महोदय,
आज अलिकति लोकलाई लाज लागेको छ, तपाईंका तर्क सुनेर।
तपाईंबाट म जस्ता युवाले गर्व गर्ने स्वर्णीम सुन्दर स्वर सुन्न खोजेका थियौँ तर तपाईंमा 'म' भित्रको अंहकारले गिजोलिरहेको रहेछ। तपाईंमा अझ मैले सबै गरेको हुँ भन्ने आत्मरतीमा रमाउन खोजिरहनु भएको छ। त्यो पटक्कै सुहाएन।
लोडसेडिङ अन्त्य मैले गरेको हुँ, कुलमानलाई मैले ल्याएको हुँ भनेर आदि इत्यादि कुरामा तपाईंको बहस र तर्क चलिरहेको छ।
भोलि कसैले कुलमानलाई मैले बसमा चडाएको थिएँ, लोडसेडिङ अन्त्य गर्न मेरो पनि भूमिका छ भनेर कसैले भन्ला। यी यस्तै खाले अर्थहीन गफले कुनै अर्थ राख्ला? बहस केमा गर्नु भयो, के आवश्यक थियो? पटक्कै थिएन, यस्ता नौटंकी बन्द गरिनु पर्छ।
अर्घाखाँची जिल्लाकै श्रद्धेय स्वर्गीय काशीनाथ गौतम यातायात मन्त्री हुँदा सुरू गरेको सालझण्डी तीनगिरे बाटोको स्वरूप बद्लिएर सुरू भएको ढोरपाटन सडकमा टोपबहादुरको योगदान छ भनेर मानिस गाइगुइ कुरा गरिरहेकै थिए।
बाटोको कारण घरखेत र दुई छाक खानबाट धेरैको बिचल्ली भए पनि सम्झना गरिरहेकै थिएँ तर आज अस्वाभिक रूपमा मन्त्री पदमा विराजमान हुँदा वित्तिकै सगरमाथाकै चुचुरोमा पुगे झैँ लाग्नु र अझ म बोलेकै सबथोक ठिक हो भन्न थाल्नु भयो भने त्यो त्यति जिवन्त हुने छैन।
माननीय मन्त्री महोदय,
अरूले गरेका राम्रा काम मैले गरेको भनेर हानथाप गर्नुको सट्टा नयाँ योजना ल्याउनुस्। जुन तपाईंको जीवनपछि पनि जिवन्त बनोस्। मानिसले श्रद्धाका पुष्पहरू चढाउनको लागि उत्साहित हुने अवसर बनोस् र अझ मानिसमा गर्वको महशुस होस्।
तपाईं त्यस्तो राजनेता हुने कि असफल शासक हुने, त्यो आज गर्ने कर्मबाट भविष्य को सूर्योदय हुनेछ।
विकासको परिभाषा नै बदलिदिनुस्! यातायातको रूपमा निर्माण भएका सडक बाटोको वरीपरि फलफूल लटरम्म हुने किसिमले वृक्षारोपण गरेर सडक बाटो बनाउदा, निर्माण गर्दा अनिवार्य रूपमा बोटबिरुवा लगाउने नीति नियमसँगै कार्यान्वयन हुने संयन्त्र बन्यो भने अमूल्य मानवीय जीवन बच्न सक्छ। अकालमा मृत्युवरण गर्न विवश अवस्था रोकिने थियो।
भोलिका देशका कर्णधार बालबालिका हुन्। उनीहरू पढने सरकारी विद्यालयहरूलाई उच्चकोटीको शिक्षा दिने संयन्त्र निर्माण गर्नुस्। यदि इच्छाशक्ति छ भने त्यसको लागि आधार के हुन् र कसरी गर्न सकिन्छ? सोच्नुस् साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बहस गरेर निष्कर्ष निकाल्नुस्।
जस्को कारण मानिसमा आशाको संचार हुन सकोस्, विश्वासको भरपर्दो आधार बनोस्। त्यसपछि निर्माण हुनेछ समाजको उज्यालो अनुहार। तर तपाईं लोडसेडिङको अन्त्य मैले गरेको भनेर जाडोमा तातो ताप्नु खोजिरहनु भएको छ।
गफ र हल्लाले मानिसलाई प्रभाव पार्ने यो युग होइन, बोल्न नसकोस्, आँखाले देख्न नसकोस्, कानले सुन्न नसकोस् तर काम निष्ठापूर्वक गर्छ भने त्यस्ता मानिसलाई मानिसले खोजि खोजि पुजिरहन्छन्।
म भगवान हुँ, मलाई पुज्नु पर्छ भन्नुको गर्जनसँग मानिसको सम्बन्ध र सरोकार छैन। चर्को बोल्नु होला, बिरोधमा सास काड्नेलाई चड्कन हान्नु होला। त्यसले मानिसको मन भित्र पस्न सकिदैन। यो देशले तपाईंलाई मन्त्री पदमा पाएको छ।
यदि कुनै सार्थक परिणाम प्राप्त भएन भने त्यसले खासै अर्थ राख्ने छैन। अहिले तपाईंको एकदिन पनि महत्वपूर्ण छ, त्यसलाई तपाईं कसरी प्रयोग गर्नु भएको छ। त्यो तपाईंले आफ्नै अन्तरमनबाट आफैले विश्लेषण गर्नुस्!
तपाईं फूल मालामै अझ वरीपरिको स्वस्तीगान मै आरती गर्नेकै रमझममै रमाइरहने हो भने त्यसको सावधिक गुणात्मक अर्थ रहने छैन। अझ घृणामा रूपान्तरण हुनेछ।
माननीय मन्त्री महोदय,
आज तपाईंले राम्रो काम गर्नु भयो भने विश्वभरबाट नै तपाईंको मुक्त कण्ठले प्रशंसा हुनेछ। आजको युग विज्ञान र प्रविधिले निकै साँघुरिएको छ। तपाईं भ्रमलाई ढाक्ने तिर नलाग्नुस्।
एउटा यस्तो व्यक्ति बनिदिनुस्, जस्ले गर्दा अर्घाखाँचीको माटो कै मानिसले श्रद्धा र सम्मान गर्ने छन्। छट्टु र चातुर्यताले क्षणिक सफलता जस्तो देखिए पनि मानिसको मनबाट घृणा पैदा हुनेछ। रोजाइ तपाईंको हो।
जित्ने हार्ने, सफलता असफलताभन्दा पनि असल काम के हो? निष्ठाका निर्देशक सिद्धान्तहरू के हुन्, त्यो तपाईंको विवेकले दिन सकोस्। आजको बकवास र अर्थहीन गनगनमा मूल्यवान समयलाई कौडीको मूल्यमा खेर नफाल्नुस्। राजनेताको परिभाषामै बदलिदिनुस्। विकासको स्वरूप नै यस्तो चमत्कारपूर्ण गरिदिनुस् जस्ले गर्दा मानिसमा उर्जा भरिनेछ।
प्रधानमन्त्री केपी ओलीका बकवास कुराले दिने मनोरन्जन क्षणिक रूपमा रमाइलो होला तर देश समृद्धि हुँदैन र भएन। प्रचण्डको परिवार प्रेमी राजनीतिले पनि देश बनेन। माधव नेपाल, झलनाथका गनगनबाट पनि मानिसमा उर्जा छैन। यद्यपि तपाईं निराशा र असफल झुण्डबाट चम्किलो बन्न सक्ने धेरै अवसर छन।
त्यसको लागि काम चाहिन्छ। काम मानिसको जीवनमा सुधार हुने जीवनस्तर वृद्धि हुने किसिमको हुनु जरूरी छ। केही कार्यकर्तालाई जागिर मिलाइदिने प्रलोभनमा वरीपरि राख्नुको मजामै रमाउने हो भने तपाईंको घर रंगिएला, खाटको वरिपरि सुनकै जलप भरिएला तर देशले केही पाउने छैन।
हुन त तपाईंका प्रारम्भिक अभिव्यक्ति नै निराशाका बादलबाट झुल्किएका छन्। अंहकारको गर्जनमा उर्लिएको मेगले कति वर्षा गर्ला? भूमिगत कालको माओवादी धम्किबाट हुर्किएको राजनीतिमा विनयशीलताको व्यापक र विशाल चौपारी बिना समाजको रंग सुन्दर सक्ने छैन। अवसरलाई स्वार्थमा रूपान्तरण गर्ने कि सृजनामा परिणत गर्ने, त्यो कर्मबाट रूपान्तरण हुनेछ।
यति सुन्दर देशलाई विकासमा श्रृंगार्ने हो भने नेपाल एकदिनमै पूर्व पश्चिम घुम्न सकिन्छ तर त्यसको लागि क्षमता योग्य कर्मशीलता चाहिन्छ। यदि तपाईंमा त्यो हिम्मत शाहस छ भने तपाईंको काम गर्ने टिममा सय जना कुलमानहरू जन्माउने तागत देखाउनुस्, एउटा कुलमानको अपमान नगर्नुस्।
देखाउनुस्, यो देश बदल्ने शाहस बुद्धि र विवेक निकाल्नुस्। अब त तपाईंको कपालको रंग पनि सेतोमा रूपान्तरण भैइसकेछ। क्रमिक रूपले युवावस्थाको जोश र जागर विस्तारै कमजोर हुँदै जान्छ। अब यो अवसरलाई अर्थहीन बकवास तिर लाने काम बन्द गर्नुस्। काम गर्नुस, काम।
केपी ओलीको सती जाने लालचाभन्दा समाजको आवश्यकता के हो, त्यो रातदिन नसुतेर योजना बनाएर चमत्कार गर्नुस्। अनि हुनेछ दश वर्षें युद्धको पीडाबाट पनि एउटा असल सपुत जन्मिएछ देशमा भन्ने आशा झुल्किने छ। अन्यथा जनताको अझ युवाको आँसुको श्रापले तपाईंहरू पोलिरहने छ।