मुग्लिन भन्नेबित्तिकै दिमागमा खानाको प्लेट घुम्छ। अलि पर हेर्नेले भर्खरै त्रिशूली बोकेर आएको बूढीगण्डकी मर्स्याङ्दीसँग मिसिँदै गरेको देख्छ। यो संगम अब नारायणी बनेर गड्गडाउँदै गंगातिर लम्कन्छ।
गाउँ–गाउँ रसाएर बग्दै आएका यी नदीको सुसाइभन्दा पर्तिर पनि आवाज छन्। त्यो कतिले सुनेका होलान्?
कमैले।
दुईदिनको एकादशी मेलामा रैथानेबाहेक कहाँ अन्यत्रका मान्छे देखिएका छन् र?
मुख्य पुजारी प्रेमकुमार गुरुङका अनुसार गोरखकाली, मनकामना लगायत आठ दिदीबहिनीमध्येकै कान्छी यी नारायणी माईको मन्दिरमा हरेक वर्ष ठूलो एकादशीको अघिल्लो रातदेखि मेला लाग्दै आएको छ। यो दिन आठवटै दिदीबहिनी नारायणी नदी शिरमा भेला हुने मानिन्छ।
परापूर्वकालदेखि नुन बोक्न हिँड्ने गण्डक भेगका बासिन्दाको नाका हो मुग्लिन। पछिपछि मुग्लान झर्नेको यतैबाट लर्को लाग्यो। यात्रीहरू उतिबेलैदेखि यो मन्दिर भएर गुज्रँदै आएका छन्। पछिल्लो समय मुग्लिनलाई पृथ्वी राजमार्गले चम्कायो।
यसमा पनि फरक तर्क रहेछ। यो बस्ती जुन राजमार्गले गुलजार भएको भन्ठान्छौं, कस्तो उल्टो! त्यही राजमार्ग आएपछि यो ठाउँको मिठास हराउन थालेको अनुभव सुनाउँछन् स्थानीय बूढापाका।
के हो त, यहाँको मिठास?
पख्नुस्, म यतिबेला मेला भर्न आएकी एक अधवैंशे महिला एकपछि अर्को भाका हाल्दै छमछमी नाचिरहेको देख्दैछु।
‘हे...मया पुरानियो, नभने है हजुर, नभने है हजुर’एउटा भाकाको चक्र पूरा भएपछि पञ्चेबाजा बिस्तारै सुस्ताउँछ। नाच्नेका पैताला रोकिँदै जान्छन्। यस्तो बेला फेरि अर्को भाका हाल्ने मान्छे जरुरी पर्छ। नभए, झ्याउरे लय थामिन्छ।
यी नौगेडी र रातो टीकाले सुहाएकी महिला भने अचम्मकी छन्। उनले आफू संलग्न टोलीको झ्याउरेलाई एक छिन पनि थामिन दिएकी छैनन्। एउटा सकिन नपाउँदै अर्को एकोहोरी गाँसिहाल्छिन्।
[caption id="attachment_101943" align="alignnone" width="826"]
सुकमाया गुरुङ र उनका श्रीमान।[/caption]
अद्भूत ऊर्जा!
‘हिजो राति मेला सुरु भएदेखि यसैगरी एकोहोरो गाउने र नाच्ने गरिरहेकी छन्,’ छेउमा उभिएका एक तन्नेरीले भने, ‘न सुत्नु छ न खानु, दिदीले कस्तो सकेकी!’
परैबाट केही तस्बिर खिचेपछि म बिस्तारै उनको नजिक पुगेँ।
‘दिदी एकछिन कुरा गर्न मिल्छ?’
उनी लाजले रातो भइन्।
‘ख्वै, मलाइ त आउँदैन,’ पल्याकपुलुक छेउछाउका मान्छे हेर्दै भनिन्, ‘मैले के बोलौंला र?’
‘जानेकै कुरा सुनाइदिने मात्र हो,’ मैले आश्वस्त पारेँ।
उनी बोल्न तयार भइन्। हामी मेलाका अस्थायी टहरा छिचोल्दै किनार पुग्यौं। पहिले चर्को पञ्चेबाजा र गीत, त्यसपछि हल्लाको तह र, दुवैको मिश्रण छिचोल्दै हामी आइपुगेको ठाउँमा उताको मधुर कोलाहल मात्र थियो।
‘सुकमाया गुरुङ,’ उनले नामभन्दा अगाडिको परिचय पनि थपिन्, ‘दुई घन्टा परको ग्याजा गाउँबाट आएको।’
हिजो राति दस बजे गाउँबाट मेला आइपुग्दा उनी एक्ली थिइनन्। आमा समूहका झन्डै ४५ जनाको टोली थियो। फूलको डोली गाजाबाजासहित अघि लगाएर उनीहरू आएका रहेछन्।
‘वरपरका गाउँबाट डोली ल्याउने यो पहिलेदेखिकै चलन हो,’ सुकमायाले भनिन्, ‘देवीलाई फूलको डोली चढाएपछि मेला नसकिएसम्म यसैगरी नाचगान गरिरहन्छौं।’
अब केही बेरमै मेला सकिन्छ। डोलीको फूल तल घाटमा लगेर बगाएपछि बल्ल उनीहरू गाउँ फर्कन्छन्।
‘डोली फेरि रित्तै लैजान नमिल्ने भएकाले कुनै कन्यालाई चढाएर लैजान्छौं,’ आफूसँगै दुइटी छोरी पनि ल्याएकी उनले थपिन्, ‘अलिबेरमा कन्याको टुंगो पनि लाग्छ।’
सुकमायाले कहिले र कोबाट गीत गाउन सिकिन्, उनलाई थाहा छैन। ‘गाउँघरमा आफन्त र गाउँलेको देखासिकी गर्दै धेरै कुरा आफसे आफ जानिन्छ,’ थपिन्, ‘केटाकेटीदेखि नै नाच्दै–गाउँदै आएकी हुँ।’
गीत गाएरै प्रतिस्पर्धा गर्न उनी तनहुँको सत्रसय गाउँसम्म पुगेकी थिइन्। तेश्रो पुरस्कार हात लागेको थियो। माथि मनकामनादेखि वरपरका तीर्थ–मेला नछुटाई पुग्छिन्। गाउँलेले बिहे बटुलोमा उनलाई निम्तो गर्न बिर्सँदैनन्।
‘ए अँ...एकपटक बिहेमा गीतै गाउन चितवन पनि लगेको थियो,’ उनले सम्झिइन्, ‘त्यहाँ १५ सय रुपैयाँ पुरस्कार पनि पाएकी थिएँ।’
त्यो पैसाले के गरिन्? सायद सोध्न हुन्थेन। तर, सोधि त हालियो...
‘घरखर्ची, बालबच्चालाई खर्च भयो,’ उनी फिस्स हाँसिन्, ‘त्यही त हो...।’
सुकमायाका पाँच सन्तानमध्ये एक छोरा लामा पढ्छन्। ती छोरा र दुई छोरीको बिहे भइसकेको छ। व्यवहारले थिच्दै लाँदा धेरै कुरा फेरिए पनि लोकभाका हाल्दै हिँड्ने लत कसैगरी कम भएन।
‘सानैदेखि टेस बसेको कुरो,’ उनले थपिन्, ‘अहिले पनि गाइरहन मनलाग्छ।’
उनीजस्तै रहर भएका गाउँमा अरू पनि छन् कि?
‘कोही पनि छैनन्,’ उनले भनिन्, ‘हिजोआजका केटाकेटी त यस्तोमा लाग्दै लाग्दैनन्।’
चितवनको डाखानीबाट बिहे गरेर ल्याएको उनकै बुहारीले एकदिन आफू माइतीमा हुँदा गाउने गरेको सुनाएकी रहिछन्।
‘त्यो थाहा पाएदेखि मैले गाउन कति कर गरेँ,’ उनले भनिन्, ‘मानिन।’
यसरी गीत गाउँदै हिँड्दा धेरैले ‘आँखा लगाउँछन्’ भनेर बुहारी डराएकी रहिछन्।
‘आँखा लाउने कुरै होइन बाबै,’ उनी बुहारीलाई भन्दिरहिछन्, ‘चोखो हाँसी गर्ने हो।’
बुहारी फकाउन भनिएको कुरा सुनाउँदै गर्दा उनले अर्को आश्चर्यको पोको खोलिन्।
‘मेरो र श्रीमानको बिहे पनि गीतै गाएर भएको थियो,’ भनिन्, ‘अहिले पनि गीतैले हामीलाई सबभन्दा बलियोसँग जोडेर राखेको छ।’
अब मेरो जिज्ञासा यतातिर मोडियो।
‘पेरेम (प्रेम) गुरुङ,’ उनले गायक श्रीमानबारे बताइन्, ‘गाउँदा गाउँदै मनपरेको। अहिलेजस्तो मोबाइल थिएन। अलिअलि लेख्न जानेको थियो। त्यसैको भरमा चिठ्ठी खेल्दाखेल्दै बिहे भयो।’
क्योरपानी (एनसेल गाउँ) का प्रेम र ग्याजाकी सुकमायाको गाउँ ओल्टोकोल्टो एक घन्टाको वारिपारि छ। गाउनमा कतिसम्म पारंगत भने बिहे बटुलो जहाँ भेट भए पनि दुई जना आमनेसामने हुनेबित्तिकै बाँकी सब पाखा लाग्थे।
त्यो क्षण उनीहरूले गाउने गीतका शब्द के थियो?
सुकमायाले सम्झने कोशिस गरिन्। र, थुप्रैमध्ये एउटा फेला पारिन्। गीतमा श्रीमानले गाउने हरफले भन्थ्यो–
पारी पिपल डाँडैमा बसी हेरिरहुँला मयाँको गाउँबेसीजवाफमा उनी गाउँथिन्–
वारिपारि भए नि घर मेरो पनि त्यतै छ नजरहरफ सुनाउँदा सुनाउँदै सुकुमाया लाजले रातो भइन्। कपाल बाँधेको कपडा तानेर मुख छोप्न थालिन्।
‘दुई-चार वर्ष त्यसरी नै हाँसखेल गर्यौं,’ सुकमायाले भनिन्, ‘त्यसपछि बिहे भइहाल्यो।’
अन्तिममा ग्याजाको एउटा बिहेमा भएको सांगीतिक जम्काभेटले उनीहरूको जोडी पनि कसिदिएको रहेछ।
यो जोडीको अर्को रमाइलो प्रसंग पनि रहेछ।
प्रेमका बुवा सुरुमा सुकुमायाजस्तै ग्याजाकै बासिन्दा थिए। केउरपानीकी युवती मनपरेपछि घरबार छाडेर उतै जीवन बिताउन गएछन्। पालोको पैँचो भनेजस्तै पिताले झैँ प्रेम पनि सुकुमायासँग बिहे गरेपछि फेरि ससुराली वा पैतृक थलो ग्याजा फर्केछन्।
‘मेरो ससुरा अहिले पनि उता ससुरालीमै बस्नुहुन्छ,’ सुकुमायाले भनिन्, ‘श्रीमान चाहिँ यता।’
मलाई सुकमायाका ‘पेरेम’ भेट्न मन लाग्यो।
‘भर्खर मेलैमा आइपुग्नुभएको छ। यतै हुनुहोला।’
खोज्यौं। भेटिए।
सुरुमा त श्रीमतीले कताको अनौठो मान्छे लिएर आएको देखेर दंग परे।
‘माया प्रेमका शब्द त्यस्तै त्यस्तै गर्दै जाँदा बिहे भइ त गयो,’ उनी तुरुन्तै खुलेर बोल्न थालिहाले, ‘कलिलैमा बिहे गरेको म अहिले फोर्टी एट भयो उनी फोर्टी सिक्स।’
आफूहरूले गाउन थालेको बेला र अहिले लोकभाकामा धेरै अन्तर आएको उनले बताए।
‘चुड्का र कौडामा नयाँ भाका चलेका छन्,’ उनले भने, ‘म नयाँ पुराना दुवैखाले भाका हालेर गाउन सक्छु।’
प्रेमले पनि सानैदेखि वरिपरिका गाउँ डुल्दै बिहे–बर्तमनमा गीत गाउन थालेका रहेछन्। देउसी–भैलोमा त रातभर घरबाट गायब। धान गोड्न, मकै खन्न, मस्याङ गोड्न जाँदादेखि कोदो गोड्न गएका बेला पनि उनी गाएरै बस्थे।
‘साथीभाइका बिहेमा त दुई दिनसम्म लगातार गाउथेँ,’ भने, ‘त्यो बेलाको जमाना अनौठै थियो। निन्द्रा पनि नलाग्ने, भोक पनि नलाग्ने।’
अरुथोकको लतजस्तै गाउनुको पनि लत हुँदोरहेछ। जहिले पनि ध्यानमा गीतै आइरहने।
‘कतिसम्म भने,’ उनले थपे, ‘कसैले केही भन्यो भने यसको कुरालाई गीतले कसरी जवाफ दिने होला भनेर ध्यान उतै लागिरहेको हुन्छ।’
यसरी गीतै गाएर सवालजवाफ गर्नसक्ने पारंगतहरूले थुप्रैका मन तानेका होलान् नि?
‘त्यो प्रेम गाउन्जेललाई मात्रै हुन्छ,’ उनले भने, ‘त्यो बुझेकैले मेरै अगाडि श्रीमतीले गीत गाउँदा गाउँदै अर्कालाई श्रीमान भनिरहँदा पनि केही फरक पर्दैन।’
प्रेमका अनुसार गीतको लय र पाठ बुझेको मान्छेले गाउनेको आशय स्पष्टसँग बुझिरहेको हुन्छ।
‘हाम्रा नाति–नातिना भइसके,’ उनले थपे, ‘तैपनि भर्खर भेटेको ठिटा–ठिटीजस्तो गीतमा सवालजवाफ गर्छौं। सबै रमाउँछन्।’
प्रेम–सुकमायाजस्ता गायक दम्पती आजभोलि पनि गाउँतिर भेटिन्छन्?
‘हिजोआज त यस्तो देखिनै बन्द भइसक्यो,’ उनी गाला कन्याउन थाले, ‘अर्थोक त होइन, यो मोबाइलले चाहिँ कसो–कसो गरिरहेको छ।’
यसरी गीतसंगीतले सजिएको प्रेम र सुकमायाको परिवार मुख्यतः कृषिबाटै चलेको छ। खेतबाटै वर्षदिन खान भने पुग्दैन। भरथेग गर्न प्रेमले निमेख पनि गर्दै आएका छन्।
उनीहरूको गाउँमा अहिले पनि चुड्का र कौडा गाइन्छ। मारुनी चाहिँ हिजोआज धेरै कम भइसक्यो। परम्परादेखिको घाटु अहिले पनि प्रचलनमा छ।
आफूले सबैखाले लोकगीत गाउन र नाच्न जानेको सुकमायाले बताइन्।
‘हामीलाई घाटु नचाउने ८० नाघेकी बूढी गुरुआमा पनि अहिले सँगै आउनुभएको छ,’ सुकमायाले मलाई ती गुरुआमासँग भेटाउने प्रयास गरिन्, ‘एकछिन् पख्नुस् है!’
बाक्लो चस्मा लगाएकी गुरुआमा अर्थात् सुवर्णा गुरुङलाई गीतसंगीतको कुरा गर्ने मान्छे भेटेपछि रमाइलो लाग्दो रहेछ। त्यसैले अनुहारै उज्यालो थियो।
‘जिजुबाजेहरूबाट यो ठाउँमा जानेको कला हामीले अहिलेसम्म छाडेका छैनौं,’ सुवर्णाले भनिन्, ‘घाटुमा गाउन चाहिँ मैले आमा र बज्यैहरूबाट सिकेँ।’
जेठाजुकी छोरी सुकमायामा आफ्नो गुण सरेको देख्दा सुवर्णालाई सन्तोष लाग्छ।
‘यी छोरी र ज्वाइँले गावैँ रमाइलो पारेका छन्,’ उनले भनिन्, ‘गाउँलेलाई चाडपर्वदेखि बिहेबटुलोको रमाइलो भनेकै यिनै दुई हुन्।’
सुवर्णाका अनुसार गाउँमा अहिले पनि बुद्ध पूर्णिमाका दिन उनी घाटु चलाउँछिन्।
‘हाम्रो सती जाने घाटु हो,’ उनले भनिन्, ‘त्यो तीन–चार दिनसम्म निरन्तर चलिरहन्छ।’
सुकमायापछि आफ्नो गाउँको घाटु परम्परा कसरी अघि बढ्छ भन्नेमा सुवर्णा चिन्तित छिन्।
‘हिजोआजका केटाकेटी अन्तै कुरामा रत्तिन्छन्,’ यति भन्दाभन्दै उनले आशा पनि प्रकट गरिन्, ‘परम्परा भनेको पहिचान हो। जस्तै परिस्थितिमा पनि कसै न कसैले त बढाइहाल्लान्।’
‘अहिले पनि गाउँमा घाटु चलाएका बेला हरेक धुरीको एकुन्टा सबै बसेर गाउँछन्,’ उनले भनिन्।
‘कतै कतै घाटुमा आँखै हेरीहेरी पनि नाच्छन् रे,’ आफूले सिकाउँदै आएको फरक परम्पराबारे सुनाइन्, ‘हामीकहाँ आँखा चिम्मै हुन्छ।’ भाका पनि अन्तकोभन्दा आफूले अलि ढिलो गाउन लगाउने उनले बताइन्।
घाटु सकिएपछि आफूहरूकहाँ कन्दसिरी भनिने बेग्लै नाचबाट निरन्तरता दिइने उनले जानकारी दिइन्।
‘अन्त के कसो छ थाहा छैन,’ उनले भनिन्, ‘यहाँ चाहिँ बाजे बराजुले जसरी सिकाएका थिए, त्यसैलाई धान्दै आएका छौं।’
मुग्लिन वरपरका यी लोक सुसेली यदाकदा संकलकहरूमार्फत् देशैभर गुञ्जिने पनि गरेका छन्। मेला लागेको पाखोकै अर्कातिर पर्ने करनटार गाउँबाटै त संकलन गरिएको हो, नेपथ्य ब्यान्डको पछिल्लो चर्चित गीत ‘जोगले हुन्छ भेट, मायाले हुन्छ सम्झना’। खैँजडी लिएर चुड्काको तालमा छमछमी नचाउने यो गीत झन्डै दस वर्षपहिले करनटारकै ८४ वर्षीय टेकबहादुर गुरुङले नेपथ्यका गायक अमृतलाई सुनाएका थिए।
‘मैले जवानीभर १५ दिन यात्रा गरेर ठोरीदेखि नुन ओसारेको छु,’ वृद्ध टेकबहादुरले पुराना दिन सम्झे, ‘त्यसअघि चाहिँ हाम्रा पुर्खा उत्तर भोटतिर नुन बोक्न जान्थे।’
त्रिशूलीदेखि बुढीगण्डकी हुँदै मर्स्याङ्दीले जसरी अनेक स्वादका पानी बोक्दै ल्याएको छ, त्यसैगरी यो भेगमा मान्छेको ओहोरदोहोरबाटै अनेक धुन भित्रिएको टेकबहादुर सुनाउँछन्।
‘उबेला भोटबाट भारत लाग्दा दिशामात्र होइन, नुनको स्वाद पनि फेरिएको थियो,’ उनी भन्छन्, ‘अहिले यही जीवनमा हाम्रा लोकगीत अर्कैअर्कै भएको पो देखिरहेको छु।’
आफ्ना पालासम्म मुस्किलले बाँचिरहेको नाचगान सकेसम्म नहराइदिए हुन्थ्यो भन्ने उनलाई लाग्छ।
‘अहिले कता–कताका गीत र नाच देख्छु बाबु,’ उनले जिज्ञासा राख्दै सोधे, ‘टिभीले देखाउने र गाउँघरले त्यसकै सिको गर्ने यी नाचगान हाम्रै देशका हुन् कि बाहिरका हुन्, हाम्लाई थाहै भएन।’
टेकबहादुरको चिन्ता त उनको घरको आडैमा लाग्ने परम्परागत यो मेलाले पनि देखाइरहेको थियो।
मेलाको अघिल्लो साँझ आयोजकहरूले ‘अत्यन्त तयारी’ गरेको सम्पूर्ण परिवेश भयावह थियो। जताततै माइकका आवाज ठोक्किएर कसैले केही बुझेका थिएनन्। चाहिने ठाउँ अँध्यारो थियो, नचाहिने ठाउँ उज्याला। आयोजकहरू बारम्बार बिजुली गइदेला कि भनेर चिन्तित थिए।
‘केलाई चाहियो बिजुली?’ यता टेकबहादुर भन्दै थिए, ‘त्यै बिजुलीले सबै बिगारको हो।’
मेलाको मौलिकता जोगाउन सकियो भने अहिले पनि यो भेगका धेरै कुरा बचाउन सकिने टेकबहादुरको भनाइ छ।
‘अहिलेका भुराहरूलाई यस्ता कुरा भोलि खोजी होलान्, जोगाउनुपर्छ भनेर सुनाए पनि मुन्टो बटार्छन्,’ उनले भने, ‘अब के कुरा गर्नु?’
नाचगान मात्र होइन कुनै बेला भुटेको मकै, बोडी, मौसमअनुसारका तरकारी, माथि–माथिबाट आएका टिम्मुरको अचार र बारीमा फलेका फलफूल सजिने मेलामा हिजोआज मम: र चाउमिनको प्रधानता देखिने उनले सुनाए।
‘पन्ध्र-सोह्र खाल त चुड्का हुन्थे,’ टेकबहादुरले भने, ‘त्यस्तो भेगलाई यो राजमार्गले केवल भात खाने ठाम बनाउँदै लग्यो।’
तै संयोगले भोलिपल्ट विद्युतीय उपकरणका हल्लाबाट मेला मुक्त थियो। बिहानको उज्यालोमा अघिल्लो रात छोपिएका सुन्दरता पनि खुल्न पाए। तीनवटा चुड्का र झ्याउरे टोलीका आवाज फैलिए। सुकमाया गुरुङ भेटिइन्। एकादशी मेलाका मौलिकता बल्ल खुले।
र, यो समाचार बन्न सक्यो।