प्रहरी महानिरीक्षक प्रकाश अर्यालले बलात्कारको मुद्दामा मिलापत्र हुनै नसक्ने बताएका छन्। काठमाडौंको दरबारमार्गमा भएको बलात्कार घटनाको उजुरी नलिई प्रहरीले मिलापत्र गराएको समाचार सार्वजनिक भएको थियो।
आइजीपी अर्यालले विहिबार दरबारमार्गस्थित प्रहरी भवनको उद्घाटन गर्दै यो विषयमा छानविन हुने बताएका हुन्। उनले महिलाका अस्मिताका विषयमा मिलापत्र हुनै नसक्ने बताए।
'यस विषयमा छानबिन हुन्छ, दोषी उन्मुक्ति पाउन सक्दैन्,' उनले भने। बलात्कार प्रकरण प्रहरीकै संलग्नतामा मिलापत्र भएको खबरले प्रहरी संगठनमाथि प्रश्न उठाएको पनि उनले बताए।
दरबारमार्गको एक होटलमा आफूमाथि सामुहिक बलात्कारमा भएको भन्दै प्रहरीमा मौखिक उजुरी दिएकी यूवती अहिले सम्पर्कविहिन भएको प्रहरीले जनाएको छ। युवतीसँग सम्पर्क हुन नसकेपछी अनुसन्धानमा कठिनाइ भएको प्रहरीले बताएको छ।
आइजीपी अर्यालले भने यस घटनामा पारदर्शी ढंगले अनुसन्धान अघि बढाउन मातहतका निकायलाई निर्देशन दिए। काठमाडौं प्रहरी परिसरले यस घटनामा छानबिन गर्न एसपी रामदत्त जोशीको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ। दरबारमार्ग प्रहरी वृतका डिएसपीलाई जिल्लामा तानिएको छ भने प्रहरी निरीक्षक लक्ष्मण ठकुरीलाई नियन्त्रणमा लिइएको छ। उनले उजुरी दर्ता नगरेको भन्दै नियन्त्रणमा लिइएको हो। घटनामा संलग्नहरुसँग ३० लाख लिएर १५ लाख रुपैयाँ युवतीलाई दिइएको र बाँकी १५ लाख रुपैयाँ प्रहरीले लिएर मिलापत्र गराएको हुन सक्ने अनुमान गरिएको छ।
https://www.youtube.com/watch?v=T6rrTLeivjA&t=27s