कुरा लगभग २०६४ साल तिरको हो जतिबेला देशमा पहिलो संविधानसभाको चुनाब नजिकिँदै थियो। त्यतिबेला तपाईं त्यही क्षेत्रबाट चुनाबको लागि उम्मेदवारी मनोनित हुनुभएको थियो जुन क्षेत्रबाट मतदान गर्ने अधिकार मलाई पनि थियो। गाउँका बौद्धिक र आदर्श व्यक्ति मानिएकाहरूको रोजाइको नेता हुनुहुन्थ्यो तपाईं। बाँकी फरक स्वभाव र फरक विचार भएका व्यक्तिहरू विपक्षी दलका नेताहरूको पक्षमा थिए।
हुलहुज्जत गर्न नरुचाउने र प्रचारप्रसारमा हिँड्न खासै रुचि नभएकोले सामान्य किसिमले मत खसालेर फर्कँदै थियौँ हामी केही। फर्कने क्रममा बाटोमा केही युवाहरूले विपक्षी दलको नेतालाई भोट खसालेको र असहयोग गरेको निहुँमा घेरेर एकजना आमा र उनका छोरालाई भनाभनपछि टाउकोमा लाठी बर्साएर शरीर रक्ताम्य बनाए। पछि हठात्, प्रहरीको सहयोगमा उपक्षेत्रीय अस्पतालमा भर्ना गरी ती ५५ वर्षीय आमाको टाउकोमा ७ वटा टाँका लाउनुपरेको परिदृश्य मसँग थियो।
त्यसको केही वर्षपछि २०७० सालमा फेरि दोश्रो पटक संविधानसभाको चुनाब भयो। नतिजा आफ्नो अनुरुप भएपछि तपाईं विजयी बन्नुभयो र मन्त्री समेत बन्ने सौभाग्य पाउनु भयो। पछि फेरि आफ्नो कार्याकाल नबित्दै केही महिनापश्चात् आफ्नै पार्टीका अध्यक्षले अयोग्यता र भ्रष्टाचारको बिल्ला लगाइदिएर तपाईंको राजनीति उपलब्धि मन्त्रीको पदलाई धरहरा ढले झैँ ढलाइदिए।
मन्त्रीको कुर्सी खोसियो। पदबाट राजिनामा दिन बाध्य हुनुभयो। आफूले जति नै सफाइ दिए पनि पार्टीको कारबाहीप्रति सफाइ दिने स्थानीय मिडिया आफू मातहतका र तपाईंका आसेपासे बाहेक कोही थिएनन्। सोझा र अनविज्ञ व्यक्तिहरूले 'अँ' र 'हो र?' भनेता पनि बुझ्नेले त बुझेकै थिए चुरो कुरो।
तपाईंको विद्यालय उमेरदेखि उर्बराउँदो राजनीति यात्रा नेतृत्वदायी भूमिका, ठूलाबडा पार्टीपंक्तिका नेता आफ्नो अनुकूलतामा साथ र सहयोग लिन सक्ने सामर्थ्य बनाउनु अनि अगाडि-पछाडि कार्यकर्ता र आसेपासेलाई कमान्डिङ गराउन सक्नु पनि महान् उपलब्धि नै थियो तपाईंका निमित्त। तर एउटै कौतुहलता भनुँ या प्रश्न तपाईंप्रति थियो।
तपाईंको राजनीतिक जीवनले यति धेरै आरोहावरोह पार गरिरहँदा र कैयौँ पटक कामको सिलसिलामा त्यही बाटो भएर तपाईंको सवारी गुडिरहँदा ती आमालाई न त एकचोटि भेट्नु नै भयो न त उहाँको बारेमा सोध्नु पर्छ भन्ने हेक्का नै राख्नु भयो।
अपवाद बाहेक तपाईंजस्ता नेतामा बडो यो अजीवको गुण हुँदोरहेछ। तर दुर्भाग्य! आज ती आमा यो संसारमा हुनुहुन्न। अब तपाईंले चाहेर पनि भेट्न सक्नु हुन्न उहाँलाई, र जरुरी पनि भएन अब।
मेरो आशय यति होकि तपाईंजस्तो व्यक्तिलाई कयौँ सामान्य मानिसहरूले आशा र विश्वासको धरोहर मानिरहँदा, चुनाव नजिकिँदा मात्रै सहानुभूति, आश्वासन, र निकट सम्बन्ध हुँदो रहेछ। अघिपछि खै कुन चाहिँ तानाबाना लिएर डुल्नु हुन्छ कुन्नी, अनपेक्षित परिवर्तन हुनैपर्ने। आफ्ना नातागोता बाहेक सबैलाई अपरिचित ठान्नैपर्ने।
आफ्नै आँखा अगाडि देखिएको त्यो परिदृश्य आज उहाँको मृत्युको लगभग डेढ वर्षपश्चात् अनि फेरि स्थानीय तहको चुनाब नजिकिँदै गर्दा अचानक सम्झन पुगेँ। अनि लेख्न मन लाग्यो। वितृष्णा जाग्यो नेता भन्ने शब्द सुन्दा पनि। गर्व पनि लाग्यो आफैदेखि यस अर्थमा कि, धन्न म पनि नेता भइनँ।