विदेश जानु, ज्ञान प्राप्त गर्नु, सीप सिक्नु,यी सबै प्रशंसनीय र सम्माननीय कुरा हुन्।
तर साँचो राष्ट्रप्रेम त तब देखिन्छ, जब कोही विदेशमा कमाएको ज्ञान र अनुभव लिएर फर्कन्छ  र त्यो सीप आफ्नै समाज, आफ्नै माटोमा लगानी गर्छ।    
तर आजभोलि सामाजिक सञ्जालमा एउटा गम्भीर विरोधाभास देखिन्छ! विदेशी पासपोर्ट बोकेका केही 'पूर्वनेपालीहरू',  जो अब कानुनी रूपमा नेपालका नागरिक नै रहेनन्,  उनीहरू फेसबुक, युट्युब, ट्विटरमा देशप्रेमको चर्को भाषण गरिरहेका छन्।  
कहिलेकाहीँ त लाग्छ, देशप्रेम सायद पासपोर्ट फेरेपछि मात्र फुल्ने फूल हो कि!   
कतिपयले त घरजग्गा बेचेर वा धितो राखेर ‘उच्च शिक्षाको नाममा’ विदेश छिरेका थिए,  तर वास्तविक लक्ष्य शिक्षा होइन, विदेशी नागरिकता थियो।  
नागरिकता फेरिएपछि, अचानक सामाजिक सञ्जालका भित्ताभरि उनीहरूको ‘देशप्रेम’ ओइरिन थाल्छ। फेसबुकमा भावुक स्टाटसहरू, युट्युबमा राष्ट्रवादी प्रवचन र ट्विटरमा तिखा व्यंग्यसहित सरकारको आलोचना एकैसाथ छचल्किन थाल्छ।    
तर प्रश्न उठ्छ!
के त्यो देशप्रेम हो? कि केवल अभिनय? देशको पीडामा बोल्नु गलत होइन, सत्ताको आलोचना गर्नु पनि गलत होइन। तर जब त्यो आलोचना कुनै जिम्मेवारी बिना गरिन्छ,  न कर तिर्ने, न मतदान गर्ने, न प्रत्यक्ष सहभागी हुने,  त्यो त केवल 'शब्दको तामझाम' मात्र हुन्छ।    
अझ गम्भीर त के छ भने,  कतिपयले स्वेच्छाले पुर्ख्यौली जमिन बेचेर देश छाडे। फर्केर योगदान दिने सट्टा,  अब उनीहरू नेपालको दुर्गति र सम्भावनाबारे उपदेश दिँदै छन्। गौरव होइन, ग्लानि लाग्छ।    
साँचो राष्ट्रप्रेम भनेको मौन भएर पनि योगदान गर्नु हो।  
हेर्नुस्, खाडी मुलुकहरूमा पसिना बगाइरहेका लाखौं नेपालीहरूलाई,  उनीहरूको राष्ट्रप्रेम चिच्याइरहेको छैन,  तर उनीहरूले आफ्ना श्रम, सपना, र दुःखमार्फत् देशलाई बाँधिराखेका छन्।    
नेपालमै रहेर न्यून तलबमा सेवा गरिरहेका शिक्षक,  सरकारी अस्पतालका इमानदार डाक्टर,  भ्रष्ट प्रणालीसँग जुधिरहेका कर्मचारीहरू,  उनीहरूले देश गाली गरेर होइन, देश रोजेर योगदान गरिरहेका छन्।    
त्यही बेला,  विदेशमा स्थायी रूपमा बसोबास गरिरहेका केही नेपालीहरू  त्रिभुवन विमानस्थलको भेन्टिलेसनदेखि सडकको खाल्डोसम्म आलोचना गर्छन्।  
फेसबुकमा लेख्छन् 'वेक अप नेपाल' तर आफू कहिल्यै नफर्किने, केही नगर्ने।    
हो, नेपाल बिग्रिएको छ।  तर त्यो तपाईंको पनि हो, मेरो पनि हो—हाम्रो साझा घर हो।  यदि यो घर लथालिङ्ग छ भने,  हामी सबैको मौनता, पलायन, र पन्छिने प्रवृत्ति जिम्मेवार छ।    
विदेश बसेको भन्नु गुनाह होइन। तर जब विदेशी नागरिकता लिएपछि  नेपालमाथि आलोचना मात्रै गरिन्छ र  जिम्मेवारी वा योगदान शून्य हुन्छ—  त्यो आत्मकेन्द्रित अभिनय मात्र हो।    
देशप्रेम फेसबुक स्टाटस होइन,  देशप्रेम टिकटकको ट्रेन्ड होइन।  देशप्रेम भनेको त्याग हो, पसिना हो, जिम्मेवारी हो।    
यदि साँच्चै देशप्रेम छ भने—  केही सिर्जना गर्नुस्, युवालाई अवसर दिनुस्,  स्थानीय समस्यामा समाधान ल्याउने प्रयास गर्नुस्।  नत्र कम्तीमा मौन श्रद्धा प्रकट गर्नुस्, गुनासो होइन।    
अन्त्यमा, देशप्रेम शब्द होइन, कर्मले देखाउनुपर्छ।  साँचो राष्ट्र सेवा  त्यो मौन आत्मसमीक्षाबाट सुरू हुन्छ,  जहाँ हामी आफैलाई सोध्न सकौं—    'मैले देशका लागि के गरेँ?'