प्रिय मित्र कमल, मिठो सम्झना।
म यहाँ सन्चै छु। तिम्रो शरीर अब हामीबीच रहेन भन्ने खबर सुनेपछि तिम्रो आत्मलाई नै भए पनि केही शब्द लेख्न मन लाग्यो र पत्ररुपि शब्दको संयोजन गरेको छु।
म भौतिक शास्त्रको विद्यार्थी भएको कारण मृत्युपछि आत्म जीवित रहन्छ भन्ने मान्यतामा खासै विश्वास गर्दिनँ तर पनि आफ्ना भावना तिमीसम्म पुर्याउने कुनै विकल्प बाँकी नभएपछि तिम्रो आत्मलाई नै पत्र लेख्ने निष्कर्षमा पुगेँ।
भौतिकवाद र आध्यात्मवाद बीचको विवादित यो विषय कुनै निचोडमा नपुग्दासम्म आत्म जीवित नै हुन्छ भन्ने विश्वास लिएको छु। र तिम्रो आत्मा मेरै वरीपरि विचरण गरिरहेको आभाष गरेको छु।
साथी, मैले तिम्रो आत्मलाई भएपनि केही लेखौं भनेर सुरु गर्न खोजेँ तर लेखाइको गति बढाउनै सकिनँ। मलाई तिम्रो जीवनको बारेमा लेख्न मन थियो। तिम्रो प्रगतिको बारेमा लेख्न मन थियो। तिमीले पाएको सफताको बारेमा लेख्न मन थियो।
केही दिनमा खोटाङबाट काठमाडौँ सरुवा भएर आउदै थियौ। त्यसका बधाई दिन तयार भएर बसेको थिएँ। यही माघमा बिहे गर्ने तयारीमा थियौ। तिम्रो बिहेमा रमाउन अनि खुसीयाली साट्न मन थियो। तिम्रो दाम्पत्य जीवनको सफताको लागि दुई शब्द खर्च गर्न मन थियो।
लोकसेवाको तयारीमा अनवरत लागेका थियौ। लोकसेवामा पाएको सफलताको बारेमा लेख्न मन थियो। म तिम्रो लामो जीवनको हरेक सफलतामा तिमीसँगै रहन चाहान्थेँ। तिम्रो खुसीको महलमा एक इँटा थप्न चाहान्थेँ। तिम्रो सफताको समुद्रमा एक गिलास पानी बन्न चाहान्थेँ।
लोकसेवा आयोगका परीक्षाहरुको रफ्तारका कारण म सामाजिक संजालमा त्यति समय दिन सकेको थिइनँ। उसैत तिमी सामाजिक संजालमा विरलै देखिन्थ्यौ। समाजिक संजालमाभन्दा फोनबाटै भलाकुसारी गर्न मन पराउने मान्छे हौ तिमी। त्यसैले हाम्रो आत्मियताको माध्यम यही फोन नै बनेको थियो।
तिमीसँग दुई चार दिन कुरा हुन नपाए पनि कस्तो कस्तो महशुस हुन्थ्यो। पुष २९ गते अर्थात् तिमी जीवित रहेको अन्तिम दिन तिमीसँग आधा घण्टा फोनमा गफ भएको रहेछ। आज फेरि फोन गर्ने जमर्को गर्दै थिएँ। बिहानै के फोन गर्नू, एकछिनपछि गर्छु भन्ठानेर सामाजिक संजालमा आँखा दौडाउदै थिएँ।
अकस्मात्! मेरो आँखा एउटा सामाचारमा पर्न गयो। सामाचारको शिर्षक थियो, अधिकृत पढ्दै गरेका अदालतका कर्मचारी मृत भेटिए। कहाँको समाचार रहेछ भनेर छिटोछिटो हेरेँ। त्यसमा लेखिएको थियो- खोटाङ जिल्ला अदालतका तामेल्दार कमलदीप ढकाल।
सामाचार पढिसकेपछि तिम्रो तस्बिरलाई दर्जनौ पटक दोहोर्याएर हेरेँ। तिमी होइनौँ कि भनेर धेरैपटक भुल्ने प्रयास गरेँ। अनेक बहाना गरेँ। तर तिम्रो सुर्खेतको ठेगाना र साक्षात फोटोको कारण पत्याउनु बाहेक अर्को विकल्प थिएन।
तिमी र मेरो सम्बन्धको साक्षीको रुपमा अर्को मित्र गणेश थापा हुनुहुन्थ्यो। उहाँलाई फोन गरेँ। उहाँबाटै सबै यथार्थ बुझेँ। दुवैजनाले आधाघण्टा जति मनको बह पोख्यौं। तिम्रो दुःखद अन्त्यको वास्तविकता प्रमाणित गर्यौं।
त्यसपछि पनि मन शान्त भएन। तिम्रो नम्बरमा फोन हानेँ। सर नमस्ते भन्ने तिम्रो हसिलो बोलि सुनिन्छ कि भन्ने आशा थियो। तर जति पटक डायल गरेपनि सम्पर्क हुन सकेन। फोनले मात्र भनिरह्यो- तपाईले डायल गर्नुभएको नम्बरमा सम्पर्क हुन सकेन।
जब तिम्रो मृत्युको खबर सुनेँ र तिमी अब यो संसारमा रहेनौं भन्ने निष्कर्षमा पुग्न बाध्य भएँ, त्यसपछि बल्ल थाहा पाएँ मृत्यु बारे म पूरै अनविज्ञ रहेछु। मुत्यु जीवनको एउटा सत्य हो भन्ने थाहा थियो। तर त्यो बुझाइ नितान्त सतही रहेछ मेरो।
मैले जीवनको एउटा पक्ष भनेर मृत्युलाई जीवनको एक चक्र बनाएको रहेछु। जुन जीवन चक्रमा मृत्युलाई अन्तिममा राखिदिएर सबै मृत्युलाई सामान्यीकरण गरेको रहेछु। मैले अप्रत्याशित मृत्यु नदेखेको पक्कै होइन। तर हरेक त्यस्ता मृत्युका कारण खोजेर सामान्यीकरण गरेको हुन्थेँ। तर तिम्रो मृत्युको बारेमा कुनै चित्तबुझ्दो कारण भेट्न नसकेपछि म नराम्रोसँग रन्थनिएँ।
ममाथि एकप्रकारको द्वन्दको उत्पति भयो। र मेरो प्रिय साथीको मृत्युको नमिठो तथ्यलाई मृत्युका रहस्यमय पक्षहरुको एउटा उदाहरणको रुपमा लिन विवश बनेँ।
आजसम्म मृत्युको वास्तविक रस कसैले लिएको छैन। त्यसको अनुभव आजको दिनसम्म कसैले बताउन सकेको छैन। मृत्य पिडादायी हुन्छ वा आनन्ददायी, यसको कुनै प्रमाणित तथ्य बाहिर आएका छैनन्। तिम्रो ठूलो देह आनन्दले पल्टिरहेको देख्दा मृत्यु आरामदायी नै हुन्छ होला भन्ने महशुस भएको छ।
तिमी अब लास बनिसकेका छौ। तिम्रो परिचय अब इतिहास बनिसकेको छ। तिमीसँगै तिम्रा सपना पनि सकिएका छन्। तिमी कुन ठाँउ पुगेका छौ? त्यो तथ्य अहिलेको विज्ञानले भन्न सक्दैन। तिम्रो आत्म मर्दैन भन्ने अध्यात्मको मिलिन कहावतलाई पत्याएर मैले यतिसम्म लेख्ने प्रयास गरेँ।
तिमी जहाँ छौ, त्यस्तै आनन्दले रहनु। मलाई थाहा छ तिमी जस्तोसुकै परिस्थितिमा पनि हाँसीखुसी रहनसक्ने मान्छे हौ। त्यहाँको संसारमा पनि तिमी दुःखी हुने छैनौ।
२०७२ को विनाशकारी भूकम्पबाट जोगिएपछि मैले तिम्रो नजिकै कोठा सारेको थिएँ। संयोगले तिमी नजिकै बस्ने अवसर मिल्यो। कीर्तिपुरको त्यो बसाइ तथा लोकसेवा तयारीको बहानाले तिम्रो र मेरो मित्रता जोडिएको थियो। त्यसयताका दिनहरुमा हामी बीचको सम्बन्ध निकै भावनात्मक बनेको थियो।
सानो निर्णय लिँदा पनि सोध्ने बानि परेका थियौँ। मैले पनि एक भरोषायोग्य साथीको लिस्टमा तिम्रो नाम सजाएको थिएँ। जीवनको कुनै भरोषा हुँदैन भन्ने कुरा तिमी आफै उदाहरण बनेर प्रमाणित गरिदियौ आज। तिमी जहाँपुगे पनि कुनै खालको दुःख पीडा भोग्नु नपरोस्। तिम्रो आत्माले शान्ति पाओस् साथी। हार्दिक श्रद्धान्जली।
उही तिम्रो साथी मोहन।