वर्षायाम शुरु हुने वित्तिकै फेवाताललाई कुरूप बनाउँदै फैलिने जलकुम्भी झार र फोहोरलाई झिक्न फेवातालमा मेसिन प्रयोगमा ल्याएको छ।
सांसद रविन्द्र अधिकारीले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको ५० लाख र पोखरा महानगरपालिकाको ७५ लाख रूपैयाँ गरी १ करोड २५ लाख रुपौयाँमा फेवातालको जलकुम्भी झार निकाल्ने मेसिन प्रयोगमा आएको हो।
मेसिनको बिहीबार सांसद रविन्द्र अधिकारी र पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले मेसिनबाट तालको जलकुम्भी झार झिकेर शुरुवात गरे।
जलकुम्भी झार निकाल्ने क्यानडाबाट एक्वाइटिक प्लान्ट हार्भेस्टिङ मेसिन ल्याइएको हो। ताल संरक्षणका लागि मेसिन उपयुक्त भएको भन्दै प्रमुख जिसीले यसको सञ्चालन महानगरपालिकाले गर्ने बताए। उनले तालमाथि उत्रिएको मात्रै नभइ ६ फिट तलको समेत काटेर निकाल्ने बताए।
मिट ग्रुप प्रालिले क्यानडाबाट ल्याएको यो मेसिनको तौल २ टन छ। ३६ फिट लम्बाई र ८ दशमलव ५ फिट चौडाई भएको मेसिनले एक पटकमा २ टन निकाल्न सक्छ।
तालमा वर्षेनी वर्षायामका जलकुम्भी मौलाउदाँ डुंगा सञ्चालन गर्न समेत कठिनाई हुने गरेको छ। जसले पर्यटन क्षेत्रमा प्रत्यक्ष नकारात्मक असर पुर्याउने गरेको छ। हिउँद याममा जलकुम्भी झार देखिन्न। तर वर्षायाम लागेपछि ताल पुरै ढपक्क ढाकिन्छ।
सांसद अधिकारीले फेवातालको संरक्षण गर्ने अन्य योजनाहरु पनि बनाएर अगाडि बढ्नु पर्ने बताए। उनले फेवातालको संरक्षणका लागि मुहानमा रहेका हर्पन र खहरे खोलाबाट आउने माटो रोक्नका लागि चेकड्याम बनाउनु पर्ने बताए।
फेवातालबाट निकालिएको झार एक ठाउँमा जम्मा गर्ने र यसबाट कम्पोस्ट मल बनाउने योजना महानगरपालिकाको छ। २०७४ वैशाख १९ गते जलकुम्भी लगायत झार व्यवस्थापनका लागि मेसिन खरिद गर्ने निर्णय महानगरले गरेको थियो।
२०१७ सालमा ९ सय ८४ हेक्टर क्षेत्रफलमा फैलिएको फेवाताल २०५५ सालमा आइपुग्दा चार सय ४३ हेक्टरमा सिमित हुन पुगेको तथ्यांक छ। विभिन्न संघसंस्थाको सक्रियतामा तालबाट वर्षेनी सयौं ट्रक जलकुम्भी हटाउने गरिएको छ। तर पनि न्युनिकरण हुन सकेको छैन ।