आमा र सानीआमासँग पोखरा घुम्ने क्रममा गत पुस १२ गते सनडाउन रेष्टुरेन्टमा खाना खाने निधो भयो।
बडो उत्साहका साथ पोखराकै चर्चित उक्त रेष्टुरेन्ट पुग्यौं। बेलुका ७ बजिसकेको थियो। त्यहाँ ‘पार्किङ’ लेखिएको स्थानमा आफ्नो गाडी पार्क गर्यौं।
गाडीबाट उत्रिएर रेष्टुरेन्टतिर जाने क्रममा पार्किङकै ठिग अगाडिको खुला ढलमा म लड्न पुगेँ। निकै नमज्जाले नालामा परेको म जसो तसो निस्किएँ। तर उभिन सक्ने अवस्थामा थिइनँ। त्यहाँ उपस्थित प्रत्यक्षदर्शीका अनुसार त्यहाँ लामो समयदेखि ढल त्यतिकै खुला राखिएको रहेछ।
आमा र सानीआमाले मलाई तत्कालै माइक्रो सिटी अस्पताल पुर्याउनुभयो। त्यसपछि एक्स-रे गर्दा खुट्टा फ्याक्चर भएको र तत्कालै अपरेसन गर्नुपर्ने त्यहाँका डाक्टरले सुझाए।
खुट्टामा ठूलो चोट लागेकोले मैले काठमाडौं पुगेरै अपरेसन गर्ने निधो गरेँ। त्यहाँका डाक्टरले सामान्य प्लास्टर गरेर चाडै अपरेसन गर्न सुझाए।
अस्पतालमा कार्यरत एक डाक्टर पनि यसअघि सोही नालामा परेर घाइते भइसकेका रहेछन्।
हामी भोलिपल्टै काठमाडौं फर्किएर डाक्टर चक्रराज पाण्डेलाई देखायौं। उहाँले पनि अपरेसन गर्नैपर्ने सुझाव दिनुभयो। सोही अनुसार नर्भिक अस्पातल गएर अपरेसन गर्यौं। एक रात त्यहीँ बस्नुपर्यो।
हामीले भोगेको जस्तो अरूले भोग्नु नपरोस् भनेर भोलिपल्ट बिहानै काठमाडौं जानुअघि हामीले सन डाउन रेष्टुरेन्टमा घटनाबारे गुनासो गर्यौं। रेष्टुरेन्टका मेनेजर गणेश पौड्यालले हिजोको घटनामा माफी माग्दै ठेकेदारको गल्ती औल्याए।
तर सुधार्ने र न्यायका बारेमा केही कुरा गरेनन्। घटनाको जिम्मेवारी लिन उनलाई आग्रह गर्दा उल्टै उनले नगरपालिकाको गल्ती देखाइदिए। त्यसपछि हामीले पोखरा महानगरपालिका-१८ का वडाध्यक्ष रणबहादुर थापालाई सम्पर्क गरेर घटनाबारे जानकारी गरायौं।
त्यसपछि उहाँ आएर घटनास्थलको अवलोकन पछि ईन्जिनियरको गल्ती भन्दै सनडाउन रेष्टुरेन्टले उपचार खर्च व्यवहोर्नपर्ने बताइदिनु भयो।
वडाध्यक्षको सुझावअनुसार हामीले रेष्टुरेन्ट सञ्चालक निरजजीलाई सम्पर्क गर्यौं। तर दुर्घटनाबारे जानकारी पाइसकेका उनले ‘यो हाम्रो लागि ठूलो कुरा होइन, सामान्य हो’ भन्दै पन्छिए।
अब यसको जिम्मेवारी कसले लिने त? यस्तो गैर जिम्मेवारी र लापरवाहीले कुनै पनि व्यक्तिको ज्यान जानसक्छ। तर यस्तो गम्भीर विषयमा सरोकारवाला निकाय नै बेखबर भएपछि न्याय कसले दिने?
यस्तो लापरवाहीको शिकार कुनै व्यक्ति पनि नपरोस् भन्ने मेरो उद्देश्य हो। यस घटनाले नेपालमा हुने लापरबाहीलाई उदाङ्गो पारेको छ।
विकसित देशमा यस्ता घटनालाई गम्भीर रूपमा लिएर ठूलो सजाय हुने व्यवस्था रहे पनि नेपालमा वेवास्था गर्ने परम्पराले हामीजस्ता पीडितले कहाँ गुनासो गरेरु न्याय कसरी लिने?
अब यस्तो चरम लापरवाहीको शिकारमा परेको मैले न्यायका लागि कहाँ जाने? म त शिकार भए-भए अब अरू पनि नहोला भन्ने कुनै निश्चित छैन।
यस्ता घटनाको विरोधमा म जस्ता पीडित व्यक्तिद्वारा लापरवाही विरूद्ध समयमै आवाज नउठाउने हो भने व्यापारिक केन्द्रद्वारा हुने यस्ता चरम लापरवाहीको शिकार भविष्यमा अन्य नागरिक पनि हुनेछन्।
मेरो विचारमा घटनाको सम्पूर्ण जिम्मेवारी सनडाउन रेष्टुरेन्टले नै लिनुपर्ने हो। त्यसैले रेष्टुरेन्टले नै मलाई उचित न्याय दिनु कर्तव्य हुनेछ।