एमाले सांसद तथा नेपाल प्रहरीका पूर्व डिआइजी नवराज सिलवाले आफू फरार नभएको बताएका छन्। मलेसियामा पुगेका सिलवालले सेतोपाटीसँग कुरा गर्दै आफू विरुद्ध प्रहरीले पक्राउ पूर्जी जारी नगरेको दाबी गरे।
'किर्ते मुद्दामा अनुसन्धानका लागि मलाई बोलाएर सोधपुछ गर्न प्रहरीले पत्र काटेको हो,' उनले सेतोपाटीसँग भने' ‘मलाई पक्राउ गर्न पूर्जी काटिएको होइन।'
सिलवाल अहिले मलेसियाको क्वालालम्पुरमा ‘एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीले गरेको इस्ट एसियन इनिसियटिभ्स इन द कम्युनिटी डेभलपमेन्ट विथ स्पेसल फोकस टु वुमन’ विषयक कार्यक्रममा भाग लिन त्यहाँ पुगेका छन्।
म ललितपुर हुँदा केही नगर्ने जब बाहिर हिँडेँ तब मौका छोपेर प्रोपोगाण्डा रच्न नेपाल प्रहरीले नाटक रचेको उनको भनाइ छ।सर्वोच्चमा आफूले किर्ते गरेर कार्य सम्पादन मूल्याकंन नम्बर नबुझाएको उनको दाबी छ।
'मैले संचारमाध्यमबाट साभार गरेर अदालतमा बुझाएको हुँ' उनले भने, 'बदमासी गोप्य कागजात जिम्मेवारी लिनेबाट भएको छ, अनुसन्धान त्यहीबाट हुनुपर्छ।'
चैत ८ गतेको सर्वोच्चको फैसलामा सम्बद्ध निकायले उपलब्ध गराएको सक्कल कार्यसम्पादन मुल्यांकनमा आफू पहिलो, प्रकाश अर्याल दोस्रो, बमबहादुर भण्डारी तेस्रो र जयबहादुर चन्द चौथौ नम्बरमा उल्लेख भएको भन्दै सिलवालले पछिल्लो फैसलामा आफू कसरी दोस्रो भए प्रश्न गरे।
उनले मलेसियाको कार्यक्रम सकेर चाँडै स्वदेश फर्केर अनुसन्धानमा सघाउने समेत बताएका छन्।
यसअघि प्रहरीले सिलवालाई उपस्थित गराउन महानगरीय प्रहरी परिसर ललितपुरलाई पत्र काटेको थियो।
हेर्नुहोस् पत्र