२०७८ असार २३ गते बुधवार बिहानको ३ बजेको समय मलाई केही असहज महसुस भयो। म निन्द्रामा नै हुन्छु, धेरै नै असहज महसुस भएपछि मेरो निन्द्रा खुल्यो। बेडबाट ओर्लन्छु त मेरो खुट्टा र कम्मर अति नै दुखिरहेको थियो। घुडाभन्दा मुनिको भाग जीवनमा त्यति दुखेको थिएन।
म तल गर्छु, माथि गर्छु र मलाई लागिरहेको छ कि केही समयमा ठिक हुनेछ तर बिहानको ५ बजेसम्म पनि खोइ खासै केही पनि उपलब्धि भएन। अब मलाई लाग्छ तातो पानीले नुहाएपछि ठिक हुन्छ, त्यसपछि म बाथरुम छिरेर तातो पानीले नुहाउँछु। खुटामा मज्जाले सहनसक्ने तातोपानी हाल्छु, केही राहत महसुस हुन्छ।
बिहानपख म निदाउने कोसिस गर्छु, केही हल्का महसुस भयो तर एकनासको दुखाइ भने रहेको नै हुन्छ। मैले मेरी अनुलाई (धर्मपत्नी) खुट्टामा तेल लगाइदिनको लागि अनुरोध गरेँ। त्यसले मलाई केही राहत महसुस हुन्छ। उनलाई मेरो शरीर केही तातेको जस्तो लाग्छ र थर्मोमिटरले नाप्दा ज्वरो १०० डिग्रीको हाराहारीमा हुन्छ। अब उनलाई लाग्दछ कि ज्वरो आउनको लागि सबै भएको रहेछ, सिटामोल खुवाउछिन्। त्यसपछि ज्वरो ९९ डिग्रीमा झर्छ। म सामान्य रुपमा नै खाना खान्छु मलाई अन्य खासै समस्या हुँदैन।
यो दिन लगभग पूर्णतया आराम गरेँ, बेलुका हुँदै जाँदा मेरो शरीर अलि तातेको जस्तो अनुभव भयो। दुखाइ अलि कम भएको महुसुस हुन्छ तर मेरो ज्वरो भने फेरि बढ्दै गयो। राति फेरि सिटामोल खाएँ तर सिटामोलले ज्वरो खासै नघटेकोले अनुले पानी पट्टी लगाइदिइन्। यसले केही हदसम्म ज्वरो घटाउन सहयोग गर्यो तर ज्वरो ९९ देखि १०० को हाराहारीमा नै हुन्छ। त्यो रात मेरो ज्वरो १०२ डिग्रीसम्म पुग्यो।
असार २४ गते बिहीबार मलाई दुख्ने समस्या धेरै कम भइसकेको थियो भने ज्वरोको लागि सिटामोल खाइरहेको थिएँ। तर पनि ज्वरो ९९ डिग्रीको हाराहारीमा आइरह्यो। संसारभरि कोरोनाको महामारी भएको बेलामा हामीजस्तो बुझ्ने मान्छेले एकचोटि परीक्षण गर्नुपर्छ भनेर अनुले मलाई सल्लाह दिइन्।
परीक्षण त गर्ने तर कहाँ गर्ने भनेर सोच्दा नेपाल मेडिकल कलेज नजिक भएकाले त्यही जाने सल्लाह भयो। मैले फोन गरेर पिसिआर टेष्ट हुने नहुने सोधेँ। उताबाट ४ बजेसम्म परीक्षण हुने र दुई जार रुपैयाँ लाग्ने जानकारी पाएँ।
सिमसिम पानी परीरहेको थियो। म आफैँले गाडी चलाएर हामी दुई जना हस्पिटल तिर लाग्यौँ। म मनमनै सोच्छु, पक्कै पनि रिपोर्ट नेगेटिभ आइहाल्छ किनभने म खासै घरबाट बाहिर निक्लने होइन। कलेज पढाउने शिक्षक भएकोले अहिले बिहानदेखि बेलुकासम्म म घरभित्र नै हुन्छ भन्ने लाग्छ र अनुसँग ठट्टा गर्दै भन्छु 'बुझ्यौ, रिपोर्ट त नेगेटिभ आइहाल्छ अनि यसलाई फेसबुकमा पोष्ट गरेर स्टाटस पनि लेख्नुपर्छ सबैले साबधानी अपनाऔँ, कोरोनाबाट बचौँ भनेर।' उनी हाँस्छिन्।
बेलुका ८ बजे अस्पतालले दिएको युजर आइडी र पासवर्ड राखेर अनु र म बसेर मोबाइलबाट लगइन गर्दा जब रिपोर्ट खुल्छ, हामी एक अर्कालाई हेर्छौं। किनभने हाम्रो सोचाइको ठ्याक्कै उल्टो रिपोर्टमा कोरोना पोजेटिभ देखिन्छ। रिपोर्ट त पोजेटिभ आइसक्यो अब तुरुन्त त यसलाई नेगेटिभ बनाउन सम्भव छैन। धेरैजसो समय मेरो स्वभाव भनेको हाँसिरहने र नआत्तिने खालको छ, यो मेरो वास्तविक स्वभाव हो त्यसैले म एकचोटि उनलाई हेरेर मुस्कुराएँ।
अब हाम्रो मुख्य दायित्व भनेको अरुलाई कोरोनाबाट बचाउने नै थियो। त्यसैले हामीले घरको सबैलाई कोरोनाको जाँच गराउने विचार गर्यौँ। त्यसैले हामी भोलिपल्ट नै मूलपानीमा रहेको नगर अस्पतालमा गयौँ र सबै अर्थात् मेरो बुबा, आमा, भाउजू, दुई जना भतिजी, एकजना छोरा, मेरो श्रीमती र छोरा गरेर ८ जनाको एन्टिजेन परीक्षण गर्यौं जसमा मेरो बुबा, भाउजूको एकजना छोरी र मेरो छोराको रिपोर्ट नेगेटिभ आयो, अरु सबैको रिपोर्ट पोजेटिभ देखियो।
यसको अर्थ अब हामी घरमा म सहित कोरोनाबाट संक्रमित ६ जना भयौं। परिस्थितिले झनै जटिल रुप लियो। अब भोलि के हुन्छ, त्यो हामीमध्ये कसैलाई पनि थाहा छैन।
मलाई सबैभन्दा धेरै डर भनेको बुबा-आमाको लागिरहेको थियो किनभने बुबाको उमेर ६७ बर्ष र उहाँ अत्याधिक मात्रामा चुरोटको सेवन गर्ने, आमाको उमेर ६५ वर्ष र रक्तचाप थोरै भएकोले अलि कमजोर स्वास्थ्य भएकोले उहाँहरुको अवस्था के हुने हो भन्ने लागिरहेको थियो। म आफ्नो अवस्था नबिग्रने कुरामा निर्धक्क थिएँ। मनमनै लागिरहेको थियो, म आफू चुरोट सेवन नगर्ने, जाँडरक्सी कहिल्यै नखाने र कुनै पनि दीर्घकालीन रोग नभएकोले के हुन्छ र भन्ने लागिरहेको थियो।
रिपोर्ट आइसकेपछि हामीले पोजेटिभ रिपोर्ट देखिएको र नदेखिएको घरका सदस्यहरुलाई छुट्टाछुट्टै राख्ने निर्णय गर्यौं। त्यसैले मेरो ६ वर्षको छोरालाई उसको मामाघर पठायौं, बुबालाई र भाउजूको छोरीलाई भने छुट्टै कोठाको व्यवस्था गरियो।
मलाई कोरोना देखिएपछि मैले घरभन्दा बाहिर पहिलो जानकारी मेरो साथी मुनु बुढाथोकीलाई दिएँ। उनले कतै बाहिर कार्यक्रममा भाग लिएको थियौ कि भन्ने कुरा सोधिन्। मैले बाहिर खासै कतै नगएको बताएँ। उसले त्यसोभए केही पनि हुन्न, आत्तिनुपर्दैन भन्ने कुरामा आश्वस्त गराइन् र हाम्रो डाक्टर (उनको श्रीमान् जोसँग मेरो पनि राम्रो सम्बन्ध छ) सँग सल्लाह लिनू भनिन्।
त्यसपछि मैले बेलुका तिर डाक्टर रविन पण्डितलाई सम्पर्क गरेँ र सल्लाह लिएँ। उहाँ सिभिल अस्पतालमा कार्यरत हुनुहुन्छ। उहाँले केही भिटामिनहरु सहितको औषधिको लिस्ट मलाई भाइबर गरिदिनु भयो र 'केही हुन्न, नआत्तिनू' भनेर भन्नुभयो।
तेस्रो दिन हामी नेपाल मेडिकल कलेज अगाडिको औषधि पसलमा गयौं र डा. रविनले लेखिदिएको औषधिको लिस्ट दियौं। एउटा अक्सिमिटर पनि हामीले किन्यौँ किनभने कोरोनाको बिरामीले मुख्यतयाः अक्सिजनको मात्रा जाँच गरिरहनुपर्ने हुन्छ। औषधि पसले दाइले बुझिहाल्नु भयो कि यो व्यक्तिलाई कोरोना भएको छ र भन्नुभयो 'यो औषधिहरु धेरै बिक्री भयो।'
मैले उहाँलाई सोधेँ, 'तपाईंलाई कोरोना भएन?'
उहाँले भन्नुभयो, 'ह्या के हो यो कोरोना सायद भयो कि, ज्वरो त आको थियो सिटामोल खाएँ केही दिनमा ठिक भयो। अनि तपाईं त औषधि बिक्री गर्ने व्यक्ति भ्याक्सिन लगाउनु भयो होला नि?'
'कुरा नगर्नुस् सर, अहिले यो कोरोना कतिपय व्यक्तिलाई पैसा कमाउने माध्यम भएको छ, तपाईंलाई त के थाहा हामीलाई थाहा छ। पहिला त होइन सर मैले हिजो मात्र एकजना चिनेको नेताको घरमा भ्याक्सिन रहेछ भनेर लगाएँ। यो हो नि सर हाम्रो देश।'
म मनमनै अचम्मित भएँ र हामी घरतिर आयौँ। मलाई के थाहा थियो भने कोरोनाको बिरामीले प्रोटिनयुक्त खाना खाएर नै रोगलाई गलाउनु पर्छ। त्यसैले चौथो दिन मैले मज्जाले खाना खाएँ। मेरो जनजिवन सामान्य नै थियो, कक्षाहरु पनि लिइरहेको नै थिएँ। सायद पाँचौ दिनदेखि मलाई खानामा खासै इच्छा भएन। त्यही पनि जबरजस्ती खाइरहेको थिएँ।
छैटौँ दिनदेखि त मलाई लाग्न थाल्यो भान्छामा जान नपरे हुन्थ्यो। केही खान पनि नपरे हुन्थ्यो। मेरो गन्ध, स्वाद सबै हराइसकेको थियो। त्यो दिनदेखि फेरि मलाई ज्वरो आउन थाल्यो, शरीर आलस्य हुन थाल्यो। सिटामोलले ज्वरो घटाउन एकदमै गाह्रो हुन थाल्यो, पसिना एकदमै धेरै आउँथ्यो।
मैले स्टिम पनि लिन थालेँ। खानामा कमी, ज्वरोको कारणले मलाई सुतिरहन मात्रै मन लाग्थ्यो। पानीपट्टीले पनि ज्वरोमा सुधार आएन। केही सीमित साथीहरुलाई मेरो बारेमा थाहा थियो, फोन आउँथ्यो म सामान्य छु भन्थेँ किनभने कोरोनाबाट ज्यानै जान्छ भन्ने सबैलाई थाहा भएकोले म साथीभाइलाइ तनाव दिन चाहँदैनथेँ। अब खोकी पनि लाग्न थाल्यो, खोकी त्यति धेरै थिएन तर जब स्टिम लिन्थेँ त्यसपछि भने खोकी मज्जाले नै लाग्थ्यो।
सातौँ दिनबाट अक्सिमिटरले पनि मेरो आत्मविश्वासलाई त्यति साथ दिएको महसुस भएन किनभने अक्सिजनको मात्रा ८९, ९० तिर आउन थाल्यो। सामान्यतया अक्सिजन ९४ को हाराहारीमा हुनुपर्छ भनिँदो रहेछ र ९० भन्दा मुनि झर्नु हुन्न भनिँदो रहेछ। बेलाबेलामा डा. रविनलाई फोन गरिरहेको हुन्थेँ, उहाँले घोप्टो परेर सुत्नको लागि सुझाव दिनुभयो। घोप्टो परेर सुत्दा अक्सिजन ९२ तिर जान्थ्यो, म श्रीमतीको मुहार उज्यालो देख्थेँ।
अक्सिजनको मात्रा तल तिर आउँथ्यो, उनको मुहार मलीन हुन्थ्यो भने अक्सिजनको मात्रा माथितिर उक्लिँदा उनको मुहार उज्यालो हुन्थ्यो। त्यसैले म अक्सिजनको मात्रा बढाउने कोसिसमा हुन्थेँ।
आठौँ दिनसम्म पनि ज्वरो रोकिएको थिएन, अक्सिजनको मात्रामा पनि ८९ र ९० तिर नै भएकोले सबैको सल्लाहमा एकचोटि एक्स-रे मात्र भए पनि गर्ने हिसाबले श्रीमती र म सिभिल हस्पिटल तिर लाग्यौँ। गाडी मैले आफैले चलाएँ, मलाई खासै गाडी चलाउन गाह्रो भने भएको थिएन।
अस्पतालको इमरजेन्सी अगाडि पुगेर गाडी राख्ने क्रममा गार्ड दाइले भन्नुभयो, यहाँ मर्मतको काम भइरहेको छ, गाडी राख्न मिल्दैन। म आफै बिरामी भएकोले गाडी मैले बाहिर लिएर गएँ र खनाल पब्लिकेसन अगाडि बाटोमा नै राखेँ र हिँड्दै आएँ। हिँड्ने क्रममा भने मलाई ज्यादै खोकी लाग्न थाल्यो र म आफू साँच्चै नै गम्भीर बिरामी भएको महसुस भयो।
हामी त्यसपछि इमरजेन्सीमा गयौं, इमरजेन्सीमा सबै जाँच गरियो, एक्सरे पनि लिइयो र त्यहीँ मलाई अक्सिजन पनि लगाइयो। यसपछि मलाई अलि राहत महसुस भयो र खोकी पनि कमी भयो। एकछिनपछि इमरजेन्सीको डाक्टर आएर भन्नुभयो 'तपाईंलाई निमोनिया देखिएको छ, बस्नुपर्छ।'
हामीले एकअर्कालाई हेर्यौं किनभने हामी खासै बस्ने योजनाका साथ गएका थिएनौँ र हामीसँग केही सामान पनि थिएन। फेरि पनि त्यही बस्नु त पर्ने भयो नै। दिउँसो पूरै इमरजेन्सीमा बितायौं र बेलुका लगभग ७ बजे बेड खाली भयो। मलाई सिधैँ कोभिडको हाई केयर युनिटमा लगियो।
अब मेरो अस्पतालको यात्रा सुरु भयो। कति दिन लाग्छ, नतिजा के हुने हो यो कुरा भने हामीलाई खासै थाहा थिएन। मैले भने मनमनै योजना बनाइरहेको थिएँ, एक हप्तामा ठिक भयो भने मेरो बाहिरको कामलाई खासै असर पर्दैन किनभने मेरो बाहिर धेरै नै कामहरु मिलाउनु थियो।
जति नै काम भए पनि म आफू ठिक नभई गर्न असम्भव थियो र स्वास्थ्य राम्रो नभई केही पनि हुँदैन। त्यही पनि मेरो भित्री मनमा भने लागिरहेको थियो कि म चुरोट खान्न, जाँड रक्सी छोएको पनि छैन, एक हप्तामा त ठिक भइ नै हाल्छ नि, समयको कुरा त मलाई थाहा थिएन।
भर्ना भएको बेलुकादेखि मलाई मेरो हातको नशाबाट औषधि दिने व्यवस्था मिलाइयो। विभिन्न खालका औषधिहरु दिन थालियो। सायद बेलुका १० बजेको थियो डाक्टर आउनुभयो म भने बिमारी र सायद औषधिको कारणले निद्रा वा लगभग बेहासीको हालतमा थिएँ। त्यही पनि बाहिरको गुनगुन मेरो कानबाट दिमागसम्म भने पुगि नै रहेको थियो।
डाक्टरले भन्नुभयो, 'उहाँको अवस्था खासै राम्रो देखिँदैन, अवस्थामा सुधार आएन भने रेम्डिसिभिर चलाउनुपर्छ।' यसको फिडब्याक भने किड्नीदेखि मुटुसम्म हुने कुरा सुनाउनभयो तर मेरी श्रीमतीले कोभिड भएको ८/९ दिन भइसक्यो, त्यसैले रेम्डिसिभिर नचलाउने कुरा गरिन्।
भोलिपल्ट म उठेर ट्वाइलेट गएँ फर्केर आउँदा (लगभग ट्वाइलेटदेखि बेडसम्मको दूरी १० पाइला जति होला) मलाई श्वास फेर्न गाह्रो भइरहेको थियो भने मेरो अक्सिजन लेभल ७५ को हाराहारीमा पुगिसकेको थियो। त्यसपछि मेरो ट्वाइलेट जाने सिलसिला पनि श्रीमतीले बन्द गरिदिन्, अब बेडबाट कतै जान नपाइने भइयो।
म धेरैजसो समय निदाइरहेको हुन्थेँ तर बाहिर भइरहेको गफ कहिलेकाहीँ कानमा पर्ने गर्थ्यो। एक/दुई पटक आइसियूमा सिफ्ट गर्नको लागि कुरा भएको तर त्यता बेड खाली छैन भनेको सुनेको थिएँ।
अस्पतालमा म बसेको कोठामा तीन वटा बेड थियो। एकजना धादिङबाट आउनु भएको थियो भने अर्को बेडमा काठमाडौंको कपन साततलेबाट आउनु भएको थियो। कोरोना लागेको व्यक्तिलाई घरका परिवारले खासै वास्ता गर्दैनन् भन्ने सुनेको थिएँ तर त्यो कोठाबाट मैले वास्तवमा परिवारको माया भनेको के हो भन्ने थाहा पाएँ।
दुवै बेडका परिवारहरुले असाध्यै माया गर्नुहुन्थ्यो। सायद जीवनको सफलता भनेको नै यही होला। मेरो आफ्नो कुरा गर्दा घर-परिवार सबैलाई कोरोना भएको थियो, मेरो कुरुवाको रुपमा श्रीमती मात्र थिइन् तर मलाई मेरो आफ्ना पीडाभन्दा पनि उनको पीडाले सताउँथ्यो किनभने सबै उनले गर्नुपर्थ्यो।
कहिले औषधि पसल, कहिले टेष्टको रिपोर्ट र रातिको निन्द्रा, त्यसमा पनि बिरामीसँग अस्पतालमा बस्दा त्यति सहज हुँदैन र फेरि उनी आफै पनि कोरोना पीडित। असर नदेखिए पनि उनलाई कमजोर बनाएको मलाई महसुस भइरहेको थियो। एकदिन त एकजना नर्सले मलाई आएर नै भन्नुभयो, 'दाइ चाँडै निको हुनुपर्यो, मलाई त तपाईंको भन्दा पनि यो दिदीको माया लाग्न थाल्यो त।' उनको कुराले मेरो मन न चसक्क भयो।
अस्पतालमा उनको धेरै नै धपेडी थियो, मेरो खानेकुरा बनाउनेदेखि लुत्ता-कपडा धुने, फेरि औषधि किन्ने, कहिलेकाहीँ कुनै रिपोर्टको लागि बाहिर ल्याबमा जानुपर्ने धेरै नै कामहरु थिए। मेरो स्वास्थ्यमा खासै सुधार नभएकोले मभन्दा पनि धेरै उनमा चिन्ताको बादल देखिन्थ्यो।
अस्पतालमा साथीभाइहरुले फोन गरिरहेका हुन्थे तर भेट्नको लागि भने हामी नआउनु नै भन्थ्यौँ किनभने हाम्रो कारणले कसैलाई जोखिम नहोस् भन्ने चाहना रहन्थ्यो। मलाई अस्पतालमा हुँदा पनि घरका सदस्यहरुको चिन्ताले सताइरहेको हुन्थ्यो, प्रायःजसो सबैलाई कोभिड जो भएको थियो। मलाई निमोनिया भएको पाँचौँ दिनसम्म पनि घरमा कसैलाई त्यति असहज परिस्थिति भने भएको थिएन। बुवा-आमालाई सहज नहोला भन्ने लागेको थियो तर त्यस्तो केही पनि देखिएन, मलाई अचम्म लाग्यो।
मैले घरको सदस्यहरुको अवस्था र मेरो अवस्थालाई दाँजेर हेर्ने कोसिस गरेँ किन म जवान हुँदा, जाँड, रक्सी, चुरोट केही पनि सेवन नगर्दा पनि मलाई कोभिडले धेरै सतायो तर घरका सदस्यलाई खासै असर गरेन भनेर हेर्दा घरका सबै व्यक्तिहरुले भ्याक्सिन लगाएका थिए। बुबा र आमाले कोभिशिल्डको एक डोज लगाउनु भएको थियो, श्रीमतीले दुवै डोज लगाएकी थिइन, भाउजूले पनि दुवै डोज लगाउनुभएको थियो। त्यसैकारण उहाँहरुलाई असर गरेन र मैले भ्याक्सिन नलगाएकाले मलाई धेरै असर गरेको लाग्यो।
सिभिल अस्पतालको सबै व्यवस्था मलाई राम्रो लाग्यो, नर्सहरु बेलाबेलामा आउनु हुन्थ्यो, अवस्थाको बारेमा जानकारी लिनुहुन्थ्यो। प्रत्येक दिन डाक्टरहरु आउनुहुन्थ्यो, सोध्नुहुन्थ्यो। अस्पताल गएको तेस्रो दिनमा डाक्टरले फेरि एक्स-रे लिनका लागि भन्नुभयो तर एक्स-रेमा खासै परिवर्तन देखिएन।
मलाईभन्दा मेरी श्रीमतीलाई अलि धेरै दुःख लाग्यो तर मैले सम्झाएँ, कोभिड पो भएको हो त, सामान्य रुघा हो र अलि समय लागि हाल्छ नि। दिन यसरी नै बितिरहेको थियो। त्यही औषधि, एन्टिबायोटिक, फेरि सातौँ दिन एक्सरे लिइयो। त्यसमा पनि खासै परिवर्तन देखिएन र डाक्टरले भन्नुभयो 'आत्तिनु पर्दैन, समय लाग्छ।'
अस्पतालमा सबै ठिक हुँदै गइरहेको थियो, म अब ट्वाइलेटसम्म जानसक्ने भइसकेको थिएँ। त्यसैले चौधौं दिनमा डाक्टरले मलाई राम्रो सुधार हुँदै गएको कुरा सुनाउनुभयो र नआत्तिनको लागि भन्नुभयो। अस्पतालमा चाप पनि बढ्दै गएको र अस्पतालमा सुधार हुँदै गएको बिरामी बस्दा अन्य ब्याक्टेरियल इन्फेक्सन पनि हुने खतरा भएकोले घरमा जाने संकेत गर्नुभयो।
तर मलाई श्वासप्रश्वासमा अझै समस्या भएकोले घर जान सम्भव थिएन। त्यसैले केही दिन अस्पतालमा नै बस्नुपर्ने भयो। अठारौं दिनसम्म पनि मेरो श्वासप्रश्वासमा असहजता नै भएकोले अब कति दिन अक्सिजन चाहिने हो भन्न नसकिने भएकोले अक्सिजन सिलिन्डर सहित घर जाने निर्णय गरियो।
हामी अस्पतालमा बस्दा हामी बस्ने कोठाका बिरामी र परिवारहरुसँग पनि आत्मियता भइसकेको थियो, त्यसैले नजिकको बेडको बिरामीलाई हामी भिनाजु भनेर सम्बोधन गर्थ्यौं। उहाँले अक्सिजन सिलिन्डर मिलाइदिनु भयो र अक्सिजनसहित अस्पतालबाट नजिकको आफन्तकोमा लागियो।