आफूलाई कम्युनिष्ट भन्न रुचाउने, संघर्षका कथा सुनाउन रुचाउने कमरेड ओलीलाई आजभोलि पार्टीमा संघर्ष, त्याग र दु:ख गरेका सच्चा कार्यकर्ता, नेताको क्रान्तीकारी अभिवादनभन्दा बढी, चाकरी गर्ने, चिप्ला कुरा गर्ने स्वार्थी मान्छेको 'ढोग गरेँ बा' भन्दै हातमा ढोग्ने अभिवादन प्रिय लाग्छ।
त्यस्ताले उनको बोलीमा लोली मिलाउँछन्, प्रश्न गर्दैनन्, जवाफ दिनु पर्दैन। ओलीलाई सबैभन्दा घृणा नै प्रश्नसँग लाग्छ, तर उनी मच्ची मच्ची प्रश्न गर्छन्।
हठात् संसद विघठन गरेपछि उनी र उनका केही अरिङ्गालहरु एउटै प्रश्न गरी रहेका छन्, ताजा जनादेशमा जानेभन्दा किन केही केही समूहलाई यत्रो रडाको? उनको यो प्रश्नको जवाफ म दिदै छु, म कुनै पार्टीको कार्यकर्ता पनि होइन, मलाई हारिन्छ कि भन्ने डर र जिते सत्ताको स्वादको लोभ पनि छैन।
ओली कुरै नबुझ्ने मान्छे हुन् भन्न म अझ पनि सक्दिनँ, तर कुरो बुझ्न नचाहने व्यक्ति हुन् भनेर भन्न अब सोचिरहनु पर्दैन। उनले घोषणा गरेको चुनाव यो देशका दुई-तिहाईभन्दा बढी मान्छेलाई चाहिएको छैन, तर पनि उनी चुनाव नचाहने सानो समूहदेखि रहेका छन्।
बेमौसमी चुनावको बजेटले के के गर्न पुग्ने थियो र छ भन्ने कुरा मेरो लेखको उदेश्य होइन। म केपी ओलीका प्रश्नको जवाफ दिंदै छु। कमल थापाले चुनावको पक्षमा बोलेको कारण ओलीले कसरी लाए उनै जानुन् तर, यिनै ओलीको अक्षमताबाट वाक्क भएर राजा राजा भन्दै कराउनेको भोट पाइन्छ र फेरि सत्तासम्म पुग्ने बाटो बन्छ भनेर मात्र उनले यसो भनिरहेका छन्।
सत्ता बाहिर बस्नै नसक्ने थापा यतिलामो समय बाहिर बस्नु पर्दाको छटपटाहट बाहिर निकाल्दै छन्। देश र जनताको मायाले खासै काम गरेको लाग्दैन।
हामीले रडाको मच्चाउनुको कारण, यो चुनाव चाहिएको होइन भनेर हो। कदाचित चुनाव भएमा र निष्पक्ष भएमा उनका धेरै अरिङ्गालको जमानत जफत हुन्छ भनेर होइन। हामीले रडाको मच्चाउनुको कारण, सनकमा संसद विगठन गर्नु पाप भनेर हो।
भोलिका दिनमा एउटा अर्को गलत नजिर नबसोस भनेर हो। एउटै पार्टीको सरकार र सरकार प्रमुख भएका बेलामा सरकार प्रमुख लाचार बन्ने परिपार्टीको विकास नहोस् भनेर हो। राजनीति सफा बनोस्, जनताले सरकारमा, अदालतमा भर पर्न सकुन् र सिकुन् भनेर हो।
भोलि पढे लेखेका सक्षम युवा पुस्ता पनि राजनीतिमा आकर्षित हुन्, उनीहरु राजनीति एउटा फोहोरी खेल हो भन्दै पन्छिने परिपाटीको अन्त होस् भनेर हो। हामीले रडाको मच्चाउनुको कारण सँधैभरि अपठीत र गुण्डाहरुबाट राजनीति मुक्त होस् भन्ने चाहना राख्नाले हो। बहुमत प्राप्त पार्टीले पूरा समय सरकार चलाओस् भनेर हो। यस्ता रडाको मच्चाउनु पर्ने अरु कैयौं कारणहरु छन् र ती सबै जायज छन्।
हामी जनतालाई व्यक्ति विषेशमाथि उत्रो धेरै चासो छैन। सरकार प्रमुख त्यो होस् जो स्वस्थ होस्, संवैधानिक परिषदका बैठकहरु अनेक बहाना बनाएर नटारोस्, प्रश्न मात्र होइन, आलोचना पनि सुनोस्, (शब्द चयनका लागि माफी चाहन्छु) पधेर्नीका जस्ता गफ र झगडा नगरोस्, संविधानको आदर गरोस्, परिपाटी भित्र रहेर चलोस् चलाओस्। नेपाल सरकारले दिएको सरकारी निवासलाई पार्टी कार्यालय नबनाओस्।
योभन्दा धेरै हामीले केही मागेका थिएनौं। यिनै पार्टीले चुनावी घोषणा पत्रमा यो पनि दिन्छु र त्यो पनि दिन्छु भनेका मात्र हुन्। हामीलाई गरीखाने वातावरण भए पुग्छ। सरकार आफै हाम्रो गाँस खोस्न आइलाग्छ, तै पनि हामी लाचार हुनु परेको छ। यसको कारण यिनै क्षमता बिहीन राजनीतिज्ञ हुन्।
सत्ताको लोभ छैन भनेर ओलीले पटक पटक भन्ने कुरामा हामीलाई विश्वास लागेको थियो। संसद बोलाउना साथ आफ्नो सत्ताको यात्रा टुङ्गीने डरले संसदकै गला रेट्ने मान्छेले कसरी वैशाखमा चुनाव गराउँछन्? वैशाखमा नगराउन पाए, बर्खाभरि हुँदैन, असोज-कार्तिक चाडबाड, मंसिरदेखि जाडो, ओलीको चुनाव आउला भनेर आम जनतालाई विश्वासै छैन। उनका गतिबिधिले यस्लाई पुष्टि गर्दै लैजाने छ।
ओली गुटमा भएका मान्छे, कोही पनि राजनैतिक संस्कार भएका छैनन्। बादलको अवसरवादी मौनता हामीले पहिला पनि देखिसकेकै हौं। वामदेव भोलि जता जान्छन्, त्यतैको टाउको दुखाइ हुन समय लगाउँदैनन्। हाल ओली गुटमा भएका भद्र र शालिन व्यक्तिहरु औंलामा गन्न सकिने छन्।
नेम्वाङ र ज्ञवाली चुपचाप ओलीको अपराधमा सामेल भएका छन् तर लाग्छ उनीहरुलाई अपराध बोध हुने छ। जति नै अपराध बोध भए पनि उनीहरु गुट परिवर्तन नै भने गर्ने छैनन्। अदालतले सदन बिम्त्याइ दिएमा बादलको भर हुने छैन, बामदेव त्यही निर्णय कुरेर बसेका हुन्।
दाहाल-नेपाल गुटले पर्याप्त सहानुभूति आर्जन गर्नु पर्ने छ, तर पारा हेर्दा उनीहरु पनि एउटै ड्याङमा रोपेका मुला जस्ता देखिदै छन्। ओलीलाई गाली गरेर मात्र अब केही हुने वाला छैन। जति अरुलाई गाली गरिन्छ, आफू त्यति नै तल परिन्छ भन्ने कुरा यो उमेरका राष्ट्रिय नेताहरुले बुझ्न सक्नु पर्छ।
तीन तीन जना पूर्व प्रधानमन्त्रीहरु भएको समूह कमजोर हुनु भनेको अर्को दुर्भाग्य हो। कस्ले ओलीलाई धेरै गाली गर्ने भन्ने प्रतिस्पर्धाबाट माथि निस्किएर राजनेता हुने बाटोमा सबैले लाग्नु पर्छ।
जति नै कमि कमजोरी र खराबीहरु भएता पनि अहिलेको अवस्थालाई समालेर लैजाने जिम्मेवारी अब यही समूहले लिनु पर्छ। अबका विरोध सभाहरुमा ओलीलाई गाली गर्ने काम होइन, यो अवस्था आउन म कति जिम्मेवार थिएँ भन्ने आत्मसमीक्षा गरिएको लगायत ओजपूर्ण भाषण सुन्न पाइयोस्।
खसाल्ने र गाली गर्ने काम ओली समूहले समाली नै हाल्ने छ। त्यो गालीको जवाफ उनीहरुलाई शब्दले होइन, शालिनताले फर्काउनु नेपाल-दाहालको समूहले गर्यो भने, दिगो र जिम्मेवार जनताको साथ पाउने छ।
ओली र उनका समर्थकहरुलाई यो लेखमा लेखिएका कुराहरु पट्टकै मन पर्ने छैन। तैपनि मलाई विश्वास छ, माथिका खस्रा र तीता कुरा ओली र उनको समूहले चटक्कै बिर्सेर यो तलको वाक्य हेर्दै मुस्कुराउने छ,
'ढोग गरेँ केपी बा, ढोग गरेँ।'