क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडलाई हानी नोक्सानी पुर्याएका थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
फाइनान्स डुवाइ फरार भएका विमल खड्कालाई सिआइबीले चितवनबाट पक्राउ गरेको हो।
बैकिङ्ग कसूर मुद्दामा पुनरावेदन अदालत पाटनको मिति २०७१ वैशाख २९ गते को फैसलाले उनलाई पाचँ करोड पचहत्तर लाख जरीवाना र तीन बर्ष कैद फैसला सुनाएको थियो।
उनलाई चितवनबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि चितवन जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय चितवनमा पठाईएको छ ।
मिति २०६५ साल पुस ३ गते खड्काले आफु सञ्चालक भएको सात्विक डेभलपर्सको नाउँमा दर्ता रहेको जिल्ला काठमाण्डौं साङला गाविसवडा नं ९ समेतको जग्गाहरु धितो राखी पाचँ करोड पचहत्तर लाख कर्जा निकासा गरी आफैले उपयोग गरेका थिए।
कर्जा दुरुपयोग गरी क्यापिटल मर्चेन्ट फाईनान्सका निपेक्षकर्ता र लगानीकर्ता समेतलाई हानी नोक्सानी पुर्याएका भन्दै उनीमाथि मुद्दा दायर भएको थियो।
यस बाहेक हालसम्ममा सिआइबीले क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडलाई ठगी गर्ने अरुण कुमार मराठा,नवराज खत्री, तुलसाकुमारी धमला, भाइकृष्ण खड्का र किरण केशर नेपाललाई पक्राउ गरिसकेको छ।