आदरणीय दाजु उपेन्द्र महतोज्यू,
यो पत्रका साथ यहाँको कुसलताको कामना गर्दछु। शारीरिक रूपले म त आरामै छु तर के गर्नु मानिस मानसिक रूपले पनि स्वास्थ्य हुनुपर्ने रहेछ दाजु। जब जब एनआरएनको अन्तर्राष्ट्रिय अधिवेशन आउँछ तबतब मलाईँ तपाईँको यादले सताउँछ र मनमा अनेक कुराहरू खेल्नथाल्छ।
अब एनआरएनमा के हुन्छ? अब एनआरएनको आकार कस्तो हुन्छ? साच्चै नै सच्चा समाजसेवी व्यक्तिले यस संस्थाको जिम्मेवारी पाउछन् कि, पाउँदैनन्? दाजुले सोचेको जस्तो एनआरएनले गति लिन्छ कि लिदैन? वा स्रोत, साधन अनि दलीय आडमा मात्रै नेतृत्व चयन हुन्छ र दाजु धृतराष्ट्रजस्तो आँखामा पट्टि बाँधेर चुप लागेर बस्नुहुन्छ? यस्ता थुप्रै प्रश्न मेरो मनमा आउँछ र म मानसिक रूपले असन्तुलित हुन्छु।
आदरणीय दाजु,
तपाईँलाई त थाहा नहोला, होस् पनि कसरी? तपाईँ र मेरो सम्बन्ध भनेको एक पूजारी र मन्दिरको सम्बन्ध जस्तो हो। सन् २००५ मा अष्ट्रेलियाको सिड्नीमा भएको अधिवेशन उद्घाटन समारोहमा तपाईँले भन्नुभएको थियो, एनआरएन संस्था एक पवित्र मन्दिर हो र यसमा सबै जाति, भाषा र वर्गको प्रतिनिधित्व हुन्छ र गर्नुपर्छ। यस संस्थाले गैरनाफामुलक गैर राजनीतिक, गैरसरकारी रूपमा काम गर्नेछ।
जुन कुरा आजको दिनमा केबल विधानमा मात्र समिति राखियो तर व्यवहारमा त्यसको ठिक उल्टो भेटियो। मलाई राम्रोसँग थाहा छ यस संस्थाको जन्मदाता तपाईँ हुनुहुन्छ। यसरी कठिन परिस्थितिमा तपाईँले जन्माएको संस्थालाई एक पवित्र मन्दिर ठानेर हामीजस्ता कयौं भाइहरू पूजारी र भक्तको रुपमा यस संस्थाको विकासको लागि दन्तचित्त भएर लागेका छौं।
दाजु, समय धेरै परिवर्तनशील रहेछ। अनि यस परिवर्तनसँगै धेरै चिजहरू पनि परिवर्तन भएछन्। परिवर्तन हुनु राम्रो कुरा हो तर त्यो परिवर्तन देश वा समाज को लागि हितकार हुनुपर्छ। अहिले आएर यस पूजारीको आँखा अगाडि यो पवित्र मन्दिर अपवित्रहुँदै गइरहेको आभाष भइरहेको छ। पवित्र मन्दिरको अगाडि राजनीतिक फोहोर थुपारिदैछ सायद यहाँलाई पनि यस्तो लाग्छ होला। तपाईँले जन्माएको यो संस्थाले १८ बसन्त पार गर्दै जादा आज मलाई यसको आयु यतिमात्रै हो कि अरू एक दुई वर्ष बाँच्ला जस्तो लागिरहेको छ।
दाजुलाई थाहा नै छ जब जब देशलाई दुःख पर्छ तब तब विदेशमा बस्ने सबै नेपालीको मन रून्छ र केही न केही सहयोग गर्नको लागि सबै नेपालीहरु एकजुट हुन्छन्। चाहे त्यो भुकम्प होस या चाहे बाढी पहिरो जाँदा होस् या कोभिड नै किन नहोस्।
नेपाल र नेपालीलाई दुःख पर्दा यहीँ पवित्र संस्थामार्फत आफ्नो मातृभूमीमा लागेको घाउलाई मल्हम लगाउन सबै बिदेशमा रहेका नेपालीहरु एक ढिक्का भएका छन्। त्यस्तो परिस्थितिबीच नेतृत्वमा रहनेले होस् वा तलका व्यक्तिले कुनै पनि राजनीतिक दलको ढोका नढकढकाइ कन आफ्नो मातृभूमीको सेवामा समर्पित भएका छन्। तर जब अधिवेशन आउँछ तब पदको लागि भेटी टक्राउन नेताका ढोका ढोकामा पुग्छन्।
अब त यस्तो लाग्न थालिसक्यो कि, भविष्यमा यो संस्थाको नाम परिर्वतन गरेर NRNAA (NO RICH NEPALI NOT ALLOWED) हुन्छ कि जस्तो लाग्न थाल्यो किनकि, जो ब्यक्ति ईमान्दार, सक्षम, योग्य छ तर ऊ सँग पैसा छैन अनि राजनीतिक पहुँच पनि छैन भने उसलाई अछुतको जस्तो ब्यवहार गरेर यो संस्थाबाट निकालिन्छ वा छिर्न बन्देज गरिन्छ।
अब त यस्तो लाग्न थालि सक्यो कि सामाजिक काम गर्न भन्दा नेताको ढोका चाहरेर नेता अनि पार्टीलाई खुसी पारेर संस्थालाई आफ्नो कब्जामा लिन सकिन्छ। तर यसरी संस्थाको गरिमामा आँच आउँदा दाजुको यो मन दुख्यो जस्तो मलाई लागेको छ। तर कहिलेकाहीँ फेरि म सोच्छु दाजु कतै कुम्भकर्ण जस्तोगरि निदाउनु भएको त छैन?
कताकता दाजु मस्त निन्द्रामा होकि, जस्तो लागेर हामी जस्ता हजारौं पूजारीले दाजुलाई व्युझाएर यो पवित्र संस्था भित्र देखिएका विसंगती कु-विचार, विकृतिलाई हटाइ संस्थालाई गतिशील अनि अझ पवित्र बनाउन अगाडि बढ्नुहुन्छ भनेर उठाउन खोजेको मात्र हो।
अहिले आएर लगानी को कुरो गर्दा दाजु जुरूक्क उठ्ने, अनि संस्था धरासायी हुँदा मस्त निन्द्रामा सुतेको हो कि भन्ने आभास भइरहेको छ।
दाजुको अगाडि आज मैले अलि धेरै कुरा राखे जस्तो छु रिसानी माफ होस् र गल्तिका लागि म सजाए भोग्न तयार छु, राजनीतिकै कुरा गर्ने हो भने म पनि नेपालको कुनै पाटीमा रगत पसिना बगाएको मान्छे हुँ। म मात्रै होइन मेरो तीन पुस्ताले पाटीमा रगत पसिना बगाएका छन् तर पनि एनआरएन भनेको विशुद्ध गैर राजनैतिक संस्था हो र यसमा राजनीति घुसाउनु हुँदैन भन्ने मूल्य र मान्यता बोकेर यस संस्थामा होमिएको हो।
तर अहिले आएर संस्था हाक्ने मानिसले संस्थाको विधाननै नपढी अनि त्यही संस्थामा धेरै वर्ष रहेर दलको ढोका ढकढकाउँदा संस्थाको अवस्था देशको वर्तमान राजनीतिक अवस्थाभन्दा केही पनि फरक हुँदै हुँदैन अनि अन्ततोगत्वा संस्था धरासायी हुन्छ भन्ने मेरो बुझाई हो। यस्तो कार्य बन्द गर्न दाजुले फेरि एक पटक कदम चाल्नुपर्ने अवस्था आयो अनि दाजुले चाल्ने कदमप्रति हामी जस्ता हजारौं पूजारीको साथ सहयोग रहनेछ भनेर पनि दाजुलाई निन्द्राबाट उठाउन खोजेका हौं।
अन्त्यमा, दाजुले यदि यो पत्र पढिहाल्नुभयो भने हजुरको महत्वपूर्ण समय मैले लिएँ भनेर दुःख नमान्नुहोला। के गर्नु दाजु तपाईँले थालेको अथवा तपाइले रोपेको बिरुवालाई मलजल हालि हुर्काउनलाई यो भाइले सधै प्रयत्न एवं सहयोग गर्नेछ। तर यस्तो शक्तिशाली दाजुलाई यो नाथे भाइको सहयोगले के नै फरक पर्ला र?
जसरी रोम जलिरहँदा त्यहाँका बादसाह NERO ले बाँसुरी बजाएर रोम जलिरहेको टुलुटुलु हेरिरहेका थिए। त्यसरीनै एनआरएन जलिरहँदा तपाईँले पनि त्यसै गरी टुलुटुलु हेरेर बस्नु हुन्नुहोला भन्ने मैले पूर्ण विश्वास लिएको छु। बाँकि भलाकुसारी भेटमा गर्दै गरैला केही गल्ति भए माफ पाउँ भनि दोषि ठहरिएमा सजाय पाऊ अहिलेलाई विश्राम दाजु। जय नेपाल, जय एन आर एन।
उहीँ दुखी तर हजुरको प्यारो भाइ
दिनेश राज जोशी
हाल: सिड्नी ,अष्ट्रेलिया