वैज्ञानिकहरूले इजरायलको गुफामा पन्ध्र वर्षअघि एक मानव अवशेष फेला पारेका थिए। प्रयोगशाला परीक्षणपछि जुन नतिजा सार्वजनिक भएको छ, त्यसले हाम्रो पुर्खाको सुरूआती बसाइसराइ इतिहास नै पुनर्लेखन गर्नुपर्नेछ।
वैज्ञानिक टोलीले सन् २००२ मा इजरायलको मिस्लिया गुफाभित्र उत्खनन् गर्ने क्रममा एउटा हड्डीजस्तो अवशेष फेला पारे। त्यो मान्छेको च्यापुको हड्डी हुनसक्ने उनीहरूको अनुमान रह्यो। झट्ट हेर्दा हजारौं वर्ष पुरानो देखिन्थ्यो।
उनीहरूले त्यो अवशेष विभिन्न देशका प्रयोगशालामा परीक्षण निम्ति लगे। थुप्रैचोटि ‘कार्बनडेटिङ’ गरे। यसको अन्तिम परिणाम बिहीबार सार्वजनिक भएको छ, जसअनुसार यो च्यापुको हाड १ लाख ७७ हजारदेखि १ लाख ९४ हजार वर्ष पुरानो भएको उनीहरूले अनुमान गरेका छन्।
यो अनुमान पुष्टि भए, अहिलेसम्म लेखिएको मानव स्थानान्तरण इतिहास पुनर्लेखन गर्नुपर्नेछ। मानव बसाइसराइ इतिहास अफ्रिकाबाट सुरु भएको मानिन्छ। वैज्ञानिकको यो खोजले हाम्रो इतिहासलाई ५० हजार वर्ष पछि धकेल्नेछ।
यसअघि इजरायलमा भेटिएका अवशेषले आधुनिक मानव इतिहास ९० हजारदेखि १ लाख २० हजार वर्षपहिले अफ्रिकाबाट सुरु भएको संकेत गरेका थिए। अहिले भेटिएको च्यापुको हाडले मानवशास्त्रीहरूको यो व्याख्या बदलिने भएको छ।
‘अफ्रिकाबाहिर आधुनिक मानवको सबभन्दा पुरानो अवशेष भेटिएको यो पहिलोपटक हुनसक्छ,’ विस्कनसिन विश्वविद्यालयका प्राग् ऐतिहासिक मानवशास्त्री जोन हक्सले भने। उनी यस अध्ययनमा सहभागी भने छैनन्।
खोजमा मान्छेको च्यापुको माथिल्लो हाड भेटिएको हो। यसमा ८ वटा दाँत छन्। सात वटा सामान्य दाँत छन् भने एउटा ‘कुकुर’ दाँत छ, जो अलिकति भाँचिएको देखिन्छ।
‘मलाई अचम्म लागेको छ। यो नयाँ अनुसन्धानले मानव उत्पत्तिमा नयाँ आयाम थपेको छ,’ जुलिया गलवे विथामले भनिन्। उनी लन्डनस्थित ‘न्याचुरल हिस्ट्री म्युजियम’ मा अनुसन्धान सहायक छिन्।
मानवशास्त्री हक्स र अन्य अनुसन्धानकर्ताले भने यो खोजबारे व्याख्या गर्नुपूर्व होसियारी अपनाउनुपर्ने बताएका छन्।
उक्त हाड अहिलेका मान्छेको शारीरिक विशेषतासँग मिल्दोजुल्दो भए पनि त्योबेलाका ‘आधुनिक मानव’ धेरै फरक हुनसक्ने उनीहरूको भनाइ छ।
‘हामीले आधुनिक मानव भने पनि उनीहरू यति धेरै आधुनिक थिएनन्,’ जिन–ज्याक्स हब्लिन्ले भने। उनी जर्मनीस्थित ‘म्याक्स प्ल्यांक इन्स्टिच्युट फर इभोलुसनरी एन्थ्रोपोलोजी’ को मानव उत्पत्ति विभागका निर्देशक हुन्।
‘यो च्यापु हाड हेरेर आधुनिक मानवकै हो भन्नु प्राचीन मानव आजका मान्छेसँग मिल्दाजुल्दा थिए भन्नु हो,’ उनले भने। चालीस हजार वर्षअघि मान्छेको स्वरूप फरक थियो।
यो भेटिएको अवशेषको डिएनए अहिलेको मान्छेमा छ भन्न सकिँदैन। उनका अनुसार यो च्यापु हामीलाई थाहै नभएका मानव जातिको हुन सक्छ, जो अफ्रिकाबाट छुटेर गयो।
यसको वास्तविक व्याख्या गर्न डिएनए नमूना परीक्षण गर्नुपर्ने उनको भनाइ छ। यो अवशेषबाट डिएनए संकलन गर्न समस्या हुने उनी बताउँछन्।
तेल अभिभ विश्वविद्यालयका प्राग ऐतिहासिक मानवशास्त्री इजरायल हर्सकोभिट्ज नेतृत्वको टोलीले यो अवशेष ‘माउन्ट कार्मेल’ को मिस्लिया गुफामा भेटिएको हो। यो टोलीले लामो समयदेखि चुनढुंगाका भीरमा गुफा बनाएर बसेका प्राचीन मानवबारे अध्ययन गरिरहेको छ। यो क्षेत्रमा भेटिएका केही सामग्री १ लाख २० हजारदेखि २ लाख ५० हजार वर्ष पुरानो भएको अनुमान पुरातत्वविदहरूले गरेका छन्।
यहाँ ओछ्यानजस्ता अन्य प्रमाण पनि भटिएका छन्। यसबाट त्यो बेलाका मान्छे आधारशिविरजस्तो बनाएर बसेको अनुमान छ। उनीहरू मृगजस्ता जनावर शिकार गर्थे र कछुवा, खरायो, अस्ट्रिचका अन्डा खान्थे।
अनुसन्धान टोली प्रमुख डा. हर्सकोभिट्ज र हाइफा विश्वविद्यालयकी पुरातत्वविद मिना विन्सटिन एभ्रोनलाई यो च्यापु आधुनिक मानवकै हो भन्ने लागेको छ। पुष्टि भने गर्नुपर्ने उनीहरू बताउँछन्।
डा. हर्सकोभिट्जले यसअघि पनि केही यस्ता चिज भेटेका थिए। सन् २०१५ मा उनले ५५ हजार वर्ष पुरानो मानव खप्पर फेला पारे।
पुरातत्वविदहरूले यो च्यापु हाड परीक्षण गर्न विश्वका धेरै ठाउँमा नमूना पठाए। ‘यो धेरै आधुनिक देखिन्छ। हामीलाई यसबारे मान्छेलाई बुझाउनै ५ वर्ष लाग्यो। उनीहरूले विश्वासै गर्न सकेनन्,’ डा. विन्सिटिन एभ्रोनले भनिन्।
वैज्ञानिकहरूले यसबारे अध्ययन गर्न सबभन्दा पहिले अस्ट्रिया पठाए। यो अध्ययन भियना विश्वविद्यालयका प्राग् ऐतिहासिक मानवशास्त्री गेरहाड डब्लु वेबरको प्रयोगशालामा भयो।
अनुसन्धानकर्ताले आधुनिक प्रविधिबाट थ्रिडी स्क्यान गरी प्रतिरूप च्यापु बनाए। अहिलेसम्म भेटिएका विभिन्न समयका मानव अवशेषसँग त्यसका विशेषता जाँचे। सबै अनुसन्धानपछि उनीहरू यो आधुनिक मानवकै हो भन्ने निष्कर्षमा पुगेका हुन्।
‘यो धेरै आधुनिक छैन, आधुनिकतर्फ ढल्किँदै गएको पनि छैन, मानवशास्त्री वेबरले भने, ‘यो वास्तवमै आधुनिक मानवको च्यापु हो।’
च्यापु हाडको ‘उमेर’ पत्ता लगाउन पनि उनीहरूले अस्ट्रेलिया, फ्रान्स र इजरायलका तीनखाले प्रविधि प्रयोग गरेका थिए।
मिस्लिया गुफामा भेटिएको यो अवशेषले आधुनिक मानव इतिहास फेर्ने सम्भावना छ। अहिलेसम्म मानव बसाइसराइ अफ्रिकाबाट भएको मानिन्छ। पछिल्लो खोज पुष्टि भए आधुनिक मानिसले विभिन्न बाटा प्रयोग गरेर अफ्रिकाबाट बसाइसराइ गरेका थिए भन्ने देखिन्छ।