अघिल्लो वर्ष मात्रै आफ्नो फुटबल खेल जीवनबाट सन्यास लिएका कुवेतका ३५ वर्षे अब्दुल्लाह अल-मुतैरीले त्यस लगत्तै आफ्नो जीवनको दोस्रो अध्याय सुरू गर्ने निधो गरे।
प्रशीक्षण क्यारियरको सुरूवात नै नेपालको राष्ट्रिय टिमबाट गरेका अब्दुल्लाह युवा प्रशीक्षक भएर नि हुनसक्छ, उसको जोस,जाँगर र भिजन हेरेर लाग्छ कि, नेपालले साफ च्याम्पयनसिप जित्ने मात्रै होइन, चाँडै नै एसिया कपसम्मको बाटो तय गर्नेछ। प्रशीक्षक आफू मात्रै उत्साह र जोशले भरिएका छैनन्, उनले खेलाडीको मनोबल समेत उच्च बनाइदिएका छन् ।
२००७ देखि अल-फैसली क्लबबाट आफ्नो व्यवसायिक खेल जीवन सुरू गरेका अब्दुल्लाहले अधिकांश समय साउदी अरेबियाको क्लवमा डिफेन्सिफ मिड फिल्डरको रूपमा खेलेका थिए। क्यारियरको अन्त्य अन्त्यतिर पटक पटक घाइते भएका अब्दुल्लाहले अन्ततः २०२० मा खेल जीवनबाट सन्यास लिए। आफ्नो निर्णयमा अडिक रहने, नेतृत्व गर्ने क्षमता भएका र स्पष्ट भिजन राख्ने जस्ता विशेषताले गर्दा नै अब्दुल्लाहलाई आफ्नो ज्ञान र भिजन आफ्ना खेलाडीलाई स्पष्ट रुपमा दिन सक्ने खुबी भएका प्रशीक्षकको रूपमा लिन सकिन्छ।
नेपाली खेलाडीलाई कमजोर ठान्ने, खेलाडीको छनोट उसको खेल हेरेर भन्दा पनि उसको इतिहास हेरेर गर्ने, सधैं रक्षात्मक खेल खेल्नुपर्ने ठान्ने अनि गोल गर्न धौधौ पर्ने जस्ता वर्षौंदेखि भोग्दै आएका समस्याको खुलस्त रूपमा आलोचना गर्दै अब यो समस्या रहनु हुँदैन, यसलाई जरैदेखि चिर्नुपर्छ भन्दै उच्च मनोबलका साथ नेपाल छिरेका अब्दुल्लाहप्रति नेपाली खेलाडी र सिङ्गो राष्ट्रले आश गरेको छ।
नेपालले डिफेन्सिभ हैन अट्याकिङ खेल खेल्नुपर्ने र आफूलाई अरू टिमभन्दा कमजोर सम्झिनु नहुने उनको मान्यता छ। अब्दुल्लाहको अहिलेको मनोवृत्ति देखेर नेपाली दर्शकमाझ पनि एउटा उमंग र आशाको किरण छाएको छ। साँच्चै नै यति निडर, साहसी, महत्त्वपूर्ण निर्णय लिन सक्ने अनि जिम्मेवारी बहन गर्न सक्ने प्रशिक्षक नेपालले सायदै पाएको थियो ।
नेपाली क्रिकेट केही वर्ष अगाडिसम्म डिभिजन ५ मा थियो। अहिले त त्यो कुरा सोच्दा सपना झैं लाग्छ। आज जुन अवस्थामा नेपाली क्रिकेट पुगेको छ, त्यहाँसम्म आइपुग्न खेलाडीको मेहेनत र अथक परिश्रम त छँदै छ, प्रशिक्षक पुबुदु दासानायकको योगदान झनै उल्लेखनीय छ। यसबाटै छर्लङ्ग हुन्छ कि, एउटा असल प्रशीक्षकले एउटा कमजोर ठानिएको टिमलाई कुन उचाईसम्म पुर्याउनसक्छ ।
अब्दुल्लाहको प्रशीक्षणमा नेपालले आफ्नो पहिलो खेल खेलिसकेको छ। ६८औं स्थानमा रहेको इराकविरूद्ध १७१ औं स्थानको नेपालले देखाएको प्रदर्शनले प्रष्ट पार्छ कि, नेपाली फुटबलको नयाँ युग सुरु भइसकेको छ। नेपालले खेल त हार्यो तर केही सुधार र प्रबल सम्भावना यो टिममा छ है भन्ने संदेश त्यो खेलले दिएको थियो।
एउटै खेलबाट अब्दुल्लाहको मूल्यांकन गरी हाल्न त मिल्दैन तर उनको खेल मैदान बाहिरको बोली, टिम प्रतिको विश्वास र खेल मैदान भित्रको खेलमा खासै अन्तर छैन। उनले भनेजस्तै सो खेलमा नेपाली युवा खेलाडीलाई मौका दिए, एट्याकिङ खेल खेल्यो र दुई गोल विपक्षीको जालीमा चुम्न समेत सफल रह्यो। यो वास्तवमा ठूलो उपलब्धि भने हैन तर ‘सम थिङ इज बेटर देन नो थिङ’ भनेझैं यो उपलब्धि नभएता पनि उपलब्धिको पहिलो पहिला भने अवश्य हो।
अब्दुल्लाहको अबको चुनौती भनेको नेपाललाई साफ च्याम्पिनसिप जिताउनु नै हो र एशिया कपको क्वालिफायरमा छनोट हुँदै त्यसमा राम्रो प्रदर्शन गर्नु हो।
जसरी पुबुदुले डिभिजन ५ मा खेल्ने नेपाली क्रिकेटलाई विश्वकपसम्मको यात्रा तय गरेका थिए, अब अब्दुल्लाहबाट पनि विश्वकप नै को त आश नगरौं एशिया कपसम्मको यात्रा तय गर्न योग्य बनाउन सक्दैनन् भन्न सकिँदैन। अब्दुल्लाहलाई नेपाल र नेपालीका लागि फुटबलको पुबुदु बन्ने अवसर छ।
अब्दुल्लाह युवा खेलाडीलाई विश्वास गरेर जुन जोस र उमङ्गका साथ अगाडि बढेका छन्, अब यो नै नेपाली फुटबलको टर्निङ पोइन्ट नहोला भन्न सकिन्न। यसका साथै अब्दुल्लाहमा अब थप जिम्मवारी र चुनौती भने थपिएको छ।
अब्दुल्लाहलाई अब नेपाली फुटबल र नेपाली समर्थकका बीच हिरो हुने अवसर छ र यो अवसरलाई उनले खेर जान दिँदैनन् भन्ने आशा गरौं। यसका लागि अब सम्बन्धित निकाय र सम्पूर्ण नेपालीले उसको साथ र हौसला दिँदै हातमा हात मिलाई अगाडि बढ्नुको विकल्प छैन।