नेपाल विश्व मानचित्रमा एसिया महादेशमा रहेको सानो तर आफैंमा सुन्दर र राष्ट्र हो। सांस्कृतिक, भाषिक, धार्मिक मात्र होइन भौगोलिक विविधता समेत रहेको राष्ट्र हो। हिमाली धरातल भएको स्वच्छ वातावरणले धपक्क बलेको यो सानो राष्ट्र परापूर्वकालदेखि आफ्नै मोलिकता मूल्य र मान्यतालाई आत्मसात गर्दै विश्वमान चित्रमा स्थापित राष्ट्र हो।
पूर्वीय दर्शन, परम्परा र जीवनाशैलीले ढपक्क ढाकेको नेपालको सामाजिक संरचनामा धेरै राम्रा, सकारात्मक र रचानात्मक पक्षहरू हुँदाहुँदै पनि केही कू–संस्कार, अन्धविश्वास र अशिक्षाको कालो बादल पनि नेपाली आकाशमा मडारिरहेको छ। जसले सामाजिक विचलन मात्र होइन, कतिपय अवस्थामा विकासका मुहान पनि अवरूद्ध बन्दै आएका छन्। हाम्रो सामाजिक पृष्ठभूमिमा ठडिएका त्यस्ता अन्धविश्वासको पर्खाल तोड्न सकेको खण्डमा समृद्धिको यात्रालाई अगाडि बढाउन सहयोग पुग्ने देखिन्छ।
जुनसुकै समाजको गति सामाजिक मूल्य र मान्यताको धरातलमा अगाडि बढेका हुन्छन्। तसर्थ, समाजमा शिक्षा र चेतनाको स्तर माथि नउक्सेसम्म परम्परागत रूपमा जरो गाडेर बसेका विभिन्न रुप र स्वरूप लिएका रूढिवादी परम्परा र अन्धविश्वासले राज गरिरहेको हुन्छ।
नेपालमा १०४ वर्षसम्म शासनको बागडोर सम्हालेको राणा शासनको समय अवधिमा औपचारिक शिक्षाको मुहान लामो समयसम्म अवरूद्ध नै रह्यो। जसले गर्दा त्यस समयमा नेपाली समाजको चेतनाको स्तर माथि उस्कन सकेन। यसैको फलस्वरूप समाज विकासको बाधकका रूपमा धेरै अन्धविश्वासको जालोले नेपाली समाजलाई अहिलेसम्म जेलिरहेका छन्।
विभिन्न जात, समूह, धर्म, वर्ग, समुदाय तथा भूगोलको मखुण्डो भिरेका त्यस्ता अन्धविश्वासहरूमा लैङ्गिक विभेद, जातीय विभेद, छूवाछूत प्रथा, बोक्सी प्रथा, छाउपडी प्रथा, दाइजो प्रथा, कुमारी प्रथा, कमलरी प्रथालगायत अन्य धेरै वाद र प्रथारूपी अन्धविश्वासले नेपाली समाजका दूर दराजलाई समय-समयमा ठगिरहेका छन्। जसमा विशेषगरी शैक्षिक र आर्थिक रूपमा कमजोर वर्ग यसको सिकार भइरहेका छन्।
परापूर्वकालको तत्कालीन सामाजिक संरचना अगाडि बढाउन आत्मसात गरिएका कतिपय संस्कार र परम्परालाई आधार मानेर समाजको उपल्लो वर्ग भन्न रूचाउनेहरूले यस्ता अन्धविश्वासलाई काँधमा बोकेर हिँडेको पाइन्छ। पितृसत्ता भएको हाम्रो देशको मूल कानुन संविधानले विभेद र भेदभावरहित नेपाली समाजको परिकल्पना गरेको भए तापनि सामाजिक रूपमा छोरालाई काखा र छोरीलाई पाखा गर्ने परम्पराले लैङ्गिक विभेदलाई काखी च्यापेको छ।
एउटै समाजका मानिसबीच उपल्लो जात र तल्लो जात भन्ने र सोही अनुसारको व्यवहार गर्ने संस्कारको अन्त्य नहुञ्जेलसम्म जातीय विभेदको कालो दाग मेटिनेवाला छैन। आर्थिक दृष्टिले विपन्न र पारिवारिक रूपमा एक्लिएका महिलालाई सम्मान, सहानुभूति र सहयोग गर्नुपर्नेमा कथित बोक्सीको आरोप लगाउने, बेइज्जत गर्ने तथा ज्यान नै लिने निन्दनीय कार्यको अन्त्य नभएसम्म सामाजिक समानता र समृद्धिको नारा जति लगाए पनि, नेताहरूले जति चर्को स्वरमा भाषण गरे पनि त्यस्ता समूह समाजको मूलधारमा आउन सक्नेवाला छैनन्। विशेष गरी सुदूरपश्चिमका नारीमा मासिक श्राव हुँदा छाउगोठमा पठाउने कार्यको अन्त्य नभएसम्म त्यस क्षेत्रका नारी समुदायमा डर, त्रास, भय र विभेदको अन्त्य हुनेवाला छैन। त्यसैगरी छोराको आशमा जन्मिएका छोरीलाई देवताको प्रसाद भन्दै मन्दिरमा लगेर छोडने दानवीय कार्यको रोकथाम नभएसम्म अवोध त्यस्ता बालिकाहरूले न्याय पाउनेवाला छैनन्।
तराई-मधेसलाई दाइजो प्रथाले यति गाँजेको छ कि कतिपय बाबु-आमाहरू एकातिर छोरीको बिहेमा दाइजो दिँदादिँदै सुकुम्बासी बनेका छन् भने अर्कातिर दाइजो दिन नसक्दा धेरै छोरीको बिहे नै हुन सकेको छैन। यसका साथै सहर बजारमा कुमारी प्रथा, तराई-मधेसमा कमलरी प्रथा, देह व्यापारमा लाग्न बाध्य बनाइएका वादी समुदायका पीडा छन्। यी र यस्ता गुप्त रूपमा रहेका अनेकन अन्धविश्वासको जालोले जेलिएको नेपाली समाजमा अन्धविश्वासको अन्त्य नहुञ्जेलसम्म समृद्धिको बाजा जति घन्काए पनि त्यो नारा लक्षित समुदायमा पुग्दैन।
हाम्रो देशको मूल कानुन संविधानमा माथि उल्लेखित मानवताविरोधी अपराधलाई दण्डनीय माने तापनि कानुनको आँखा छलेर र अज्ञानताको पराकाष्ठाका रूपमा हुने यस्ता अन्धविश्वास र अमानवीय कार्यबाट नेपाली समाज समय–समयमा थङ्थिलो हुने गरेको तीतो-सत्य हामीसामु जगजाहेर छ। यसर्थ, सम्पूर्ण धर्म, संस्कार र संस्कृतिले मानवको अहित नचाहेको भए तापनि हाम्रै समाजका केही स्वार्थी र लोभी पापी मानिसले स्वार्थपूर्तिका लागि मानवताविरोधी त्यस्ता अन्धविश्वासलाई काँधमा बोकेर हिँडेको पाइन्छ।
मानव हितका लागि पुर्खाले गरेका आविष्कार, संस्कार, संस्कृति, धर्म र परम्परालाई बदलिँदो समयसँग अनुकूल बनाउन, हाम्रा संस्कार र संस्कृतिलाई वैज्ञानिक ढङ्गले स्थापित गर्न, हाम्रा संस्कार, संस्कृति र परम्परामा क्रमिक सुधार र आंशिक परिवर्तन गरिनु अपरिहार्य छ। नत्र विभिन्न वाद, प्रथा र धर्मका नाममा हुने यस्ता अन्धविश्वासले नेपाली समाजलाई अग्रगमनमा लैजाने छैन। यसको अन्त्यका लागि नेपालको शैक्षिकस्तर माथि उकास्दै गाउँ-गाउँ र दूर दराजसम्म चेतनाको दियो जगाउन सक्नु पर्दछ।