सम्माननीय प्रधानमन्त्री ज्यू,
प्रधानमन्त्रीलाई सम्माननीय भनेर सम्बोधन गर्नुपर्छ भनेर मैले पढेको थिएँ। तर जो व्यक्तिले आफ्नो देशको छोरी, दिदी बहिनी, नातिनी, आमा भाउजू लगायतका महिलाको इज्जतको सम्मानका लागि हातमा कानुनरूपी अस्त्र भए पनि केही गर्न सक्दैन भने उहाँलाई, सम्मान शब्दले के फरक पर्ला र?
प्रधानमन्त्री ज्यू,
म सामान्य नेपाली युवतीको प्रतिनिधि आवाज हुँ। आशा छ यो आवाज तपाईंसम्म पुग्नेछ।
मेरो आवाजस्तै तपाईंले मेरो मुटुको धड्कन पनि सुन्नुहुनेछ भन्ने अपेक्षा छ। सुन्नुस् प्रधानमन्त्री ज्यू, आजको दिनमा बाटो हिँड्दा मेरा पैतालाभन्दा बढी मुटुको चाल नाप्दै हुन्छु।
सोच्नुहोला, मुटुको चाल किन नाप्नू ?
मुटुको रोगी हैन म, तर बलात्कारजस्तो सामाजिक रोगको भयले मेरो मुटुको धड्कन बढाएको छ।
दिन प्रतिदिन इज्जत लुटिएका दिदीबहिनीको खबरले मेरो मुटुलाई टुक्राटुक्रा परिदिन्छ्न्। ती प्रत्येक टुक्राको चालले मेरो
मनमा भूकम्प लिएर आउँछ।
प्रधानमन्त्री ज्यू तपाईंको देशमा आफ्नो शरीरको अंगबारे थाहा नै नपाइसकेका चार वर्षकी बालिकाको समेत बलात्कार भइरहेको छ। के तपाईंलाई थाहा छ?
निर्मला पन्तको घाउको खाटा नबस्दै अर्की किशोरी भागरथी भट्टको चोट थपिएको छ। के तपाईंलाई यो खबरले दुखेको छ?
बालिका वा किशोरमात्र हैन डाँडापारिको घाम भइसकेकी बूढी आमाहरूसमेत बलात्कार गरेर हत्या भइरहेको छ। के तपाईंलाई यस्ता खबरले छुन्छ?
तपाईंले त सपथ लिनु भएको छ, देश र जनताको सुरक्षा सुनिश्चित गर्छु भनेर, खै त त्यो बाचा पूरा गरेको ? महिनौं बित्यो, तपाईंले नै कसम खानु भएको थियो नि निर्मला बहिनीको हत्यारालाई सजाय दिलाउँछु भनेर। खै त तपाईंले कसम पूरा गरेको?
एउटा माइक्रोबस बस चढेर घर हिँडेकी केटी राजधानीमै सामूहिक बलात्कारपछि मारिन्छिन्। १२ वर्षकी नाबालिकालाई सामूहिक बलात्कार गरेर फ्याँकिन्छ।
घरमै पढाउने शिक्षकदेखि लिएर सामाजिक सञ्जालमासमेत कयौं यस्ता घटना घटेका छन् जसको महिलाहरूमाथि प्रत्यक्ष अनि अप्रत्यक्ष नकारात्मक असर परिरहेको छ। जो सामाजिक, पारिवारिक अनि मानसिक दबाबका कारण आत्महत्या समेत गर्न बाध्य छन्।
असुरक्षा, डर र निराशापछि हामीले सडकमा आवाज उठाउन थालेको पनि धेरै भयो।
प्रधानमन्त्री ज्यू, खै त तपाईंले हाम्रो मनको, सडकको आवाज सुनेको?
उही,
तपाईंको देशकी असुरक्षित छोरी