ललितपुरको फुलचोकीबाट हराइरहेका विद्यार्थी जोन तामाङ भेटिएका छन् ।
हाइकिङका लागि गएका थसिखेलका १७ वर्षीय विद्यार्थी तामाङ हराएको ६ दिन पछि जंगलमा भेटिएका हुन् ।
हाइकिङका लागि त्यहाँ पुगेकाहरुले उनलाई भेटेपछि प्रहरीलाई खबर गरेका थिए।
'जोन भेटिएको खबर साँझआइपुगेको छ,' ललितपुरका डिएसपी नरेन्द्र चन्दले भने, 'प्रहरी टोली त्यहाँ पुग्दैछ। '
थसिखेलस्थित अजय शिक्षा सदनको कक्षा ६ मा अध्ययनरत उनलाई विद्यालयले त्यहाँ हाइकिङका लागि लगेको थियो ।
उनी फेला परेको जानकारी आएपछि उनका परिवार पनि फुलचोकी पुगेका छन्।
फुलचोकी डाँडामा गत बिहीबार हाइकिङ गएका कक्षा ५ र ६ का ११ जना विद्यार्थीमध्ये कक्षा ६ मा अध्ययनरत जोन तामाङ हराएका हुन्। फुलचोकी शिखरमा पुगेर ओरालो झर्दा उनी हराएका हुन्। विद्यार्थीसँगै स्कुलका प्राचार्य दुर्गाबहादुर ओली पनि हाइकिङ गएका थिए। रमाइलो गर्दै फर्केका उनीहरूले गोदावरी झरेपछि मात्रै तामाङ छुटेको थाहा पाएका थिए।
प्राचार्य ओलीले प्रहरी तथा अभिभावकलाई जनाएअनुसार फुलचोकीबाट गोदावरी झर्ने क्रममा पाँच जनाले थकाइ लाग्यो भन्दै छोटो बाटोबाट जान अनुरोध गरेका थिए। तर, ओलीले बाटो अप्ठ्यारो छ भन्दै जान मानेनन्। विद्यार्थीले कर गरेपछि ‘बाटो देखेको भए तिमीहरू जाऊ, गोदावरीमा पुगेर पर्ख’ भन्दै उनले छोटो बाटोबाट झर्न अनुमति दिएका थिए। तर, गोदावरीमा दुवै समूहका विद्यार्थी भेट हुँदा तामाङ देखिएनन्।
त्यसपछि सँगैका साथी तथा प्राचार्यले समेत धेरैबेर खोजे पनि नभेटिएपछि दिउँसो ४ बजेतिर गोदावरी प्रहरीलाई खबर गरिएको थियो। हाइकिङ गएका क्षेत्रको बाटो अप्ठ्यारो छ, त्यसमाथि हिउँ पनि परेको छ। उनीहरूले छोटकरी भन्दै आएको बाटोमा ठुल्ठूला भीर पर्छन्। छोटो बाटोबाट पाँच जना आए पनि सबै आ-आफ्नै सुरमा हिँडेकाले को, कहाँ पुग्यो भन्नेसमेत थाहा नपाएको बताएका छन्।
फुलचोकी शिखरमा पुगेर फर्कने क्रममा ललितपुर, थसिखेलस्थित अजय शिक्षा सदनमा कक्षा ६ मा अध्ययनरत जोन तामाङ अघिल्लो बिहीबारदेखि हराएका हुन्।