलो संख्यामा थपिँदै गएको छ। दैनिकजसो ६० भन्दा बेसी कोरोना संक्रमित थपिन्छन्। वीरगन्ज महानगरपालिकामा यति धेरै कोरोनाको संक्रमित छन् कि परीक्षण गर्ने हो भने संक्रमित नभएको घर भेटाउन गाह्रो छ। तर, आइसोलेसन त परको कुरा, संक्रमितहरुलाई राख्ने क्वारेन्टिनको समेत अभाव छ। संक्रमितलाई होम- आइसोलेसनमा बस्न भनिन्छ। त्यसको कुनै मापदण्ड बनेको छैन। संक्रमितको खानामा किरा हुन्छ। आइसोलेसन वार्डमा टोइलेट, बाथरुमको ठिक बन्दोबस्त छैन। भएको जतिले पुग्दैन।
वीरगन्ज कारागारभित्रै पनि कोरोना फैलिसकेको छ। वीरगन्जमा कोरोनाको राँको दन्किसकेको छ। सरकारले वीरगन्जलाई हटस्पट मानेर विशेष व्यवस्था गर्नुपर्यो, प्रधानमन्त्री ज्यू?
सत्याग्रहीको आवाज घनिभूत रुपमा मनन गरेर जनस्वास्थ्यप्रति संवेदनशील र सचेत राष्ट्रहरुजस्तै हरेक नेपालीको पिसिआर टेष्ट गर्न सकिँदैन? 'इनफ इज इनफ' आन्दोलनको जायज र सान्दर्भिक मागले तपाईलाई फरक पारेन र? यदि पार्दैन भने मलाई मार्क्सवाद विज्ञानको समर्थक र विद्यार्थी भएकोमा लज्जाबोध हुन्छ।
मार्क्स, लेनिन, इङ्गेल्, वेबरहरुको दर्शन सम्झँदा आँखाबाट आँसु झर्छ? समाजवादको नारावाला राजनीति मात्र गर्नुभयो, व्यावहार र अभ्यासको राजनीति कहिल्यै देख्न पाइएन? कोरोनामा मेरो देशको कम्युनिष्ट जिरो सावित भएको निचोड हो मेरो। मजस्ता लाखौं शंकास्पदको निशुल्क पिसीआर टेष्ट गरेर राम्रो कहलिने मनोकांक्षा नराख्नेलाई कम्युनिष्ट भनिराख्नु मेरो लागि मूर्खताबाहेक केही पनि हुन सक्दैन।
वीरगन्जले गरेको नाकाबन्दी र अनेकन राजनीतिक संघर्षको दौरान निर्वाह गरेको अहम भूमिकाका बदला सरकारले लिएको त होइन? सरकारको हदैसम्मको उदासीनता यसै प्रश्नलाई उतर दिने प्रयत्न गरेको आभास हुन्छ। मेरो प्रदेश सरकारलाई 'क्यान्सर' र स्थानीय तह आफैंमा कोरोनाको विकल्प भएको अर्को कोरोना भाइरस भएजस्तो छ। यिनीहरूबाट भने केही विश्वास र अपेक्षा राख्दिनँ। किनकी, कोरोनाभन्दा बढी प्राथमिकता पाउनुपर्ने थुप्रै शिर्षकहरु यिनीहरूसँग पनि होलान्।
प्रधानमन्त्रीज्यू, वीरगन्ज सधैँ अन्यायमा पर्छ। भलै कहिल्यै राजनीतिक एजेन्डालाई लिएर होस् अथवा अहिले प्राकृतिक विपत्तिको सन्दर्भमा। तपाईले वीरगन्जका निमित्त अहिलेसम्म केके गर्नुभयो? मधेस आन्दोलनपछि वीरगन्जको माटोमा एकपटक पनि पुग्नु भएको छैन। धेरैलाई तपाई वीरगन्जविरोधी नेता भएको भन्न मन लाग्छ।
यद्यपी, कुनै एक नगरविरोधी हुने नैतिक स्वतन्त्रता प्रधानमन्त्रीजस्तो जिम्मेवार संस्थालाई हुँदैन। मेरो कोरोनागन्जलाई फेरि वीरगन्ज भएको हेर्ने अथाह इच्छा छ। पूरा गरिदिनुपर्यो, प्रधानमन्त्रीज्यू। एकपटक मनन गर्नुहोला, समाजवादको आदर्श वीरगन्जका लागि मिथ्या मात्रै होइन र? वीरगन्जलाई पनि उत्तिकै माया गर्नुपर्यो।
मेरो खुलापत्रको अपिल समयमै बुझिदिनुपर्यो, नत्र मजस्ता देशभक्त बेगर देशको परिकल्पना गर्नुपर्ने स्थिति आउँदैन भन्न सकिँदैन। सबै नगर कोरोनागन्ज बन्नेछन्। देशको मानिस होइन, भुगोलमात्र बाँकी रहनेछ।
तपाईको प्रिय
ऋतिक यादव
वीरगन्ज, पर्सा।
(यादव कानुनका विद्यार्थी हुन्।)