धादिङको सलाङघाटबाट त्रिशूली नदीमा जीप खस्दा सिँचाइ सचिव रामानन्द यादवको मृत्यु भएको छ। दुई जना अझै बेपत्ता छन्।
कपिलवबस्तुबाट काठमाडौं फर्कने क्रममा उनी चढेको बा १ झ ३१४० नम्बरको जीप सिधा सडकबाटै त्रिशूलीमा नदीमा खसेको हो। सचिव यादवको शव फेला परेको गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाले जानकारी दिए। प्रहरीका अनुसार उनका छोरा सन्तोष र साथीकी छोरी उन्नति गुप्ता अझै बेपत्ता छन्।
जीपका चालक निदाउँदा यो दुर्घटना भएको प्रहरीले जनाएको छ। चालक निराजन अधिकारीको प्रहरीले उद्धार गरेको छ।एउनलाई उपचारका लागि काठमाडौं ल्याइएको छ।
बिहान पौने ३ बजेतिर जीप सडकबाट एक मिटर तल खसेको प्रहरी निरीक्षक तिमिल्सिनाले बताए। बेपत्ताहरुको खोजी जारी छ।
प्रहरी, सेना, स्थानीय र गोताखोर प्रयोग गरिएको छ। नदीमा बेपत्ता भएकाले जीवित्तै उद्धार गर्ने सम्भावना कम रहेको प्रहरीले जनाएको छ। चालक निदाएका कारण जीप दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।